नेपाल उद्योग परिसंघका पदाधिकारी र बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीबीच आज परिसंघको कार्यालयमा छलफल भएको छ । भेटको अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोर, वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले राजदूत भण्डारीसँग छलफल गरेका हुन् ।
छलफलमा अध्यक्ष मोरले परिसंघले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी पर्वद्धन गर्नुपर्ने आजको आवश्यकता रहेको बताए ।
वैदेशिक लगानी भित्र्याउनका लागि प्रक्रियागत झन्झट र कानुनी अवरोधहरूलाई सहज बनाउनका लागि परिसंघले पहल गरिरहेको उनको भनाइ थियो । अध्यक्ष मोरले स्वदेशी पुँजीलाई परिचालन गरी रोजगारीको सिर्जना गर्न र उद्योगहरूको क्षमता अभिवृद्धि गरी औद्योगीकरणमार्फत देशको अर्थतन्त्रलाई मजबुत बनाउन परिसंघ सधैँ क्रियाशील रहेको बताए ।
नेपाल र बेल्जियमबीच सुसम्बन्ध रहँदै आएको बताउँदै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाई नेपाली कार्पेट र हस्तकलाका वस्तुहरूको निर्यात व्यापारलाई प्रवद्र्धन गर्न पहल गर्नका लागि उनले राजदूत राजभण्डारीलाई आग्रह गरेको जनाइएको छ । बेल्जियम र युरोपियन युनियनमा आबद्ध राष्ट्रहरूमा नेपालको धार्मिक, सांस्कृतिक र पर्यटनको गन्तव्य स्थललाई उजागर गर्ने प्रकारका कार्यक्रम र प्रचारात्मक सामग्रीहरूको माध्यमबाट नेपालमा पर्यटन व्यवसाय प्रवद्र्धनका लागि पहल गर्नसमेत अध्यक्ष मोरले जोड दिएको परिसंघले जनाएको छ ।
परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले अन्य मुलुकमा जस्तै बेल्जियम र युरोपियन युनियनमा आबद्ध देशहरूमा पनि पर्यटन प्रवद्र्धन, हस्तकलाका सामग्रीहरूको प्रदर्शनी र ऊनी गलैँचाहरूको निर्यातलाई पर्वद्धन गर्न सके राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्न सक्ने बताएका थिए ।
राजदूत राजभण्डारीले लगानी विस्तार र आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रको सधैँ सहकार्य हुनुपर्ने बताए । वैदेशिक लगानी विस्तारमा आफूले पहल गर्ने उनको भनाइ थियो । सम्भाव्यता बोकेका नेपाली उत्पादनहरूको निर्यात प्रवद्र्धनलगायत नेपाल वायुसेवा निगमको उडानलाई सहज बनाउनका लागि आफूले सकेको पहल गर्ने राजभण्डारीले प्रतिबद्धता जनाएको परिसंघले उल्लेख गरेको छ ।