पूर्वाग्रहअनुसार मानिसलाई जे कुरामा पहिलेदेखि विश्वास छ, प्रमाण पनि त्यही विश्वास पुष्टि हुने गरी भेट्छ
ज्योतिषशास्त्रमा अत्यधिक विश्वास गर्ने पात्रमा पर्छन्, तत्कालीन मुगल साम्राज्यका दोस्रा सम्राट हुमायुँ । उनी युद्ध पनि ज्योतिषशास्त्रबमोजिम लड्थे भनिन्छ । कर्मचारीतन्त्रमा कामको बाँडफाँट राशिअनुसार गर्थे । पानी राशिमा पर्ने सबै कर्मचारीलाई नहर तथा पानीको काम दिइन्थ्यो । आगो, पृथ्वी तथा हावा राशिलाई पनि तदनुरूपकै काममा लगाइन्थ्यो । सन्दर्भ प्राचीन कालको मात्र नभएर नवयुगमा प्रवेश गरेको भारतको पनि हो । भारतमा ज्योतिषशास्त्रलाई विज्ञानका अरू विषयजतिकै मान्यता दिएको छ, विश्वविद्यालय अनुदान आयोगले । कति विश्वविद्यालयहरू यस विषयमा उच्च शिक्षा नै पढाउँछन् । वैज्ञानिक समुदायले कैयौँपटक यस्तो शिक्षाको विरुद्ध रिट हाल्दा ज्योतिषीहरूकै जित भएको छ । हिजो–आजका दिनमा त वैदिक ज्योतिषशास्त्रको विश्वविद्यालय खोलेर ज्योतिषशास्त्रसँगै तन्त्र, मन्त्र र योग अध्यापन गराउने अभियान नै चलेको छ ।
हुन त ज्योतिषशास्त्रजस्तै मानवको शुभ भविष्यको निर्धारण देवीदेवताको इच्छाबाट हुन्छ भन्ने सोच मानव सभ्यताको उदयदेखि नै स्थापित सोच हो । खेतीको सुरुवातअगाडि मानव सिकारी तथा संकलक हुँदा पनि जड–अजड वस्तुमा आत्मा हुन्छ भन्ने विश्वास रहिआएको थियो । स–साना राज्यको विकास हुँदा विभिन्न देवीदेवताको पूजा हुन थाल्यो । पोलिनिसियामा डुंगा बनाउन रूख ढाल्दा विभिन्न भगवान् खुसी बनाउने तरिका पूरा गरिन्थ्यो, ताकि पछि डुंगा लिएर माछा मार्दा सफलता हात लागोस् । अहिले विश्वका विभिन्न भागमा अनुसरण गरिने ज्योतिषशास्त्रको प्रादुर्भाव भने मध्यपूर्वको बेबिलोनमा इसापूर्व २००० मा भएको अनुमान छ । ज्योतिषशास्त्रको विकास खगोल विज्ञानसँगै भएको अनुमान सहजै लगाउन सकिन्छ । बेबिलोनको सभ्यताले चन्द्र र सूर्यबाहेक अरू पाँच ग्रह पत्ता लगाएको थियो । यी पाँच ग्रह तथा चन्द्र र सूर्य बेबिलोनका सात प्रमुख देवतालाई प्रतिनिधित्व गर्छन् । बेबिलोनवासीको विश्वासमा यी सात देवीदेवताले आफूलाई लागेको कुरा मानव जातिलाई यी आकाशीय पिण्डका माध्यमबाट सम्पर्क गर्थे ।
हामीजस्ता वैज्ञानिकलाई आश्चर्य लाग्न सक्छ, आखिर आकाशीय पिण्ड हेरेर भविष्यवाणी गर्ने पद्धति कसरी यस्तो विश्वव्यापी भयो ? प्राचीन युग र यदाकदा आधुनिक युगमा पनि यस विद्याका किन यति धेरै अनुयायी छन् ? प्राचीन तथा आधुनिक युगमा थाहा भइआएको कुरा सूर्य तथा चन्द्रमाले पृथ्वीका विभिन्न क्रियाकलापलाई असर गर्छन् । सूर्य त पृथ्वीको सारा क्रियाकलापको अन्तिम ऊर्जा स्रोत हो । बादल बन्ने, पानी पर्ने र बालीनाली लाग्ने काममा निश्चित रूपमा सूर्यको प्रभाव रहन्छ । यी तथ्यको ज्ञान प्राचीन मानवलाई भएको हुनुपर्छ । चन्द्रमाको पनि पृथ्वीका समुद्रका छालहरूमा असर रहन्छ । यस्ता प्राकृतिक प्रक्रियालाई बाहेक मानवीय क्रियाकलापलाई पनि आकाशीय पिण्डहरूले असर गर्छन् भन्ने अनुमान प्राचीन मानवहरूको हुन सक्छ ।
