काठमाडौं र रामग्रामबीच भगिनी सम्बन्ध स्थापना

आइतबार, १४ मंसिर, २०७७
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका र नवलपरासीको रामग्राम नगरपालिकाले भगिनी सम्बन्ध गाँसेका छन् । 

देशकै ठूलो र धनी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहितको टोलीले नवलपरासी पुगेर रामग्रामसँग भगिनी सम्बन्ध कायम गरेको हो ।

अब दुई स्थानीय तहले एक–आपसमा समन्वय, सहकार्य र साझेदारीमार्फत सहयोग र अनुभव आदानप्रदान गर्ने जनाएका छन् । 

रामग्राम भगवान् गौतम बुद्धको अस्थिधातु रहेको प्राचीन नगर हो भने काठमाडौं संघीय राजधानीसमेत रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वले चर्चित महानगर हो । भगिनी सम्बन्ध कायम गर्न शनिबार काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र रामग्रामका मेयर नरेन्द्रकुमार गुप्ताले सहमतिपत्रमा हस्ताक्षर गरे । 

मेयरहरूले मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्बन्ध स्थापना गर्ने, संस्थागत प्रणालीलाई अझ सुदृढ र सबल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने प्रतिबद्धता व्यक्त गरे । 

सो अवसरमा काठमाडौंका मेयर शाक्यले रामग्रामको धार्मिक तथा पर्यटकीय विकास गर्न ‘कोलीय शान्ति उद्यान’ निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । 

मेयर शाक्यले बौद्ध दर्शनका दृष्टिले काठमाडौं र रामग्रामबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको बताए । 

उनले यो सम्बन्ध स्थापनापछि दुई नगरबीच सांगठनिक स्वरूप, संस्थागत संरचना र शासकीय भूमिकालाई सबल, सुदृढ र प्रभावकारी बनाउन एक–आपसका अनुभव, कार्यशैली, असल अभ्यास र महत्वपूर्ण उपलब्धिहरू आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

‘मूर्त तथा अमूर्त संस्कृति, सम्पदा र पर्यटनलाई स्थानीय सरकारको समृद्धिको आधार मान्दै दुई नगर क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रको संरक्षण, प्रवर्द्धन, विकास र प्रचारप्रसारमा सहकार्य गर्नेछौँ,’ शाक्यले भने, ‘प्रकृति र पर्यावरणको समुचित सन्तुलनविना मानव समाजको अस्तित्व नै संकटमा पर्न सक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य, ठोस योजना तथा नतिजामुखी क्रियाकलाप सञ्चालन गर्न साझेदारी गर्नेछौँ ।’ 

उनले शिक्षा, स्वास्थ्य, सहकारी तथा स्थानीय रोजगारीका क्षेत्रहरूमा हासिल गरेका उपलब्धि, सफल तथा असल अभ्यासहरूबारे एक–आपसमा अनुभव साटासाट गर्ने तथा सहकार्यमा नवीन सोच, योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने–गराउने कुरामा पनि थप टेवा पुग्ने विश्वास लिएको बताए ।

महानगरपालिकाले यसअघि विदेशी सहरहरूसँग मात्रै भगिनी स्थापना गर्दै आएको थियो । काठमाडौंले नेपालभित्रै भगिनी सम्बन्ध गाँसेको रामग्राम दोस्राे नगर हो । जुम्लाको चन्दननाथ नगरपालिकासँग यसअघि भगिनी सम्बन्ध कायम भएको छ । 

महानगरपालिकाले अहिलेसम्म अमेरिका, चीन, भारत, दक्षिण कोरियालगायत विश्वका विभिन्न १७ वटा नगरसँग भगिनी सम्बन्ध कायम गरेको मेयर शाक्यले जानकारी दिए । 

रामग्रामका मेयर गुप्ताले विदेशी सहरभन्दा आफ्नै देशका सहरसँगको सम्बन्ध स्थापनाले नगरको विकासमा लाभ हुने विश्वास व्यक्त गरे । 

काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले दुई नगरबीच धार्मिक र सांस्कृतिक सम्बन्ध दिगो हुने अपेक्षा गरिन् । 

रामग्रामकी उपप्रमुख रम्भा कुँवरले दुई नगरबीचको आत्मीय सम्बन्धबाट नगरको समृद्धिमा सहयोग पुग्ने अपेक्षा रहेको बताइन् । 

रामग्रामका मेयर गुप्ताका अनुसार पण्डितपुरको उत्खनन गर्दा बुद्धकालीन भाँडाकुँडा, लोहोटालगायत घरायसी सामग्री भेटिएको र ती सामग्री लुम्बिनीको संग्रहालयमा लगिएको छ । 

त्यसैगरी रामग्राम स्तुपमा रहेको बुद्धको अस्तु अहिलेसम्म ननिकालिएको अस्तु हो । ‘गौतमबुद्धको मृत्युपछि अस्तुलाई आठ भागमा बाँडेर विभिन्न क्षेत्रमा राखिएको थियो । तीमध्ये सात ठाउँका अस्तु निकालेर अन्यत्र बाँडिएका छन् । तर, रामग्रामको अस्तु अहिलेसम्म निकालिएको छैन,’ उपमेयर कुँवरले भनिन् । किंवदन्तीअनुसार अशोक सम्राट्ले अस्तु निकालेर अन्यत्र बाँड्न खोजेका थिए । 

तर, नाग र सेतो हात्तीले घेरेर राखेको देखेपछि उनले अस्तु निकाल्ने सोच त्यागिदिए । त्यसपछि अरू कसैले आँट नै गरेनन् ।

सुझावित समाचार