जीवित नागरिकभन्दा कथाका राम प्यारा

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

सबैभन्दा बढी जनसंख्या भएको भारतीय प्रान्त उत्तर प्रदेशका मुख्यमन्त्री छन्, एकजना योगी । राज्यसत्ता चलाइरहेका योगी कति योगी छन् र कति सत्ताभोगी छन् भन्ने कुरा छाडेर उनका विचारका कुरा गर्ने हो भने एउटा भयावह तस्बिर आउँछ । उनले हालै एउटा समारोहमा कुनै पनि मुसलमान पुरुष र हिन्दू नारीबीच प्रेम र विवाह वर्जित रहने घोषणा गरेका छन् । यदि कसैले त्यस्तो गरिहालेमा उसको ‘राम नाम सत्य’ गरिदिने भन्दै उनले यसबारे छिटै कडा कानुन पनि ल्याउने बताएका छन् । यसरी उनले कसैको प्रेम गर्ने र विवाह गर्ने अधिकारमाथि कानुनी बन्देज लगाउने घोषणा गर्नुअघि आजको भारतमा अनेक घटना भएका छन् ।

आधुनिक लोकतन्त्रका मुख्य मान्यता पछ्याउँदै भएको स्वतन्त्रता संग्राम, असफल भएको नेहरुकालीन समाजवाद र सीमित मानिसलाई अत्यन्त धनी बनाएको उदारवादी सुधार । राममन्दिरको विवाद र बाबरी मस्जिद काण्ड हुँदै मोदीको उदयसम्म आउँदा भारतीय समाज उदारवादी समाजवादी मूल्यहरूबाट पछि हट्दै गयो । 

अहिले बहुसंख्यक समुदायले अल्पसंख्यकमाथि गर्न थालेको दमन र फरक विचारमाथि निषेध गर्ने प्रयासले भारतलाई एक कदम पछाडि धकेलेको छ । यसको जगमा हिन्दू धर्म र हिन्दू समाजको आदर्शलाई यो भूखण्डमा स्थापित गर्ने राष्ट्रिय स्वयंसेवक संघलगायत संस्थाको स्थापना र विस्तारको मात्र हात छैन, त्यहाँको अर्थतन्त्रमा रहेका समस्या पनि कारणका रूपमा रहेका छन् । तर, त्यसको वैचारिकी भने धर्म राजनीतिमा आधारित छ ।

यता नेपालको राजनीतिमा गणतन्त्रको स्थापनापछि वैचारिक संकट थपिँदै गएको छ । यो वैचारिक संकटको आधार ०६३ पछि समाजमा देखिएको धु्रवीकरणका क्रममा क्रमशः संगठित हुँदै गएको संघीयताविरोधी, समग्र पुनर्संरचनाविरोधी पञ्चायती राष्ट्रवादको पुनः जागरणमा थियो । 

०७२ को संविधानले परिवर्तनका माग र आवेगलाई पक्रन नसकेपछि राजनीतिक शक्तिहरू आदर्शच्युत हुने क्रममा पुगे । ०७४ को निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले अत्यधिक बहुमतसहित सत्ता सम्हालेपछि केही समय मानिसमा आशावाद सञ्चार भएको पनि हो । तर, पछिल्ला घटनाले उक्त पार्टीको नेतृत्वमा बनेको सरकारका व्यवहार र स्वयं दलका नेताको सत्तालिप्साले जनतामा चरम निराशा बढ्न थालेको छ ।

अब नागरिकको सुरक्षा र सामाजिक न्यायका मुद्दामा होइन, आर्थिक विकास र उन्नतिको मुद्दामा पनि होइन, बरु राम या सीताका नाममा निर्वाचन लडिनेछ, यसले वैचारिक टाट पल्टाइतर्फ संकेत गर्छ

वर्तमान सरकार आर्थिक विकास, सामाजिक न्याय र सुशासनको जिम्मेवारीबाट पन्छिँदै आफ्नै दलको इतिहासमा निर्मित विचारबाट टाढिँदै गएको छ । वैचारिक मूल्यहरू खण्डित हुँदै गएपछि सिर्जित संकटबाट परम्परागत जनाधार खस्कने भएपछि अर्को निर्वाचनका लागि आफ्नो मताधार निर्माण गर्ने तयारीस्वरूप प्रधानमन्त्रीले अयोध्यामा राममन्दिर निर्माणको अस्त्र प्रयोग गरेका छन् । यसले स्थानीय समाजका सम्भ्रान्तमा सग्बगाहट ल्याएको छ । रातारात सय बिघा जमिनको लालपुर्जा रामका नाममा ल्याउने तयारी भएको छ । पारायणको तयारी चलेको छ । 

मूर्तिहरू त प्रधानमन्त्रीबाटै उपहार आउने र मन्दिरको भौतिक संरचनाको निर्माणका काममा पनि बजेट कम हुन नदिने भएपछि त्यसले गति लिने नै भयो । तर, त्यही ठाउँमा बीसौँ वर्षदेखि बसोवास गर्दै आएका सुकुम्वासी चेपाङका लागि आवासीय क्षेत्र बनाउन जमिन स्थानीय तहसँग छैन । हात्ती लगाएर खेदिँदा पनि तिनले राज्यको सहारा पाएका छैनन् ।

यसले हाम्रो सत्ताको वैचारिकीमा जीवित नागरिकको तुलनामा कल्पनाका राम प्यारा हुन थालेको संकेत गर्छ, वैचारिक टाट पल्टाइको संकेत गर्छ । अब नागरिकको सुरक्षा र सामाजिक न्यायका मुद्दामा होइन, आर्थिक विकास र उन्नतिको मुद्दामा पनि होइन, बरु राम या सीताका नाममा निर्वाचन लडिनेछ । जनता सीमान्तीकरणमा धकेलिनेछन्, राजनीतिक बहसबाट किनारीकृत गरिनेछन् । राजनीतिक सम्भ्रान्तमा यो बहस स्थापित गर्नेको कमी हुनेछैन, जसले समग्र जनतका दैनिक दुःखलाई रामनामीको पहेंलपुरे बर्कोले ढाकिदिनेछ । यस्तो टाट पल्टाइ यति छिटै देखिने अपेक्षा गरिएको थिएन ।

सम्पादकको रोजाइ

सुझावित समाचार