बेबिलोनबाट विकास भएको ज्योतिषशास्त्र इसापूर्वको १००० को सहस्राब्दीमा विश्वव्यापी रूपमा फैलियो । मेसिडोनियाबाट आएका सिकन्दरले यो विद्यालाई रोम र ग्रिससम्म पुर्याउन सहयोग गरे । हेलिनिक युगमा युरोपमा जुन ज्योतिषशास्त्रको विकास भयो, त्यही नै भारतवर्षको ज्योतिषशास्त्रको जग बन्न पुग्यो । भारतमा हुमायुँले ज्योतिषशास्त्रलाई दिएको महत्व युरोपका कैयौँ साम्राज्यले पनि दिए । ग्यालिलियो, जसलाई हामी प्रख्यात वैज्ञानिक तथा खगोलशास्त्रीको रूपमा चिन्छौँ, तिनी आफ्नो समयका ज्योतिषशास्त्री पनि थिए । उनले पैसा कमाउनका निम्ति परिवार, इष्टमित्र तथा समाजका ठूलाबडाको ज्योतिषी बनेको प्रमाण नै भेटिन्छ । त्यस समयमा खगोलशास्त्र र ज्योतिषशास्त्र सँगसँगै विकास भएका थिए । कतिपटक त ज्योतिषशास्त्रलाई परिष्कृत बनाउन खगोलशास्त्रको अध्ययन हुन्थ्यो ।
हेलिनिक युगमा युरोपमा जुन ज्योतिषशास्त्रको विकास भयो, त्यही नै भारतवर्षको ज्योतिषशास्त्रको जग बन्न पुग्यो । भारतमा हुमायुँले ज्योतिषशास्त्रलाई दिएको महत्व युरोपका कैयौँ साम्राज्यले पनि दिए ।
अब चर्चा गरौँ भारतवर्ष तथा नेपालको ज्योतिषशास्त्रको, जसलाई हिन्दू ज्योतिषशास्त्र पनि भनिन्छ । यस पद्धतिको सुरुवात वैदिक युगमा भएको र माथि भनेजस्तै हेलिनिस्टिक युगमा पश्चिमी समाजबाट प्रभाव पर्न गएको मानिन्छ । कुनै पनि व्यक्तिको ग्रहदशा वर्णन गर्ने कार्य अत्यन्त जटिल गणितीय प्रक्रिया हो, जुन एकदम विज्ञ ज्योतिषीले मात्र गर्न सक्छ । राम्रोसँग ज्योतिष हेर्नलाई उच्चशिक्षा नै हासिल गरेको व्यक्ति चाहिन्छ भन्दा अत्युक्ति नहोला । कसैको व्यक्तिगत ग्रहदशा हेर्ने कार्य जन्मकुण्डली निर्माणबाट सुरु हुन्छ । जन्मेको मिति र समय थाहा भएपछि राशि र नक्षत्र ठहर्याउन सकिन्छ । हिसाब गरेर लग्न कुन राशिमा पर्छ, पत्ता लगाउनुपर्छ । तदनुरूप जन्मकुण्डलीका १२ कोठा भर्नुपर्छ । फेरि हिसाब गरेर पाँच ग्रहहरू तथा हिन्दू पद्धतिमा थप राहु र केतु कहाँ पर्छन्, भर्नुपर्छ । यिनै बाह्र कोठामा चन्द्र र सूर्य कुन कोठामा पर्छन्, हिसाब गरेर भर्नुपर्छ । यसरी निर्माण गरेको कुण्डलीबाट विभिन्न समयका फल, दोष, दशा इत्यादि कुरा हेर्न मिल्छ ।
जन्मेदेखि मृत्युसम्मका विभिन्न क्रियाकलापमा ज्योतिषशास्त्र उपयोगी हुन्छ । जन्मेको एघार दिनमा नामकरण गर्नुपर्यो, राशिले जनाएका शब्दबाट सुरु गरेर नाम राखिन्छ । केटा मान्छेको भए व्रतबन्ध गर्नुपर्यो । तिथिमिति ज्योतिषशास्त्रअनुसार नै जुराइन्छ । फेरि योग्य वर–वधू खोज्नुपर्यो, मिल्छ कि मिल्दैन, चिना जुराउनुपर्छ । दुवैजनाको गण ठहर्याएर मिल्छ/मिल्दैन हेर्नुपर्छ । फेरि नाडी लागे/नलागेको पनि हेर्नुपर्यो । दसैँमा टीका लगाउनुपर्यो, साइत पनि ज्योतिषशास्त्रबाटै हेर्ने गरिन्छ । कहीँ प्रस्थान गर्नुपरे चन्द्रमा दाहिने पारेरै प्रस्थान गर्दा शुभ हुन्छ । यसरी पूर्वीय दर्शनमा ज्योतिषशास्त्रको अनुसरण हामीले हाम्रा हरेक क्रियाकलापमा गर्न सक्छौँ । ज्योतिष हेर्न सजिलो होस् भनेर हरेक वर्ष तोयानाथको पात्रो नेपालीमा निकाल्ने गरिन्छ । यति मात्र नभएर कुण्डली बनाउन, ग्रहदशा हेर्ने वेबसाइटहरू छ्यापछ्याप्ती अनलाइनमा भेटिन्छन् ।
