मुक्तिनाथ विकास बैंकले पायो युरोपियन अवार्ड

आइतबार, ७ मंसिर, २०७७
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० बाट सम्मानित भएको छ । बैंक लक्जमबर्गमा आयोजित कायक्रममा सम्मानित भएको हो । बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरिरहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरूको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनका कारण सम्मानित भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी प्रथम पुरस्कारबाट पुरस्कृत गर्न मुक्तिनाथ विकास बैंकलाई छनोट गरेको बैंकले जनाएको छ ।  

उक्त अवार्डका लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिताका लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र इथोपियाका १–१ लघुवित्त संस्थाहरू छनोट भएको जनाइएको छ ।

पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले १ लाख युरो प्राप्त गरेको बैंकले जनाएको छ । पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरूलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्यहरू गरिने जनाइएको छ ।  

४२ जिल्लामा १ सय ३८ वटा शाखा रहेकामा १ सय १८ शाखामार्फत बैंकले साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । साना तथा लघु बैंकिङअन्तर्गत १ लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यहरूले प्रत्यक्ष सेवा लिइरहेको बैंकको दाबी छ । 

सुझावित समाचार