फ्रान्सको नीतिले आतंकवादलाई झन् बढाउँछ

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

आतंकवादीले पुनः एकपटक फ्रान्समाथि आक्रमण गरे र पुनः एकपटक फ्रान्सको खतरनाक विरोधाभास उजागर भयो । पहिले एक इतिहासका शिक्षक स्यामुयल प्याटीको हत्या भयो । अक्टोबर १६ मा एकजना युवा चेचेनले उनको शिर छेदन गरेर हत्या गरिदिएका थिए । बिहीबार देशको दक्षिणी सहर निसमा चर्चमा प्रार्थना गरिरहेका तीन मानिसको चक्कु प्रहार गरेर हत्या गरियो । यस घटनाका प्रमुख दोषी एक ट्युनिस पुरुष भएको विश्वास गरिएको छ ।

 प्याटीको हत्यापछि गृहमन्त्री गेराल्ड डारमनिनले अनलाइनमा घृणा फैलाउने मानिसलाई कारबाही गर्ने बताए । सरकारले केही एनजिओ खारेज गरेको छ भने केहीलार्ई बन्द गर्ने धम्की दिएको छ । प्याटीको हत्यापछि फ्रान्स सरकारले सुरक्षात्मक तथा प्रतिआतंकवादी कदम मात्र उठाएको छैन, उसले वाक स्वतन्त्रताको अधिकारको विषय उठाइरहेको छ । सरकारले आफ्नो देशमा धर्मनिरपेक्षताको केन्द्रीय भूमिकाबारे पनि पुनः चर्चामा ल्याएको छ । फ्रान्समा सम्पूर्ण सरकारी संस्थान र विशेषतः सार्वजनिक विद्यालयमा धर्मनिरपेक्षता कडाइपूर्वक पालना गराइन्छ । प्याटीप्रतिको श्रद्धाञ्जली कार्यक्रममा बोल्ने क्रममा राष्ट्रपति म्याक्रोनले ‘फ्रेन्च गणतन्त्रको चरित्र बोकेको कारण’ले प्याटी मारिएको बताए ।

फ्रेन्च सरकारको उग्र इस्लामवादप्रतिको धारणा समस्याग्रस्त छ । यसले भन्छ : फ्रेन्च मुसलमानहरू देशको धर्मनिरपेक्षता संस्कृतिमा पूर्ण समाहित नभएकाले फ्रान्सेली आतंकवाद बढिरहेको छ । प्याटीमाथिको आक्रमणअघि अक्टोबरको आरम्भमा म्याक्रोनले एउटा सरकारी योजना घोषणा गरेका थिए । त्यस योजनाले ‘पृथकतावाद’लाई पराजित गर्न ‘धर्मनिरपेक्षता र गणतान्त्रिक सिद्धान्तलाई सबल बनाउने’ म्याक्रोनको दाबी थियो ।

राष्ट्रपतिले प्रयोग गरेको ‘पृथकतावाद’ले मुसलमानको महत्वपूर्ण हिस्सा बाँकी फ्रेन्च समाजभन्दा केही हिसाबमा अलग राख्न उद्यत रहेको विचारमा आधारित थियो । मुसलमानहरूले अलग बस्ती बनाइरहेको, त्यो बस्तीको छुट्टै इस्लामिक विद्यालय, मस्जिद तथा हलाल स्टोर हुने मान्यताले पनि त्यही विचार राख्ने बताउँछन् । तर, यस्तो बुझाइ समस्यापूर्ण छ । यो विचारले चाहिँ सामाजिक एकता खलबल्याउन सक्छ ।

यो विचारको प्रमुख समस्या के हो भने यसले मुसलमानहरूलाई फ्रेन्चजनबाट अलग मान्छ । साथमा ती केही जान्दैनन् र तिनलाई धर्मनिरपेक्ष गणतन्त्रवाद बुझ्न नसक्ने मान्छ । वास्तवमा अनगिन्ती अध्ययन र कैयौँ तथ्यांकीय अध्ययनले फ्रान्सका अधिकांश मुसलमान सांस्कृतिक तथा सामाजिक रूपमा राम्ररी घुलमिल भएको देखाएको छ । तर, रोजगारीमा हुने विभेदका कारण आर्थिक रूपमा भने उनीहरू असमानतामा रहेको देखाएको छ । राजनीतिक वैज्ञानिक ब्रुनो इटिएनले फ्रेन्च मुसलमानहरूलाई ‘असामान्य रूपमा सामान्य’ हिस्सा बताएका थिए ।

