बेलबारीले विनाधितो सस्तो ब्याजदरमा युवालाई ऋण दिने

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना महामारीका कारण बेरोजगार बनेका युवालाई बेलबारी नगरपालिकाले विनाधितो सस्तो ब्याजदरमा ऋण दिने भएको छ ।

वैदेशिक रोजगारमा जाने उमेर समूहका तथा फर्केर आएका युवाहरूलाई लक्षित गरेर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागेको हो। 

युवा स्वरोजगार तथा लक्षित वर्ग कार्यक्रम सञ्चालन कार्यविधि नगरपालिकाकाे आजको बैठकले पास गरेको छ । 

‘हामीले आवश्यक कानुन बनाइसकेका छौँ,’ मेयर ज्ञानेन्द्र सुवेदीले भने, ‘अब चाँडै नै कार्यान्वयनमा लैजान्छौँ । नगरपालिका नै जमानी बसेर पाँच लाखसम्म २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँछौँ ।’ 

यस कार्यक्रममा सहभागी हुने युवा तथा युवा समूहले विनाधितो ऋण पाउनेछन् । बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने थप ब्याज नगरपालिकाले तिरिदिनेसमेत मेयर सुवेदीले बताए ।  

यो योजना कृषि, पशुपालन, माछापालन, व्यापार–व्यवसाय गर्नेहरूका लागि लक्षित छ । सामूहिक खेती तथा व्यापार–व्यवसाय गर्नेहरूलाई पहिलो प्राथमिकता दिइने मेयर सुवेदीले बताए । 

उनका अनुसार युवा स्वरोजगार कोषको नाममा छुट्टै कोष स्थापना गरेर युवा तथा लक्षित वर्गलाई व्यावसायिक बनाउन नगरपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको छ । 

यस्तै नगरपालिकाले तीन महिनाभन्दा कम खान पुग्ने वा दैनिक ज्याला मजदुरीबाट गुजारा चलाउने परिवारलाई लक्षित गरेर आयआर्जनमुखी कार्यक्रम गर्ने लक्ष्य राखेको प्रवक्ता योगेन्द्र सुवेदीले बताए । 

‘यस्तो परिवारको तथ्यांक संकलन गरिसकेका छौँ,’ सुवेदीले भने, ‘हामी अब लगत्तै उनीहरूको इच्छाअनुसार रोजगारी सिर्जना गर्छौँ ।’ 

कात्तिक १५ मा बसेको बैठकले श्रमिकहरूको सेवा सुरक्षासम्बन्धी कार्यविधिसमेत पास गरेको छ । नगरपालिकाले उद्यमीहरूलाई लक्षित गरेर ‘गरिबसँग नगरपालिका कार्यक्रम’ कार्यान्वयन गरेको छ ।   

सुझावित समाचार