इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा सातजना सुरक्षाकर्मी मारिएका छन् । आक्रमण आइएसले गरेको अनुमान गरिएको छ ।
शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त गस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकुलाई कारबाही गरेको थियो । सो कारबाहीमा परी ती समूहका केही लडाकु मारिएका थिए ।
त्यसपछि यो आक्रमण भएको बताइएको छ । आक्रमणमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ । इराकको उक्त प्रान्त राजधानी बग्दादबाट करिब दुई सय किलोमिटर टाढा पर्छ । उक्त स्थानमा पछिल्ला केही दिनयता आइएसले आक्रमण थालेको छ ।
त्यसैले इराकको सुरक्षा फौजले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षा गस्ती दिने गरेको छ । गस्तीपछि आइएसले पनि सुरक्षाकर्मी र सर्वसाधारणलाई लक्षित गरेर हमला गर्ने गरेको छ । शनिबार हत्या गरिएका सात सुरक्षाकर्मी इराकका प्रहरी रहेको बताइएको छ ।