हिन्दू ज्योतिषशास्त्र राम्ररी बुझ्न हिन्दू र पश्चिमा ज्योतिषशास्त्रका भिन्नता बुझ्दा पनि हुन्छ । यी दुई पद्धतिमा राशिको निर्माण फरक तरिकाले भएको हुन्छ । हिन्दू पद्धतिमा आकाशलाई तारामण्डलको अवस्थितिबाट विभिन्न भागमा विभाजित गरेर ग्रहहरूको स्थिति हेरिन्छ र सोअनुसार राशिको निर्माण गरिन्छ । राशिको निर्माणमा पश्चिमा पद्धतिमा तारामण्डलको अवस्थिति नभएर सूर्यको अवस्थिति प्रयोग हुन्छ । ग्रह पनि हिन्दू संस्कृतिमा थपिएर पाँचको सट्टा सात हुन्छन् । हिन्दू पद्धतिमा राहु र केतु थप दुई ग्रहको रूपमा हेरिन्छ । दुवै पद्धतिका विज्ञहरूका अनुसार हिन्दू पद्धतिले पश्चिमा पद्धतिभन्दा बढी ठोस भविष्यवाणी गर्दछ । पश्चिमा पद्धतिमा मनोदशा तथा मनोविज्ञानको प्रक्षेपण गर्ने गरिन्छ, जुन परिवर्तन हुन पनि सक्छ । हिन्दू पद्धतिमा ठोस घटनाहरूको प्रक्षेपण गरिन्छ, जुन हत्तपत्त परिवर्तन हुँदैन । यी पद्धतिहरू सामाजिक प्रणालीका दर्पण हुन सक्छन् । भारतवर्षको सामाजिक प्रणालीमा रूपान्तरण उल्लेख्य रूपमा नहुने कारणले ठोस भविष्यवाणी प्रचलित भएको हुन सक्छ ।
ज्योतिषशास्त्र नपढेका तर भविष्य जान्न चाहनेहरू हिन्दू तथा पश्चिमेली समाजमा ज्योतिषीकोमा धाउँछन् । कुन ज्योतिष विद्याअनुसार प्रक्षेपण गर्छन्, थाहा पाउन कठिन हुन्छ । त्यसैले अधिकांश सर्वसाधारण ज्योतिषीको प्रतिष्ठामा भर पर्छन् । नाम चलेका ज्योतिषी तिनै हुन्छन्, जसका भविष्यवाणी सही निक्लेका हुन्छन् । कतिपय दृष्टान्तमा जुन ज्योतिषीले ग्राहकको मनोभावना बुझेर प्रक्षेपण गर्छन्, तिनै लोकप्रिय हुन्छन् । त्यस्तै, अरू दृष्टान्तमा कोही सिद्ध बाबा कहलिन्छन् ।
हुमायुँजस्तो ज्योतिषशास्त्रलाई जीवनका हरेक पाटोमा लागू गरेर समय र स्रोतको नोक्सान गर्नुको सट्टा आधुनिक तरिकाले ज्योतिषशास्त्रको उपभोग गर्नु श्रेयष्कर रहला
विज्ञानले भने ज्योतिषशास्त्रलाई कृत्रिम विज्ञानमा वर्गीकरण गरेको छ । कृत्रिम विज्ञानमा विज्ञानका कति गुणहरू हुन्छन्, तर अन्तिममा प्रमाणमा आधारित भने हुन्नन् । कृत्रिम विज्ञानमा ज्योतिषशास्त्रबाहेक होमियोप्याथी, एलकेमी, पृथ्वीको तापमान वृद्धिको अस्वीकार आदि पर्छन् । प्राचीन कालमा सूर्य, चन्द्र, ग्रह र ताराहरूको बारेमा खासै वैज्ञानिक तथ्य थाहा नहुँदा यिनीहरूको अवस्थितिले मानवको भविष्यमा असर गर्छ कि भन्न सकिन्थ्यो । तर, विज्ञानले यी आकाशीय पिण्डहरूका धेरै तथ्य उजागर गरिसकेको छ । यस अवस्थामा पनि आकाश हेरेर भविष्यवाणी गर्छु भन्नु मूर्खतासरह हुन्छ । बरु मानिसको स्वभाव प्रक्षेपण गर्नका लागि मान्छेको डिएनए हेर्नु, घरपरिवारको वातावरण हेर्नु अनि दिमागको अनुसन्धान गर्नु प्रभावकारी र वैज्ञानिक ठहर्छ ।
