प्रचण्डलाई चिठी

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

प्रिय पुष्पकमल दाहाल ‘प्रचण्ड’,
तपाईंलाई आश्चर्य लाग्ला कि मैले प्रिय शब्दले सम्बोधन गरी प्रेमपूर्ण अभिवादन गरेँ । म तपाईंलाई अत्यन्तै अनौपचारिक पत्र लेख्दै छु । यो पत्र लेख्दै गर्दा तपाईंप्रति मेरो मनमा कुनै कलुषित भावना छैन । औपचारिकतामा धेरै आडम्बर हुन्छ । अनौपचारिक हुँदा पानीजस्तो बग्न पाइन्छ । अनुहार, बोली, व्यवहारबाट नै तपाईं मायालु देखिनुहुन्छ ।

तपाईंको दशवर्षे कालखण्डको विगत बिर्सिने हो भने तपाईंलाई  मन नपर्ने केही कारण छैन । बोली मिठो छ । आडम्बरी देखिनुहुन्न, घमण्ड पनि देखिँदैन । आर्थिक पक्ष अलि अँध्यारो भएको यदाकदा चर्चा सुनिन्छ । सुशील कोइरालालाई छाडेर ०६४ सालपछिका कुन प्रधानमन्त्रीको आर्थिक पक्ष सफा छ र तपाईंलाई अर्घेलो देख्नु ? अहिलेको अवस्थामा नेपालको प्रधानमन्त्री हुनु आफू र आफ्नो समूहलाई समृद्ध बनाउनु मात्र न हो । 

०७४ को निर्वाचनमा तपाईंले एमालेसँग गठबन्धन गर्नुभयो । तत्काल सत्ता प्राप्तिका लागि त्यो तपाईंको उपयुक्त निर्णय थियो । गठबन्धन नगरेको भए तपाईंको पार्टी ०७० को निर्वाचनभन्दा पनि कमजोर बन्ने थियो । कम्युनिस्ट एकता हेर्ने चाहना राखेका नेपालीको आकांक्षा पनि पूरा भयो । त्यसपछि त पार्टी एकता नै गर्नुभयो । यो पनि तपाईंहरूले प्राप्त गरेको बहुमतको सम्मानै थियो । एकता नगरी गठबन्धनमा मात्र रहेको भए सरकार सधैँ त्रासमा रहने थियो । एकता गर्नाले नेकपाको सरकार पाँच वर्ष रहने निश्चित बन्यो । यसलाई नेपालको राजनीतिको सकारात्मक पाटो मान्नुपर्छ । करिब २४ वर्ष सर्वेसर्वा भएको व्यक्ति प्रधानमन्त्री पद त्यागेर दोस्रो दर्जाको अध्यक्षमा बस्ने उदारता देखाउनु लरतरो कुरा थिएन ।

अचेल नेकपामा ठिकठाक छैन । सुनियो प्रधानमन्त्रीले तपाईंसँग छुट्टिऔँ पनि भने रे ! यो मेरो अधीनता स्वीकार गर नत्र अलग भएर बस भन्ने सन्देश होला । तपाईं पनि उकुुसमुकुसमा हुनुहुन्छ होला । ०७५ जेठ ३ गतेको निर्णयमा सायद पश्चाताप भएको होला । शक्ति आर्जन गर्ने सोचले एकता गर्नुभएको तपाईं झन्–झन् कमजोर बन्दै हुनुहुन्छ । केही समयअघि सानो झल्को देखियो ।

तपाईंको पुरानो पार्टीका सुदूरपश्चिमका हस्ती भुट्दाभुट्दैको भटमास उफ्रिएझैँ तपाईंको हाँडीबाट उफ्रिएर ओलीको हाँडीमा खसे । मध्यक्षेत्रका खम्बा वर्षाको बादलजस्तै मेघको चालअनुसार कहिले बालुवाटारमाथि त कहिले खुमलटारमाथि देखिन्छन् । लुम्बिनी प्रदेश कमान्डर दुइटा डुंगामा दुई खुट्टा राखेर बसेका छन् । जुन डुंगा सुरक्षित देख्छन्, त्यसैमा बग्ने होलान् । यस्तै अरू पनि भित्रभित्र प्वाल पार्ने मुसा होलान् । एमालेतर्फका कोही नेता तपाईंसँग निकट भएनन् । माधव नेपालले साथ दिएजस्तो देखिन्छ, तर ती पनि अधिवेशन सुरु नहुँदासम्म मात्र हो । वामदेव, झलनाथको के गणना गर्नु । नेकपामा तपाईं झन्–झन् एक्लिँदो हुनुहुन्छ ।

तपाईंले एकता गर्दा अति उत्साहित भएर गर्नुभयो कि कुनै दबाबमा गर्नुभयो, मेरा लागि केवल अनुमानको कुरा हो । उत्साहित भएर एकता गर्नुभएको भए धेरै कुरामा तपाईंको विश्लेषण गलत थियो । एमालेलाई तपाईंले न्यून मूल्यांकन गर्नुभयो । माओवादी र एमाले दुवै कम्युनिस्ट पार्टी भए पनि दुवैमा ठूलो सांगठनिक र चारित्रिक भिन्नता थियो ।

तपाईंहरु फुट्दा कांग्रेसलाई आगामी निर्वाचनमा वाकओभर मिलेजस्तो हुनेछ । यसले पनि कांग्रेसलाई कर्मशील नबनाई फुटको फाइदा लिने पार्टी मात्र बनाउनेछ ।

एमाले बलियो संगठन भएको पार्टी, माथिदेखि तलसम्म पिरामिड शैलीको चुस्त–दुरुस्त छ । आफ्ना सदस्यलाई अनेक हतकण्डा अपनाएर अनुशासनमा राखेको छ । माओवादी संगठनात्मक रूपमा कमजोर थियो, माओवादीको शक्ति भनेकै जनसेना थियो । जनसेना भंग भएपछि यो विष निकालेको सर्पजस्तो मात्र रह्यो । वैद्य, बाबुराम, विप्लवहरू निस्किएपछि नेतृत्व पंक्ति नै कमजोर बन्यो ।

कमजोर संगठन लिएर बलियोसँग मिसिन गएपछि बिलिन हुने सम्भावना अधिक हुन्छ । एमाले रकमीहरूको पार्टी रह्यो । ०३६ सालपछि घोषित रूपमै पञ्चायत प्रवेश गरेपछि पञ्च र पञ्चायतका जालझेलबाट प्रशिक्षित भयो । कुन समयमा कहाँ कोसँग कस्तो भाषा प्रयोग गर्नुपर्छ, त्यसमा एमालेका नेता कार्यकर्ता खप्पिस छन् ।

जबकि माओवादी हाटहुट डाङडुङवाला पार्टी, कुरो मिल्यो ठीक नमिले ठोक्यो हिँड्यो । ठोक्ने शक्ति क्षीण भएपछि हल्ला मात्र बाँकी रह्यो । तपाईंले पहिला वैद्य र बाबुरामलाई खेलाएजस्तै ओली र माधवलाई खेलाउँछु भनेर सोच्नुभएको थियो होला । कहाँ टाँगाका घोडाजस्ता वैद्य र बाबुराम, कहाँ रावणका जस्तै २० आँखा भएका ओली र नेपाल । गलत मूल्यांकनले तयारी नगरी रकमीहरूको समूहभित्र छिर्दा तपाईंको अवस्था अहिले कुरुक्षेत्रका अभिमन्युको जस्तो बनेको छ । 

निर्वाचनमा गठबन्धन तपाईंको आवश्यकता थियो । पार्टी एकता मतदाताको सम्मानका लागि वा कार्यकर्ताको कम्युनिस्ट पार्टी एक बनोस् भन्ने तत्कालीन आकांक्षा पूरा गर्न वा कुनै अदृश्य दबाबको कारण के प्रयोजन वा परिबन्दले गर्नुभयो त्यो मलाई थाहा छैन । एक प्रजातन्त्रवादीको नाताले मैले तत्काल नै यो नेपालको प्रजातन्त्रका लागि र नेपाली कांग्रेसका लागि राम्रो भनी प्रतिक्रिया व्यक्त गरेको थिएँ ।

तपाईंहरूको एकताले कम्युनिस्टको कम्युनिस्टसँगकै प्रतिस्पर्धाको अन्त्य गर्नेछ र कम्युनिस्ट पार्टीलाई प्रजातान्त्रीकरण गर्न सहज हुनेछ भन्ने मेरो विश्लेषण हो । तपाईंहरूले बुझिसकेको तर कार्यकर्तालाई भन्न नसकेको, अबको जमानामा जनवादी केन्द्रीयताको नाउँमा कम्युनिस्ट अधिनायकवाद स्वीकार्य छैन र तपाईंहरूका भाष्यअनुसारको जनवाद, साम्यवाद वा नियन्त्रित समाजवाद आउनेवाला पनि छैन । यी कुरा तपाईंहरूले क्रमिक रूपमा जनतासमक्ष राख्न सक्नुहुनेछ र नेपाली जनतामा रहेको लामो समयदेखिको कम्युनिस्ट भ्रम टुट्नेछ भन्ने मेरो विचार थियो र अझै पनि छ । भ्रममा रहँदासम्म कुनै पनि देश बन्दैन, बनेको छैन । यथार्थलाई स्विकारेपछि मात्र निर्माण सुरु हुन्छ । 

मेरो विश्लेषणलाई तपाईं सत्य मान्नुहुन्छ भने तपाईं नेकपामा रहिरहनु देशका लागि हितकर छ । तपाईंले आफू अपमानित भएको महसुस गर्नुभएको होला । किन पार्टी एकता गर्न पुगेछु भन्ने पनि मनमा आउँदो हो । तर, देशहितका लागि अपमान पनि सहनुपर्छ । ०३५ सालमा बिपीलाई पोसाक मिलेन भनी नारायणहिटीको ढोकाबाट फर्काइयो । सबैले बिपीलाई दरबारले यत्रो अपमान गर्यो, अब राजासँगको वार्ता तोड्नुपर्छ भने ।

बिपीले सारा नेपाली दिनहुँ अपमानित छन् । म तिनै नेपालीको सम्मानको लागि लडिरहेको छु । मेरो अपमानले प्रजातन्त्र प्राप्तिको संघर्ष अवरुद्ध हुनुहुँदैन भन्नुभयो । तपाईं पनि देशहितलाई हेरेर व्यक्तिगत मान–अपमानको कुरा बिर्सिदिनोस् । सिंगो नेकपा रहँदा यो देशमा दुईदलीय अभ्यासमा मद्दत पुग्नेछ । देश तपाईंप्रति कृतज्ञ हुनेछ । नेपालीको संस्कार नै यस्तै हो, बाँचुन्जेल सत्तोसराप गर्ने, मरेपछि पुज्ने । तपाईं पनि लामो समय सम्मानका साथ सम्झनामा रहनका लागि यो नै पर्याप्त हुनेछ ।

मलाई पूरा ज्ञान छ, तपाईं त्यही पार्टीमा रहिरहँदा पनि अहिलेका प्रधानमन्त्री सच्चिनेछैनन् । जनताले दुःख पाउनेछन् । तपाईंको अपमानको के कुरा गर्नु, अस्ति भर्खरकै जासुसको भेटले बतायो, देश दिनदिनै अपमानित हुनेछ । तर, तपाईंको पार्टी टुट्दा पनि राम्रो हुनेछैन । पहिलो त नेपालमा पार्टीहरूले सरकारको स्थायित्व राख्न सक्दैनन् भन्ने गलत सन्देश जानेछ । अतिवादीहरूले प्रजातन्त्रप्रति नै प्रश्न उठाउनेछन् । दोस्रो फेरि पुरानै फोहोरी खेल दोहोरिनेछ । यी सबै दोषको भागी तपाईंलाई बनाइनेछ । अहिले प्रधानमन्त्री बदनाम छन् । टुट्दा तपाईं पनि बदनाम हुनुहुनेछ ।

तपाईंलाई यी कुरा भन्दा मेरो पनि एउटा स्वार्थ छ । तपाईंहरू एकजुट रहनुभयो भने कांग्रेस तत्कालका लागि सत्ता प्राप्तिबाट वञ्चित रहनेछ । तपाईंलाई थाहा नै छ, हाम्रो पार्टीमा सत्ताको  र्याल चुहाउँदै बसेका केही लोभी वृद्ध नेता छन् । अहिले कांग्रेस सत्तामा देश बनाउन होइन, तिनै लोभ मोटाउन जाने हो । कांग्रेसलाई बदनामीबाट बचाउने एक मात्र उपाय तपाईंहरू एकजुट हुनु हो । अर्काे, तपाईंहरू फुट्दा कांग्रेसलाई आगामी निर्वाचनमा वाकओभर मिलेजस्तो हुनेछ । यसले पनि कांग्रेसलाई कर्मशील नबनाई फुटको फाइदा लिने पार्टी मात्र बनाउनेछ । जुन दीर्घकालका लागि घातक हो । कांग्रेसका नेता परिश्रमी र रचनात्मकता भएका नभई मौरीघारका डाइनाजस्ता हुनेछन् । 

अग्रगमन तपाईंको प्रिय शब्द हो । सधैँ अग्रगमनको कुरा गर्नुहुन्छ । जुटेको पार्टी फुटाउनु अग्रगमन होइन, पश्चगमन हुनेछ । तसर्थ, तपार्इं हजार अपमानको विष पिएर पनि नेकपा बचाउनुस् । नेकपालाई प्रजातान्त्रीकरण गर्नुस् । देशलाइ कृतज्ञ बनाउनुस् । 
(भुसाल नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हुन्) 

सुझावित समाचार