नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच शीर्ष नेताको अनौपचारिक छलफलले प्रधानमन्त्री केपी ओलीलाई सामूहिक भेटमार्फत केन्द्रीय सचिवालयको औपचारिक बैठक राख्न आग्रह गर्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको अनौपचारिक बैठकमा त्यस्तो निष्कर्ष निकालिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘प्रधानमन्त्रीलाई सामूहिक रूपमा भेटेर केन्द्रीय सचिवालयको औपचारिक बैठक राख्न आग्रह गर्ने निष्कर्ष निकालिएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।
प्रधानमन्त्री केपी ओलीसँग विवाद बढ्दै गएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बोलाएको अनौपचारिक बैठकमा सचिवालयका नाैमध्ये पाँचजना अर्थात् बहुमत सदस्य सहभागी थिए । करिब एक घन्टाको अनौपचारिक बैठकमा प्रवक्ता श्रेष्ठसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम सहभागी थिए ।
बैठकमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल भने अनुपस्थित थिए । धुम्बाराहीको छलफललाई प्रचण्ड–समूहले अनौपचारिक बैठक भनेको छ भने ओली समूहले पार्टी विधानअनुसार एकतर्फी बैठक बस्नै नमिल्ने बताएको छ ।