स्थानीय तहका प्रशासकीय अधिकृतलाई १८बुँदे प्रतिबद्धतामा हस्ताक्षर गराउँदै संघीय मन्त्रालय

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप जिम्मेवार बनाउन १८बुँदे प्रतिबद्धतामा हस्ताक्षर गराउने भएको छ । कतिपयले मन्त्रालयको निर्देशनसमेत नमान्ने र आफ्नो जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति देखिएपछि मन्त्रालयले यस्तो योजना बनाएको हो । 

समयमा बजेटसमेत नल्याउने, मन्त्रालयले पटकपटक ताकेता गर्दासमेत विवरण उपलब्ध नगराउने र पदीय दायित्वबाट पन्छिने समस्या देखिएपछि मन्त्रालयले कडाइ गर्न लागेको हो । स्थानीय तहलाई थप बलियो र जिम्मेवार बनाउन १८बुँदे प्रतिबद्धतामा हस्ताक्षर गराउन लागिएको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । 

तिहारलगत्तै मन्त्रालयले प्रतिबद्धतामा हस्ताक्षर गराउन लागेको छ । सरुवा भएर जानेका साथै अहिले कार्यरतहरूलाई समेत यो कार्यान्वायन हुनेछ । 

प्रतिबद्धताको पहिलो बुँदामा विकास एवं सेवा प्रवाहसम्बन्धी प्रतिवेदन पेस गर्ने उल्लेख छ । यस्ता प्रतिवेदन नै नपठाउने समस्या धेरै स्थानीय तहमा देखिएको छ । 

वित्तीय अनुशासन कायम राख्ने, खटिएको स्थानमा कम्तीमा एक वर्ष बस्ने, राजनीतिप्रति तटस्थ र सेवाप्रति प्रतिबद्ध रहनेजस्ता विषयहरू छन् । 

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत संघबाट खटिने गर्दछन् । स्थानीय तहको सेवा प्रवाहलाई बलियो बनाई स्थानीय तह र संघबीचको सहकार्य र समन्वय थप बलियो बनाउन प्रतिबद्धतामा हस्ताक्षर गराउन लागिएको मन्त्रालय प्रवक्ता वसन्त अधिकारी बताउँछन् ।

सुझावित समाचार