अमेरिकाद्वारा एक सय थान भेन्टिलेटर हस्तान्तरण

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आज एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत ऱ्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका छन् ।

मन्त्री ढकालले भेन्टिलेटर हस्तान्तरणका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिए ।

ढकालले ‘कोरोनाबाट सबैभन्दा प्रभावति भएको अमेरिकाले नै महामारीको लडाइँमा नेपाललाई भेन्टिलेटर सहयोग गरेकोमा नेपाल खुसी रहेको पनि बताए ।

ढकालका अनुसार नेपालमा करिब एक हजार भेन्टिलेटर रहेकोमा अमेरिकाले एकैपटक त्यसको करिब १० प्रतिशत थपिदिएको हो ।

ढकालले अमेरिकाले दिएको भेन्टिलेटर सात प्रदेशका सामाजिक विकास मन्त्रालयहरूका लागि सात–सातवटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालमा दुई–दुईवटाको दरले वितरण गरिएको पनि जानकारी दिए ।

मन्त्री ढकालले कोरोनाविरुद्धको लडाइँमा अमेरिकाको अनुभव नेपालका लागि पनि महत्वपूर्ण हुनेसमेत उल्लेख गरे ।

कोभिड– १९ को खोप अमेरिकाका जनता र नेपाली जनताले सँगसँगै पाउनेसमेत अपेक्षा गरे । अमेरिकी राजदूत बेरीले असल र खराब दुवै समयमा अमेरिका नेपालसँग साझेदारीप्रति प्रतिबद्ध रहेको बताए ।

‘यी भेन्टिलेटरमार्फत हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छौँ जसले गर्दा कोभिड– १९ बाट अति प्रभावित आफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकून्,’ बेरीले भने ।

उनले नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र अमेरिका विधि उपलब्ध गराउने कार्यमा संयुक्त राज्य अमेरिका प्रतिबद्ध रहेकोसमेत उल्लेख गरे ।

सुझावित समाचार