नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघभित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने बताएका छन् ।
महासंघलाई पूर्वअध्यक्षहरूले राजनीति गर्ने थलो बनाएकोप्रति इंगित गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अब निर्वाचित व्यक्तिहरूले नै महासंघलाई हाँक्ने बताए ।
महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्याशी किशोर प्रधानले उम्मेदवारी घोषणा गर्न काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले राजनीतिक क्यान्सरलाई हटाउनैपर्ने बताएका हुन् ।
उनले भने, ‘उद्योग वाणिज्य महासंघमा एउटा क्यान्सर फैलिएको छ, राजनीतिको क्यान्सर । अबको समयमा हामीले त्यो क्यान्सरलाई निकाल्न सक्नुपर्छ । जो निर्वाचित व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूले नै उद्योग वाणिज्य महासंघ हाँक्न सक्नुपर्छ । अरू कोही व्यक्ति जो निर्वाचित छैनन् उनीहरूको कुनै चलखेल हामी उद्योग वाणिज्य महासंघमा हुन दिँदैनौँ । किनभने यो सबै विकृति हो भन्ने मलाई लाग्छ ।’
सबै पूर्वअध्यक्षसँग सल्लाह र सुझाब लिने, तर उनीहरूको राजनीतिमा नपर्ने गोल्छाले बताए ।
निर्वाचित हुनेहरू मात्रै मतदाताप्रति उत्तरदायी हुने भएकाले आफूले नेतृत्व गर्ने समूह अहिलेसम्म भएका राजनीतिक विकृति–विसंगति हटाउन सफल हुने विश्वाससमेत व्यक्त गरे ।
आफूले राजनीति गर्न नभई काम गर्न आएको समूहलाई रोजेको स्पष्ट पार्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले निजी क्षेत्रको सेवा गर्न आफूहरु सक्षम हुनेसमेत बताए ।
उनले महासंघलाई समस्याको समाधान गर्ने निकायको रूपमा मात्रै सीमित नगरेर नेपालको समग्र निजी क्षेत्रको सुदृढीकरणका लागि काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।