यति हुँदाहुँदै पनि मानिसहरू किन ज्योतिषशास्त्रमा अझै यत्तिको विश्वास गर्छन् त ? मनोविज्ञानमा पुष्टीकरण पूर्वाग्रह भन्ने अवधारणा छ, जसले यो लोकप्रियतालाई बुझाउन सहयोग गर्छ । पुष्टीकरण पूर्वाग्रहअनुसार मानिसलाई जे कुरामा पहिलेदेखि विश्वास छ, प्रमाण पनि त्यही विश्वास पुष्टि हुने गरी भेट्छ । कसैले ज्योतिषशास्त्रमा विश्वास गर्छ भने प्रमाण पनि ज्योतिषशास्त्रले भविष्यवाणी मिलाएको मात्र भेट्छ । अर्को शब्दमा भन्नुपर्दा पुष्टीकरण पूर्वाग्रह भएको मान्छेले ज्योतिषले मिलाएका कुराहरू मात्र सम्झन्छ र नमिलाएका कुराहरू बिर्सन्छ ।
ज्योतिषशास्त्रको प्रक्षेपण मिल्छ कि मिल्दैन भनेर हेर्न बृहत्तर वैज्ञानिक परीक्षण गरेर आजभन्दा ३५ वर्ष पहिला एउटा शोधपत्र ‘नेचर’ जर्नलमा प्रकाशित गरिएको थियो । सो परीक्षणमा जन्मकुण्डलीको आधारमा ज्योतिषशास्त्रले व्यक्तित्व मिलाउन सक्छ कि सक्दैन भनेर जाँच गरिएको थियो । यो परीक्षणभन्दा पहिले वैज्ञानिकले भनेको ज्योतिषीलाई चित्त नबुझ्ने ज्योतिषीले भनेको वैज्ञानिकलाई चित्त नबुझ्ने भइरहन्थ्यो । यो परीक्षण भने वैज्ञानिक र ज्योतिषी दुवैथरीलाई चित्त बुझाएर गरिएको थियो । भाग लिने व्यक्तिको जन्मकुण्डली बनाइयो अनि व्यक्ति स्वयंलाई आफ्नो व्यक्तित्व कस्तो छ भनेर भर्न लगाइयो । तत्पश्चात ज्योतिषीलाई जन्मकुण्डली मात्र दिएर यो जन्मकुण्डलीले कस्तो व्यक्तित्व जनाउँछ, भर्न लगाइयो । तथ्यांक गणित लगाएर ज्योतिषीले प्रक्षेपण गरेको व्यक्तित्व जथाभावी छानिएको व्यक्तित्वभन्दा बढी मिले/नमिलेको हेरियो । यो अनुसन्धानबाट ज्योतिषी प्रक्षेपित व्यक्तित्व जथाभावी व्यक्तित्वभन्दा फरक देखिएन । यसको अर्थ पश्चिमा ज्योतिषशास्त्रले सही व्यक्तित्व प्रक्षेपण गर्न सक्दैन रहेछ भन्ने हुन्छ ।
ज्योतिषीबाहेक भविष्यवाणी गर्ने अन्य प्रक्रियाहरू पनि छन् । अचेल ओझेलमा परेको हस्तरेखा भविष्यवाणी विज्ञान पनि छ । हातका रेखा अथवा आफ्नो भविष्य मेटाउन सकिन्न भन्ने जनप्रचलित भनाइ पनि छ । यदाकदा सुगाले चिठ्ठी छानेर भविष्यवाणी गरेको पनि भेटिन्छ । केही वर्षअगाडि अक्टोपस पलले कैयौँपटक फुटबलको विश्वकपको सही विजेता छानेको दृष्टान्त पनि हाम्रो अगाडि छ । यी सबै उदाहरणले मानिसलाई भविष्य जान्ने ठूलो इच्छा हुन्छ भन्ने देखाउँछ । यो इच्छा विभिन्न आधुनिक तरिकाले परिपूर्ति गर्न सकिन्छ । पत्रिकामा हरेक दिन एक शब्दको भविष्यवाणी छाप्ने चलन छ । हुमायुँजस्तो ज्योतिषशास्त्रलाई जीवनका हरेक पाटोमा लागू गरेर समय र स्रोतको नोक्सान गर्नुको सट्टा माथि उदाहरण दिइए जस्तो साधारण, आधुनिक तरिकाले ज्योतिषशास्त्रको उपभोग गर्नु श्रेयष्कर रहला ।
(लेखक काठमाडौं विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उपप्राध्यापक हुन्)