साझा पार्टी र विवेकशील नेपाली पार्टी एकीकरण गरेर विवेकशील साझा पार्टी बनेको घोषणा गरेका छन् । तीन वर्षपहिलेको संसदीय निर्वाचन एउटै दलका रूपमा लडेर पछि विभाजित भएका यी दल फेरि एक हुने निधोमा पुगेका हुन् । दुवै दलले नेपालका परम्परागत राजनीतिक शक्ति र पार्टीले सुशासन दिन नसकेको र विकास गर्न असफल रहेको भन्ने मूल नाराका आधारमा आफूलाई वैकल्पिक शक्ति भन्दै आएका थिए । यी दलले मुख्यतः शिक्षा र स्वास्थ्य सेवामा सुधार र सुशासनलाई मुख्य नारा बनाएका छन् । तथा, देशसामु उपस्थित जल्दाबल्दा राजनीतिक मुद्दामा आफ्ना विचार प्रखर रूपमा राख्दै आएका छन् । परम्परागत राजनीतिक दलहरू नेकपा, नेपाली कांग्रेस र समाजवादी पार्टीको नेतृत्व भ्रष्टाचारी भएकाले त्यसको विकल्पमा उभिने दलको एकता, विभाजन र एकता आमनेपालीका लागि पक्कै पनि चासोको विषय हो ।
यो परीक्षणको घडीमा विवेकशील साझाको नीति र विवेक एउटा राजनीतिक दलका लागि मात्र होइन, वैकल्पिक शक्तिको भविष्य देख्ने ठूलो समुदायका लागि पनि अर्थपूर्ण छ
वैकल्पिक शक्तिको रूपमा उभिन खोज्ने दलले कस्तो विकल्प दिन्छन् भन्ने मूल प्रश्न हो । यही प्रश्नमा उनीहरूको आफ्नै भविष्य पनि अडिएको हुन्छ । नीति, सिद्धान्त र वादविनाको राजनीति हुँदैन, देशलाई सुशासन र जनतालाई सेवा दिनका लागि कुनै नै कुनै दृष्टिकोण चाहिन्छ । कुनै निश्चित दलको निश्चित सिद्धान्तमा सबै जनता एकाकार हुन्छन् भन्ने अवश्य होइन । तर, सिद्धान्त त्यो मियो हो, जसले सबैभन्दा पहिले सम्बन्धित दललाई नै निर्देशित गर्छ । विचारमा स्पष्ट दलले मात्र देशलाई दिशानिर्देश गर्न सक्छ, समृद्धिको ढाँचा खडा गर्न सक्छ । यतिवेला नेपाल कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी र राप्रपा एकीकरणपछि एउटै पदमा बहुनेतृत्व स्थापित गरेर हिँडिरहेका छन् । यस क्रममा नेकपामा पछिल्ला दिनमा देखिएको विवाद नेताहरूको शक्ति व्यवस्थापन गर्न नसकेर भएको भन्ने आमबुझाइ छ । खासमा देशको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सिद्धान्त र आदर्श एकातिर, व्यवहार अर्कोतिर हुँदा समस्या झेलिरहेको छ भने प्रतिपक्षी कांग्रेसले जनताका आममुद्दालाई आफ्ना मुद्दा बनाउन सकेको छैन । त्यसका लागि पनि वैकल्पिक शक्तिको आवाज अपरिहार्य भएको छ । यस्तो वेला विवेकशील साझाले शक्ति आर्जन गर्दा पुराना राजनीतिक दलभित्र पनि सुधारका लागि दबाब पुग्छ भन्ने आशा राख्न सकिन्छ ।
वैकल्पिक नेतृत्व दिने उनीहरूको सत्प्रयास प्रशंसनीय छ । अझ फुटेर होइन, जुटेर अघि बढ्ने र आवाजलाई अझ बलियो बनाउने उनीहरूको आत्मसमीक्षा पनि उदाहरणीय छ । तर, जुनसुकै धारको किन नहोस्, आफ्नो राजनीतिक सिद्धान्तलाई अझ स्पष्ट बनाएमा विवेकशील साझाजस्ता वैकल्पिक दललाई आर्थिक तथा सामाजिक क्षेत्रका वैकल्पिक कार्यसूची बनाउन अझ सहज हुनेछ । यसका लागि उनीहरूको प्रयास अझै परीक्षणको क्रममा छ । यो परीक्षणको घडीमा विवेकशील साझाको नीति र विवेक एउटा राजनीतिक दलको लागि मात्र होइन, वैकल्पिक शक्तिको भविष्य देख्ने ठूलो समुदायका लागि पनि अर्थपूर्ण छ ।