नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।
आफू २८ वर्षयता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका लागि पनि उम्मेदवारी घोषणा गरेको उनले बताए ।
सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यावसायिक समस्याको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले आफूलाई विजयी बनाउने विश्वास प्रधानले व्यक्त गरे ।
उनले देशको अर्थतन्त्र जोगाउनका लागि पनि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए ।
आफूलाई भावी अध्यक्ष शेखर गोल्छाको समेत साथ रहेकाले उनको कार्यकाललाई सफल बनाउन पनि उनले रोजेको समूह नै अगाडि आउने विश्वास लिएको बताए ।
प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् ।
प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको दाबी प्रधानको छ ।
महासंघको ५४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ । गत चैतमा हुनुपर्ने महासंघको ५४औँ साधारणसभा तथा निर्वाचन कोभिड– १९ का कारण स्थगित भएको थियो ।
प्रधान समूहले आजै महासंघमा आफ्नो उम्मेदवारीसमेत दर्ता गराउँदै छ ।