उद्योगले निकालेका मजदुर पुनर्बहालीको माग गर्दै आन्दोलनमा

आइतबार, २१ मंसिर, २०७७
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिका– २१ लिपनबिर्तामा रहेको ब्रिटानिया नेपाल प्रालिका मजदुर आन्दोलित भएका छन् । 

विगत २८ दिनदेखि उद्योगको गेटमा मजदुर नेताहरूको नेतृत्वमा धर्ना–प्रदर्शन भइरहेको छ।

उद्योग व्यवस्थापन पक्षले उद्योगका १२ जना स्थायी मजदुरलाई कामबाट गैरकानुनी किसिमले निकालेपछि उनीहरूको पुनर्बहालीका लागि मजदुर आन्दोलित बनेका हुन्। 

मजदुरलाई सांसदको समर्थन

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले गैरकानुनी रूपमा निकालिएका १२ जना मजदुरको पुनर्बहाली नभएसम्म आन्दोलन जारी रहने बताए । 

उनले भने, ‘मजदुरलाई उद्योगले गैरकानुनी रूपमा निकालेको छ । उनीहरूको माग सुनुवाइ नभएसम्म आन्दोलन चलिरहनेछ । श्रम शोषणमा परेको कुरा उठाउँदा मजदुर निकालिएका लिएका छन् ।’ 

मजदुरको हकमा बोल्ने मजदुर नेताहरूलाई तह लगाउन १२ जनालाई हटाउने रणनीतिमा उद्योग रहेको उनीहरूको ठम्याइ छ।

हडतालले उद्योगको उत्पादन, निकासी पैठारीसमेत प्रभावित भएको छ।कारखाना मानव संसाधन अधिकृत मनजुर आलमले हरेक समय उद्योगको बद्नामी गर्न मजदुरहरूले बन्द–हडताल गर्ने गरेको बताए । उनले निकालिएका मजदुरहरूको कुनै हालतमा पुनर्बहाली नगर्ने अडानमा कम्पनी रहेको बताए । उनका अनुसार उद्योगमा राजनीति गर्ने श्रम ऐन आचरणविपरीत गतिविधि गरेको भन्दै उद्योग व्यवस्थापन पक्षले उनीहरूलाई हटाएको हो ।

ब्रिटानिया नेपाल प्रालिले गुड्डे, टाइगर क्रन्च, डाइजेस्टिभ र म्यारी गोल्डलगायत बिस्कुटहरू उत्पादन गर्दै आएको छ। डेढ वर्ष पहिले एक अर्ब १३ करोडमा स्थापना भएको उद्योगमा भारतको वाडिया समूहको लगानी छ। 

सुझावित समाचार