भारत सरकारको दुई करोड ६२ लाख रुपैयाँ आर्थिक सहयोगमा धनुषा जिल्लाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयको भवन निर्माण भएको छ ।
सोमबार उक्त भवनको भारतीय राजदूतावास, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय परियोजना कार्यान्वयन इकाइ, धनुषा जनकपुरधाम तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूबाट संयुक्त रूपमा उद्घाटन भएको छ ।
भारतीय दूतावासका अनुसार याे सहयाेग ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भएकाे हाे ।
तीनतले विद्यालय भवनमा १५ वटा कक्षाकोठा र सरसफाइ सुविधा छ । नेपाल र भारत सरकारबीच भएको सम्झौताअन्तर्गत भारतीय सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना विकास भएको भारतीय दूतावासले जनाएको छ ।
भारतले हालसम्म नेपालमा चार सय २४ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सम्पन्न गरिसकेको छ । धनुषामा १० समेत गरी भारतीय सहयोगमा प्रदेश २ मा ४५ वटा परियोजना सम्पन्न भएका छन् ।
धनुषा जिल्लामा नाैवटा समेत गरी प्रदेश २ मा भारत सरकारको अनुदानमा २१ परियोजना सञ्चालित छन्।
धनुषाको तुलसियाहीमा वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालय भवन निर्माणका लागि गत ३ चैतमा सम्झौता भएको छ ।
यसका लागि नेपाल सरकारले मुखियापट्टी मुसरनिया गाउँपालिकालाई कार्यान्वयन निकायको रूपमा नियुक्त गरेको छ । भवन निर्माणको टेन्डर प्रक्रिया पूरा गर्न बाँकी रहेको भारतीय दूतावासले जनाएको छ ।
‘नयाँ विद्यालय भवनले विद्यार्थीहरूको सिकाइ वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ । र, यो नेपाल र भारतबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुऱ्याएकाे छ,’ भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले भनेका छन् ।