इम्यानुअल म्याक्रोनले साम्प्रदायिकता नियन्त्रण गर्न अपनाएको रणनीतिले अन्जानवश तिनको वृद्धि गर्न सघाउनेछ 

सन् १९८० र ९० को दशकमा फ्रान्सका मुसलमानहरूको एक हिस्साले फ्रेन्च धर्मनिरपेक्षतालाई धर्मविरोधी वा संस्थागत नास्तिकता मान्थ्यो । तर, उक्त सोचाइमा धेरै पहिले नै परिवर्तन आइसकेको छ । सन् २००४ मा एक प्रमुख रूढिवादी मुसलमान समूह ‘युनियन डेस अर्गनाइजेसन्स इस्लामिक डे फ्रान्स’ले राज्य र धर्मको विभाजनबारे लेखिएको सन् १९०५ को महत्वपूर्ण कानुनबारे बोलेको थियो । त्यसमा भनिएको थियो, ‘हाम्रो लागि यो कानुन नभएको ठीक हुन्थ्यो, तर अब लागू भइसकेको अवस्थामा हामी त्यसलाई पालना गर्नेछौँ ।’

सन् २०१६ मा इन्स्टिच्युट मोनटेनले गरेको एक अध्ययनमा सहभागी दुईतिहाइ मुस्लिमले धर्मनिरपेक्ष राज्यले तिनको धार्मिक अभिव्यक्तिको स्वतन्त्रतालाई सघाएको बताएका थिए । सन् २०१९ को एक अध्ययनमा ७० प्रतिशत मुसलमानहरूले फ्रान्समा इस्लाम धर्म अभ्यासमा सहज रहेको बताएका थिए । ४१ प्रतिशत सहभागीले फ्रेन्च धर्मनिरपेक्षतासँग मेल खानका लागि इस्लाम अभ्यास बदलिनुपर्ने बताएका थिए ।

तर, ३७ प्रतिशतले फ्रेन्च धर्मनिरपेक्ष कानुन केही खुकुलो हुनुपर्ने बताए । आजका मुसलमानले सन् १९०५ को कानुनले तय गरेको धर्मनिरपेक्षता संस्करणको विरोध गरेका होइनन् । सन् १९०५ को कानुनले धार्मिक स्वतन्त्रताको संरक्षणका लागि फ्रेन्च राज्य तथा तिनका संस्थानले धर्मको विषयमा पूर्णतया तटस्थ हुनुपर्ने भनेको छ । कानुनमा भनिएको छ :‘फ्रेन्च गणतन्त्रले न कुनै धर्म (पन्थ)लाई चिन्छ, न कुनै धर्मलाई प्रयोग गर्छ, न लगानी नै गर्छ ।’ यो कानुन पछिल्लो समय मुसलमानविरोधी नश्लवादको बहाना बन्दै गएको मुसलमानहरूको चिन्ता छ । 

फ्रान्सको मूलधारको राजनीतिक बहसमा पनि देशका मुसलमानहरूले इस्लामभित्रको उग्र पक्षलाई आलोचना नगरेकोमा रोष प्रकट हुने गरेको छ । तर, मसमेत संलग्न भएको अध्ययनमा धेरै मुसलमान समूहले आतंकवादको आलोचना गरेको पाएको छु । इस्लामिक उग्रवादीहरूको आक्रमणको सिकार मुसलमान स्वयं पनि हुन्छन् भन्ने कुरा बिर्सन हुन्न ।

फ्रेन्च सरकारले इस्लामिक आतंकवाद र मुसलमान साम्प्रदायीकरणलाई एउटै देखाउने प्रयास गरेर थप समस्या खडा गरिदिएको छ । पृथकीकरणको जोखिम देखाएर फ्रेन्च मुस्लिमलाई उग्रवादविरुद्ध उभ्याउन सकिँदैन, न तिनमा राष्ट्रको अंश हुँ भन्ने भाव नै वृद्धि हुन्छ । बरु उल्टो फ्रेन्च सरकारको हालको शैलीले केही मुसलमानलाई आफू अन्य फ्रेन्चभन्दा अलग हुँ भन्ने पर्न सक्छ । यसले फ्रेन्च नेता अहिले जुन पृथक मुसलमान पहिचान र फ्रान्सभित्र अलग समुदायको निर्माणको सम्भावनालाई लिएर डराइरहेका छन्, त्यो यथार्थमा बदलिन सक्छ । 

गेइसर फ्रेन्च राजनीतिक वैज्ञानिक हुन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार