सरकार आफैँ भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय कार्यसमितिले आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा कोरोना संक्रमितको निःशुल्क परीक्षण र उपचारको माग गर्दै प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनपछि भएको कोण सभामा बोल्दै संघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेल र महामन्त्री दीपक भट्टराईलगायतले सरकार र मन्त्रीहरू आफैँ भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।
‘कोरोना नियन्त्रण र उपचारमा सरकारी उदासीनताको हद नाघ्यो,’ महामन्त्री भट्टराइले भने, ‘सरकार आफैँ भ्रष्टाचारी र अपराधीको संरक्षणमा लागेको छ, दण्डहीनताको पक्षमा लागेको छ ।’ उनले सरकारको यस्तो रबैया कायम रहे मुलुक ठूलो दुर्घटनामा पर्ने बताए ।
सरकारले समयमै पूर्वतयारी नगरेका कारण अहिले कोरोना महामारी भयाभह बनेको भन्दै नेविसंघले संक्रमितहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ ।