स्ट्यान्डर्ड चार्टर्ड बैंकले तुलनात्मक रूपमा कम लाभांश प्रस्ताव गरेको भन्दै लगानीकर्ता निराश बनेपछि वाणिज्य बैंक समूहको परिसूचकमा वृद्धि रोकिनुका साथै नेप्से घट्ने कारण पनि बनिरहेको छ ।
आइतबार नेप्से ४ दशमलव ७२ अंकले घटेर १ हजार ६ सय ४० दशमलव ९६ मा आइपुगेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत बोनस र ४ दशमलव ८४ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।
वाणिज्य बैंक समूहमै मूल्यका आधारमा तेस्रो महँगो सेयर मूल्य रहेको स्ट्यान्डर्ड चार्टर्डको घोषित लाभांश दर कम भएको भन्दै लगानीकर्ता निराश बनेका छन् । लगानीकर्ताले सामाजिक सञ्जालमा बैंकले निराश बनाएको टिप्पणी गरेका छन् । राष्ट्र बैंकले लाभांश वितरण गर्दा कुल लाभांशमा बोनस सेयरको हिस्सा ७० प्रतिशत र नगद लाभांशको हिस्सा ३० प्रतिशत हुनुपर्ने निर्देशन पालनासमेत नभएकाले यसमा सामान्य संशोधन हुने सम्भावना पनि छ ।
आइतबार स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य सबैभन्दा धेरै घट्ने दोस्रो स्थानमा छ । मूल्य करिब ४ प्रतिशतले घटेर ६ सय ५६ रुपैयाँमा सीमित भएको छ । अन्य बैंकहरूको लाभांश घोषणा आकर्षक भएमा बैंकिङ समूहमा सुधार हुन सक्छ ।
बैंकहरूको वित्तीय विवरण प्रकाशित हुने क्रम चलिरहेको छ । यसको प्रभाव पनि बजारमा देखिनेछ । हालसम्म सिटिजन्स बैंक र नेपाल बैंकले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । सिटिजन्स बैंकको ५० प्रतिशतले नाफा बढेको र नेपाल बैंकको भने नाफा ५ प्रतिशतले घटेको छ । तर, सिटिजन्स बैंकले लगानीकर्तालाई वितरण गर्न सक्ने पुँजी भने गत आवको पहिलो त्रैमासको तुलनामा २१ करोड रुपैयाँबाट घटेर ९२ लाख रुपैयाँ मात्रै छ ।
केही दिनअघि मूल्य बढिरहेको सिटिजन्स बैंकको पनि आइतबार मूल्य १ प्रतिशतभन्दा केही कमले घटेको छ । नेपाल बैंकको भने वितरणयोग्य पुँजी ६ करोड ५६ लाखबाट बढेर १९ करोड ६४ लाख रुपैयाँ छ ।
नेपाल बैंकको मूल्य यस दिन २ दशमलव ३० प्रतिशतले घटेको छ । समूहगत आधारमा लगानीकर्ता पुनः जलविद्युत् समूहमा आकर्षित भइरहेका छन् । एउटा समूह घट्न थालेसँगै लगानीकर्ता अर्कोमा कारोबार गर्ने रणनीति अपनाइरहेका छन् । आइतबार कारोबार रकम पनि केही घटेको छ । यस दिन २ अर्ब ९३ करोड रुपैयाँको सेयर किनबेच भएको हो ।
व्यापारमूलक, जलविद्युत्, लघुवित्त, निर्जीवन र ‘अन्य’ समूहगत परिसूचक मात्र बढेका छन् । विशाल बजार, नेपाल फाइनान्स र हिमालयन ऊर्जा विकास कम्पनीको मूल्य १० प्रतिशतसम्म बढेको छ । कारोबारमा आएका १ सय ९६ धितोपत्र तथा ऋणपत्रमा ९५ को मूल्य बढेको छ भने ८२ वटाको घटेको छ । बजारले प्रतिरोधको सामनासमेत गरिरहेको प्राविधिक विश्लेषणले देखाइरहेको छ ।
१ हजार ६ सय ६७ मा नेप्सेले पहिलो र १ हजार ७ सय ९ मा दोस्रो दरिलो प्रतिरोधको सामना गर्नेछ । नेप्सेमा आइतबार पनि कालो मैनबत्ती आकृति बनेको छ । गत बिहीबार पनि कालो मैनबत्ती बनाएको नेप्से केही दिन घट्ने संकेत यसले गरिरहेको छ । नेप्सेको ७ दिने मुभिङ एभरेज रेखा भने २१ दिनेभन्दा थप केही माथि लाग्ने जमर्कोमा छ । यसले भने बुलिस प्रवृत्ति बाँकी नै रहेको संकेत गर्छ ।