आयोगले बदनाम सरकार

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

शिक्षामन्त्रीकै अध्यक्षतामा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन दुई वर्षदेखि दराजमा थन्क्याएर सरकारले आफैँले गठन गरेको आयोगको औचित्यमाथि प्रश्न उठ्ने मौका दियो । दुई वर्षसम्म न त आयोगको प्रतिवेदन सार्वजनिक बहसका लागि खुला गरियो, न आयोगको सिफारिसअनुसार शिक्षा नीतिमा आवश्यक परिवर्तनको प्रयास नै गरियो । हालै उक्त अयोगका सदस्यमध्ये १३ जनाले प्रतिवेदन प्रकाशित गर्दै सार्वजनिक गरे । दुईवटा गैरसरकारी संस्थाको सक्रियतामा उक्त प्रतिवेदन प्रकाशन भएर सार्वजनिक गरिएपछि शिक्षा मन्त्रालयले ती दुई संस्थालाई आफ्नो नाम र सरकारको लोगो प्रयोग गरेकोमा कारबाही प्रक्रिया अघि बढाएको छ । यसले सरकार उक्त प्रतिवेदन सार्वजनिक बहसमा नजाओस् भन्ने चाहन्थ्यो भन्ने नै पुष्टि गरेको छ । 

यसरी सरकारले करोडौँ खर्चेर बनाएको आयोग र त्यसको प्रतिवेदनलाई छोप्न खोजेर आफ्नै बदनामी निम्त्याएको छ । यो नेपालमा सरकारले गठन गर्ने आयोगहरूले व्यहोर्ने नियतिको एउटा उदाहरण मात्र हो । वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी कार्यक्रमका बारेमा गठित आयोगले केही महिना पहिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझायो । तर, न आयोगको प्रतिवेदन कार्यान्वयनमा लगियो, न त यो प्रतिवेदन या त्यसले गरेको सिफारिस अनुचित थियो भनेर खारेज नै गरियो । यसरी हेर्दै जाँदा नेपालमा सरकारले गठन गर्ने आयोगहरू सरकार आफैँले जनतालाई ढाँट्न बनाउने गर्छ भन्ने बुझिन्छ । उच्चस्तरीय शिक्षा आयोग नेपालको संविधान ०७२ जारी भएपछि त्यसको परिकल्पनाअनुसार नै शिक्षा क्षेत्रमा लिनुपर्ने नीति र गर्नुपर्ने व्यवस्थाबारे अध्ययन गरी सरकारलाई परामर्श दिन गठन गरिएको थियो । 

आयोगको प्रतिवेदन लागू गर्न अस्वीकार गरेर वर्तमान सरकारले उदारीकरण र निजीकरणप्रतिको भक्तिभाव मात्र दर्साएको छैन, जनता र संविधानप्रतिको दायित्वबाट पनि विमुख भएको छ

नेकपाको सरकार बनेपछि गठित आयोगका सदस्यहरूको नाम हेर्दा यसमा नेकपाको शिक्षासम्बन्धी दृष्टिकोण पनि झल्कोस् भन्ने मनसाय रहेको देखिन्छ । तर, आयोगको प्रतिवेदन प्राप्त भएपछि प्रधानमन्त्रीले त्यसलाई स्वामित्वमा लिने र लागू गर्नेतिर कुनै ध्यान दिएनन् । यसका पछाडि आयोगका सदस्यको भनाइलाई मान्ने हो भने शिक्षा क्षेत्रमा भइरहेको निजी क्षेत्रको ठूलो लगानी र त्यसमा नेकपा नेताहरूको संलग्नतालाई कारण मान्नुपर्ने देखिन्छ । आयोगले नेपालमा अहिले शिक्षामा भइरहेको निजी क्षेत्रको लगानी अत्यधिक नाफा आर्जनका दृष्टिले गरिएको उल्लेख गरेको छ । त्यस्तो शिक्षामा आमजनताको समान पहुँचको विषय तथा सबैलाई शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने सरकारको दायित्व रहने संविधानको परिकल्पनासँग बाझिएकोतिर आयोगले औँल्याएको छ । 

यसलाई व्यवस्थापन गर्न आगामी १० वर्षभित्र निजी विद्यालयको सञ्चालन विधिमा परिवर्तन गरी नाफामूलकबाट सेवामूलक बनाउनुपर्ने सुझाब पनि दिइएको छ । कम्युनिस्ट पार्टीको सरकार भएकाले मात्र होइन, संविधानले तोकेको समाजवादमुखी बाटो लिने र सामाजिक न्याय स्थापित गर्ने उद्देश्य बोेकेका जोकसैको सरकारका लागि पनि आयोगको यो सुझाब स्वीकार्य हुनुपर्ने हो । तर, देशभर रहेका अधिकांश निजी विद्यालय नेकपा या नेपाली कांग्रेस आबद्ध व्यक्तिका छन् । तिनीहरू आफूले मात्र नाफा कमाउँदैनन्, बरु त्यस नाफाको हिस्साबाट नेताहरूलाई चन्दा दिन्छन् । उनीहरूको सिफारिसमा कसैकसैलाई विद्यालयमा जागिर लगाइदिन्छन्, जसले नेताहरूको राजनीति जोगाउन सहयोग पुग्छ । 

यी यस्ता कारण हुन्, जसले सरकार र नेकपाको नेतृत्व शिक्षामा निजी क्षेत्रको नाफामूलक लगानी र प्रवृत्ति दुवैलाई घटाउन तयार हुँदैन । एकातिर यस्तो शिक्षाले वर्गीय विभाजनको आधार विस्तार गर्दै लगेको छ भने अर्कोतिर सार्वजनिक या सामुदायिक विद्यालयको स्तर खस्कनमा यसको परोक्ष भूमिका रहने गरेको छ । आयोगको प्रतिवेदन लागू गर्न अस्वीकार गरेर वर्तमान सरकारले उदारीकरण र निजीकरणप्रतिको भक्तिभाव मात्र दर्साएको छैन, जनता र संविधानप्रतिको दायित्वबाट पनि विमुख भएको छ । सबैभन्दा बढी त आफैँले गठन गरेका आयोगहरूको सिफारिस लागू गर्न अस्वीकार गरेर सरकार आफैँ बदनाम हुँदै गएको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार