बाग्लुङमा ‘कोरोना महामारी मेरो जिम्मेवारी’ अभियान

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण
बाग्लुङमा ‘कोरोना महामारी मेरो जिम्मेवारी’ अभियान

जैमिनी नगरपालिकामा शपथ खुवाउँदै नगर प्रमुख इन्द्रराज पौडेल । तस्बिर : नयाँ पत्रिका

जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि र सर्वसाधारणलाई जिम्मेवार बनाउन ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय बाग्लुङले जिल्लास्थित सम्पूर्ण स्थानीय तह र कार्यालयमा कार्यरत कर्मचारी एवं स्वास्थ्यकर्मीलाई ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ शपथ खुवाउँदै अभियान सञ्चालन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट सुरुवात गरिएको शपथ खुवाउने अभियान सबै कार्यालय र स्थानीय तहमा सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । कोरोना रोकथामका लागि ‘लकडाउन’ सम्भावना नभएको हुँदा  स्वयं व्यक्ति नै जिम्मेवारी नबनेसम्म रोकथाम र नियन्त्रण गर्नका निम्ति शपथ खुवाउने अभियान सञ्चालन गरिएको गुरौले बताए । 

अभियान कर्मचारी मात्र नभएर आमसर्वसाधारणका निम्ति पनि स्वयं जिम्मेवारी बन्नका लागि सञ्चालन गरिएको हो । जसका लागि ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ शीर्षकअन्तर्गत ६ बुँदाको शपथ खुवाइने गरिएको छ । कार्यालयले तयार पारेको शपथ जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले आफ्नोमातहतका कर्मचारीलाई खुवाएका थिए ।

कोरोनाको जोखिम समुदायस्तरमा नै बढ्दै गएको र यो समयमा लकडाउनले मात्र सम्भव नहुने हुँदा यसको नियन्त्रणका लागि समाज–समुदायलाई थप जिम्मेवारी बनाउन शपथ खुवाइएको स्वास्थ्य कार्यालय बाग्लुङका कोरोना महामारी फोकलपर्सन देवप्रकाश घिमिरेले बताए । घिमिरेका अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन समितिको १७ कात्तिकको निर्णयअनुसार जिल्लाका सबै तहमा र क्षेत्रमा शपथ खुवाइनेछ र कर्मचारी तथा आमनागरिकलाई थप जिम्मेवारी बनाइनेछ । 

सुझावित समाचार