नेपाल-भारत सीमानाका खोल्न माग

सोमबार, १ मंसिर, २०७७
डिजिटल संस्करण

नेपाल–भारत सीमानाका खोल्न सर्लाहीवासीले माग गरेका छन् । 

कोरोना संक्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारत सो नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाले आफूहरू समस्यामा परेको भन्दै नाका नखोलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
 
आज जिल्ला समन्वय समिति सर्लाहीमा बसेको सर्वपक्षीय बैठकले भोलिदेखि आन्दोलन गरिने निर्णय गरेको जनाइएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलंगवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मंसिर २ र ३ गते ११ बजेदेखि १ बजेसम्म धर्नामा बस्ने निर्णय गरेको छ ।  

सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधि, संघीय सभा, प्रदेश सभाका सदस्य, पालिका प्रमुखलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । 

धर्नापश्चात् पनि सीमानाकाहरू खुला नगरिए आन्दोलनका थप कार्यक्रम सञ्चालन गर्ने प्रमुख चौधरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

सीमानाका मंसिर १ गतेदेखि खुल्ने आसमा रहेका जनता कात्तिक ३० मा सरकारले थप एक महिना बन्द गर्ने निर्णय गरेपछि आक्रोशित बनेका हुन् ।  

सुझावित समाचार