बसमा नाम्चेबजार

बुधबार, १७ मंसिर, २०७७
डिजिटल संस्करण

हालसालै मात्र खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएको समाचार आएको छ । मंगलबार छापिएको समाचारको आरम्भमा एउटा आकर्षक तस्बिर छ– सङ्लो बगिरहेको दूधकोसी नदीमाथि बनेको पुल । पुलको पारिपट्टि देखिन्छन् सरकारीजस्ता लाग्ने सवारीसाधनको लामो लाइन र वरपर उभिरहेका मानिस । यो चिटिक्क परेको पुल केवल मानिस र सवारीलाई वारिपारि गर्ने पुल मात्र होइन । सबै पुलको आफ्नै महत्व र अर्थ हुन्छ, तर यो पुलले नेपालको पर्यटन क्षेत्रमा नयाँ अर्थ राख्छ । यता मात्र होइन, यसले विश्वभर आफ्नो अर्थ फैलाउने पक्का छ । यो पुलले सोलुखुुम्बु जिल्लाका सोलु र खुम्बु क्षेत्रलाई यातायात सञ्जालमा जोड्छ । खुम्बु क्षेत्र त्यही प्रसिद्ध पर्यटकीय क्षेत्र हो, जहाँबाट गइन्छ आधार शिविरहरू हुँदै विश्वकै अग्लो चुचुरो सगरमाथसम्म । 

पर्यटकीय दृष्टिले खुम्बु क्षेत्रका लागि सडक सञ्जालसँग जोडिनु कोसेढुंगा हुनेछ । नेपालको पर्यटनमा आधारित आर्थिक क्रियाकलाप विस्तारको दृष्टिले दूधकोसीको यो पुल महत्वपूर्ण र ऐतिहासिक रहनेछ ।

लुक्ला विमानस्थल अहिलेसम्म यस क्षेत्रलाई जोड्ने मुख्य बिन्दु रहेको छ । संसारकै जोखिमयुक्त विमानस्थलमध्येको एउटा मानिने लुक्ला विमानस्थल मौसमका कारण चलेन भने कैयन् दिनसम्म पर्यटक मौसम सुध्रिने क्षण पर्खिंदै बस्न बाध्य हुन्छन् । खासगरी भदौको आखिरी र असोजको दोस्रो सातासम्म त यस क्षेत्रमा जानेहरू हैरान नै पर्छन् । यातायात सञ्जाल नभएकाले हेलिकोप्टर या विमानबाट ओसारिएका खाद्यवस्तुका कारण होटेलको खाना महँगो छ । जहाज भाडा त्यस्तै । आन्तरिक पर्यटकका लागि अहिले पनि यो गन्तव्य सहज पहुँचमा आएको थिएन । विदेशी पर्यटकमध्ये पनि धेरैका लागि यो क्षेत्र आकर्षक हुँदाहुँदै पनि जटिल थियो । यो भर्खर उद्घाटित पुलसँगै खुम्बु क्षेत्रले बाह्य संसारसँग सीधा सडक सञ्जालबाट जोडिने अवसर पाएको छ । अर्थात् खुम्बु क्षेत्रको दुर्गमता अब समाप्त हुने तरखरमा छ । 

खुम्बुकै वडा नम्बर १ थामडाँडासम्म अहिले नै कच्ची सडक पुगेको छ । अब बिस्तारै यसले नाम्चेबजार हुँदै पहिलो शिविरसम्म तन्किने यात्रा तय गर्नेछ । वास्तवमा यो त्यहाँका बासिन्दाका साथै नेपाली तथा विदेशी, जोकोही पनि त्यस भेगको यात्रामा जान चाहनेका लागि खुसीको कुरा हो । साथै नेपालका पहाडी तथा हिमाली क्षेत्रहरू अब सधैँ विकट रहेनन् भन्ने महत्वपूर्ण सन्देश पनि हो यो । तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सगरमाथाको चुुचुरोमा पाइला टेकेपछि नै खुम्बु क्षेत्र संसारका आरोहीका लागि र प्रकृतिप्रेमीका लागि आकर्षणको थलो बनेको हो । उक्त घटनाको झन्डै ७० वर्षपछि आएर मात्रै यस क्षेत्रले आन्तरिक र बाह्य पर्यटकलाई सहज पहुँचको मार्ग बनाउन थालेको छ । यहाँ सडक सञ्जाल सहज बन्नेबित्तिकै अब कुनै पनि क्षेत्र र भूगोलका पर्यटक नाम्चेबजारसम्म सहजै पुग्न सक्नेछन् । 

यसै एकराते रमाइलोका लागि निस्किनेले सहजै खुम्बु क्षेत्रलाई गन्तव्य बनाउन थाल्नेछन् । विदेशी पर्यटकको थप लर्को एकपटक यस क्षेत्रसम्म पुगेर नजिकबाट सगरमाथा हेर्ने धोको पुर्याउन लालायित हुनेछन् । पर्यटकीय दृष्टिले खुम्बु क्षेत्रका लागि सडक सञ्जालसँग जोडिनु कोसेढुंगा हुनेछ । नेपालको पर्यटनमा आधारित आर्थिक क्रियाकलाप विस्तारको दृष्टिले दूधकोसीको यो पुल महत्वपूर्ण र ऐतिहासिक रहनेछ । चीनले सगरमाथाको आधार शिविरसम्म नै मोटरबाटो पुर्याएर त्यसबाट फाइदा लिन थालेको वर्षौं बितिसकेको छ । नेपालले पनि कमसेकम नाम्चेसम्मको सडकचाहिँ तत्काल बनाएर बाह्रै महिना त्यता जान सकिने गरी स्तरोन्नति गर्यो भने उक्त क्षेत्रका साथै देशले आर्थिक लाभ हासिल गर्नेछ ।

याे पनि पढ्नुहाेस् : सडक सञ्जालमा जोडियो खुम्बु क्षेत्र

सम्पादकको रोजाइ

सुझावित समाचार