पोखरी सिँगार्ने नाममा प्रदेश र स्थानीय सरकारले छाप्रोमुनि बसिरहेका सर्लाहीका १३ दलित परिवारको पक्की घर बनाइदिने आफ्नै निर्णय उल्ट्याएका छन् । जसका कारण पक्की घरको छहारी पाउने आसमा फुसको छाप्रो भत्काएका दलित परिवारको मंसिरको चिसोमा खुला आकाशमुनिको वास भएको छ ।
प्रदेश सरकारले सुखीपुर नगरपालिका– २ स्थित छज्ना पोखरीको उत्तरी किनारामा वर्षौँदेखि बस्दै आएका १३ दलित परिवारको जनता आवास कार्यक्रमअन्तर्गत पक्की घर बनाउने निर्णय गरेको थियो । कार्यक्रम सञ्चालनका लागि गठित जिल्लास्तरीय समन्वय समितिले गत वैशाखमा उनीहरूलाई लाभग्राहीको सूचीमा पारेको थियो । त्यसका आधारमा ३२ जेठमा सुखीपुर– २ को वडा कार्यालयले पनि घर बनाउन सिफारिस गरेको थियो ।
सबै प्रक्रिया पूरा भएपछि पक्की घर बनाउन दलितहरूले बस्दै आएको फुसको छाप्रो भत्काए । घर निर्माणको काम सुरु पनि हुँदै थियो । तर, यहीबीचमा केही गैरदलितले विरोध जनाएपछि राजनीतिक दलका स्थानीय नेता र वडा कार्यालयले पोखरी सौन्दर्यीकरण गर्ने नाममा घर निर्माण रोक्ने निर्णय गर्दै नगरपालिकालाई सिफारिस ग¥यो । त्यसकै आधारमा नगरपालिकाले पनि घर निर्माण रोक्न २१ कात्तिकमा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत रहेको सहरी विकास तथा भवन कार्यालय राजविराजलाई पत्राचार ग¥यो ।

सहरी विकास कार्यालयले २३ कात्तिकमा स्थानीय निर्माण समितिलाई पत्र पठाएर निर्माण रोक्न निर्देशन दिएको छ । ‘वडा कार्यालयको सिफारिससँगै स्थानीय गाउँलेको सहयोगमा घर निर्माण सुरु गरेका थियौँ । काम चलिरहेको थियो,’ निर्माण समितिका संयोजक प्रमोद मल्लिकले भने, ‘अहिले आएर काम रोक्न लगायो । यो महिनाभित्र नयाँ घर बन्ला भन्ने थियो । काम रोकिएपछि यो हिउँदमा पीडित परिवारको बिचल्ली हुने भयो ।’
केही गैरदलितको उक्साहटमा लागेर सरकारले आफूहरूको बिचल्ली बनाएको पीडितको गुनासो छ । ‘सबैलाई थाहा छ, हामी पाँच पुस्तादेखि यहीँ बस्दै आएका छौँ । जनता आवासका लागि छनोट भएपछि वडा कार्यालयले पनि पुस्तौँदेखि बस्दै आएको भनेर जेठमा सिफारिस दियो,’ स्थानीय शिवदयाल मल्लिकले भने, ‘घर बनाउन सुरु गरेपछि केही गैरदलित व्यक्तिको उक्साहटमा लागेर त्यही वडा कार्यालयले पोखरी सौन्दर्यीकरण गर्ने भन्दै रोक्का गर्न सिफारिस ग¥यो । नगरपालिका र प्रदेश सरकारले पनि उनीहरूकै कुरा सुनेर यो जाडोमा हाम्रो बिचल्ली बनाए ।’
सरकारले पक्की घर बनाइदिने भएपछि दलित परिवार निकै खुसी भएका थिए । तर, नयाँ घर दिने भनेको सरकारले पुरानो छाप्रोसमेत भत्काएर खुला आकाशमुनि ल्याएको छ । स्थानीय विनोद मल्लिकले वृद्ध आमाबुबा र ६ केटाकेटीलाई चिसोमा कहाँ बसाल्ने भन्ने पिरोलोले सताएको बताए । ‘यो हिउँदमा पक्की घर पाइएला भनेर घर भत्काइयो, तर केही गाउँलेले बखेडा झिके,’ उनले भने, ‘पुरोना घर पनि रहेन, नयाँ बनाउन पनि दिएनन् । पुरानै झुपडी भए पनि चिसोमा जसोतसो ओत लाग्ने ठाउँ त हुन्थ्यो, अहिले त्यो पनि रहेन ।’
घुरन मल्लिक पनि त्यस्तै चिन्तामा छन् । पाँच छोराछोरीसहित सातजनाको परिवार चिसोमा कहाँ बस्ने यकिन नभएको दुःखेसो उनले सुनाए । ‘पक्की घरको आसमा भएको झुपडी पनि भत्कियो, यो चिसोमा कठ्यांग्रिएर मरिने हो कि भन्ने डर लागेको छ,’ उनले भने । आफूहरूमाथि ठूलो अन्याय भएको उनले बताए । ‘भएको घर भत्काउन लगाए, अहिले बनाउन दिएनन्,’ घुरनले भने, ‘यो त हामीमाथि ठूलो ज्यादती भएन र ? हामीलाई लखेट्ने षड्यन्त्र गरिएको छ ।’

