वैदेशिक रोजगारीबाट फर्किएका, अर्धबेरोजगार र रोजगारीमा आउन चाहने नवप्रवेशीलाई रोजगारी दिन इलाममा ‘दिगो रोजगारीका लागि सीप विकास परियोजना’ कार्यान्वयन सुरु भएको छ ।
कोभिड महामारीका कारण सयौँले रोजगारी गुमाइरहेका वेला युरोपियन युनियनको लगानी, ब्रिटिस काउन्सिलको व्यवस्थापनमा दक्षता कार्यक्रमअन्तर्गतको दिगो सीप विकास परियोजना उद्योग वाणिज्य संघ इलामले कार्यान्वयनमा ल्याएको हो । १५ महिना अवधिको कार्यक्रमबाट ३ सय २० जना दक्ष कामदार उत्पादन गरिनेछ ।
होटेलका लागि आवश्यक पर्ने जनरल कुक, कन्टिनेन्टल कुक, वेटर, हाउस किपिङ, होटेल सहायक, रिसेप्सनिस्ट, क्यासियरको तालिम गराइनेछ । तालिमका लागि परियोजनाले सार्वजनिक आह्वान गर्नेछ । आवेदन पेस गरेकाहरूबाट छनोट गरेर ३ सय ९० घन्टाको आवासीय तालिम गराइनेछ ।
उनीहरूलाई परियोजनाको स्थानीय साझेदार रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युटले सिटिइभिटिई मापदण्डको तालिम गराइने परियोजनाका प्रमुख राम रिमालले बताए । ‘तालिम गराएर सीप परीक्षण गराइसकेपछि हामी बजारमा आवश्यक जनशक्तिको माग संकलन गर्छाैँ,’ रिमालले भने, ‘जहाँ जस्तो जनशक्तिको माग छ, त्यहाँ तालिम लिएका व्यक्तिहरूको सम्पर्क गराइदिन्छाैँ ।’
होटेल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेल होटेलमा काम गर्ने योग्य कामदार पाउन मुस्किल भएकाले तालिमपछि उत्पादन हुने जनशक्तिले रोजगारी पाउन कुनै मुस्किल नपर्ने बताउँछन् । ‘इलाम जिल्लामा रहेका होटेलहरूमा मात्रै २ हजार ३ सय हाराहारी कामदार छन्, तीमध्ये सयजना पनि दक्ष कामदार छैनन्,’ अध्यक्ष पौडेलले भने, ‘तालिमपछि उत्पादन भएको जनशक्तिले रोजगारीका लागि बाहिर जानुपर्ने अवस्था आउँदैन ।’
परियोजनाअन्तर्गत २० जनालाई एकैपटक तालिम गराइनेछ । विभिन्न स्थानमा गरेर एकै समयमा चारवटासम्म समूहलाई तालिम गराउने तयारी छ । परियोजनाअन्तर्गत ३ करोड २३ लाख ९७ हजार ६ सय ८५ रुपैयाँ खर्च गरिनेछ ।