स्थानीय बासिन्दाका अनुसार यो छज्ना पोखरी सर्लाहीका जमिनदारले हकभोग गर्दै आएका थिए । त्यसलाई ०२४ को नापीमा सरकारी कायम गरिएको स्थानीय रामसरोवर यादवले बताए । पोखरीको उत्तरतिरको डिलको पाँच कट्ठा जमिनमा त्योभन्दा अघिदेखि नै दलित परिवार बस्दै आएका थिए । ‘पोखरीको उत्तरपट्टिको डिलमा पाँच पुस्ताभन्दा अघिको दलित बस्ती हो । उनीहरूको नाममा नापी गरिएन, तर भोगचलन वर्षौँदेखि उनीहरूले नै गर्दै आएका छन्,’ यादवले भने, ‘अहिले उनीहरूको पक्की घर बनाउन रोक लगाएको सुन्दा अचम्ममा परेका छौँ ।’ जेठमा निर्माण समिति बनाउँदा सबैको सहमति रहेको र वडा कार्यालयले सिफारिस दिएको, तर अहिले केही व्यक्तिले बखेडा झिक्दा निर्माण रोकिएको उनको भनाइ छ ।
आवास कार्यक्रमका साइट इन्जिनियर श्रीदेव साहले स्थानीय सरकारले रोक्न पत्राचार गरेपछि निर्माण कार्य रोक्का गरिएको बताए । निर्माण सुरु गरेपछि मात्रै जग्गाको विवाद झिकिएको उनले बताए । सुखीपुर नगरपालिकाका मेयर रामअवतार यादवले वडा कार्यालय, स्थानीय राजनीतिक दलहरूले पटकपटक लिखित र मौखिक ताकेता गरेपछि नगर कार्यपालिकाको बैठकमार्फत पोखरीको डिल सफाइ गर्ने निर्णय गरिएको बताए । पोखरीको सौन्दर्यीकरणका लागि पोखरीको अन्य डिलमा रहेका घरटहरा ३५ दिनभित्र हटाउने र उत्तरी डिलमा रहेको दलित बस्तीमा नयाँ निर्माण कार्य रोक्न सहरी विकास तथा भवन कार्यालय राजविराजलाई सिफारिस गरिएको उनको भनाइ छ । ‘वडाअन्तर्गत रहेको पोखरीको सौन्दर्यीकरणका लागि प्रदेश सरकारबाट बजेट आउँदा त फाइदा नै हुन्छ नि,’ मेयर साहले भने, ‘स्थानीय बासिन्दा, वडा कार्यालय, राजनीतिक दलले पनि वडाकै बृहत्तर हितका लागि सोचेका होलान् ।’ अन्यत्र जग्गा खोजेर दलित बस्तीको व्यवस्थापन गरिने उनको भनाइ छ । तर, यसका लागि स्थानीय सरकारले कुनै तयारी भने गरेको छैन ।



उधारोमा ल्याएका निर्माण सामग्री नोक्सान हुने चिन्ता
बस्ती निर्माण समितिका संयोजक प्रमोद मल्लिक उधारोमा ल्याएको निर्माण सामग्री नोक्सान हुने चिन्तामा छन् । ‘अहिले १५ प्रतिशत काम भएको छ । इँटा, रड, सिमेन्ट सबै उधारोमा ल्याएका छौँ,’ उनले भने, ‘विपन्न दलितको बोलिदिने कोही भएन । अहिले विभिन्न निहँु झिकेर अर्घेल्याइँ गर्दा समस्यामा परेका छौँ ।’
यसका लागि आफूलाई जनता आवास कार्यक्रमले पेस्की पनि नदिएको प्रमोदले बताए । अहिलेसम्म चार लाख ६१ हजार ६ सय रुपैयाँ खर्च भएको उनले बताए । ‘१३ हजार थान इँटा, ६४ बोरा सिमेन्ट, तीन बन्डल रडको मात्र दुई लाख ७१ हजार रुपैयाँ उधारो छ,’ प्रमोदले भने, ‘निर्माण रोक्का भएपछि उनीहरूले पनि पैसाका लागि ताकेता गर्न थालेका छन् ।’