महामारीकै बीच उद्योगमा लगानी बढ्यो, पहिलो त्रैमासमा ६२ अर्ब ३७ करोड लगानी प्रतिबद्धता

अघिल्लो वर्षको भन्दा १२ अर्ब रुपैयाँ बढी लगानीका उद्योग दर्ता, विदेशी लगानी प्रतिबद्धता ३८ प्रतिशतले बढ्यो

सोमबार, ३ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना महामारीकै बीच नेपालको उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता बढेको देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कुल ६२ अर्ब ३७ करोड रुपैयाँ लगानीका उद्योग दर्ता भएका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १२ अर्ब रुपैयाँले बढी हो । गत वर्षको पहिलो त्रैमासमा ५० अर्ब ३१ करोड रुपैयाँबराबर लगानीका उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार असोज मसान्तसम्ममा कुल ५९ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमा १३ वटा ठूला, ११ वटा मझौला र ३५ वटा साना उद्योग रहेका छन् । दर्ता भएका उद्योगले ३ हजार ६ सयजनालाई रोजगारी दिने प्रतिबद्धता गरेका छन् । 

महामारीकै बीच नेपालमा उद्योगमा आउने लगानी बढेको देखिएको विभागका महानिर्देशक जीवलाल भुसालले बताए । जलविद्युत्, होटेल, रेस्टुरा, कार्गो, सफ्टवेयरलगायतका क्षेत्रमा उद्योग दर्ता भएको उनले जानकारी दिए । ‘यस्तो महामारीकै बीच पनि उद्योगमा आउने लगानी बढेको छ, यसलाई उत्साहप्रद रूपमा लिनुपर्छ,’ उनले भने, ‘महामारी नआएको भए योभन्दा धेरैले लगानी बढ्ने थियो ।’

उद्योग दर्ताको संख्या भने घट्यो
मूल्यमा लगानी बढे पनि उद्योग दर्ताको संख्या भने केही कम देखिएको छ । गत आवको तुलनामा यस वर्षको पहिलो त्रैमासमा २२ वटा कम उद्योग दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ८१ वटा उद्योग दर्ता भएका थिए । ती उद्योगको कुल लगानी ५० अर्ब ३१ करोड रुपैयाँ रहेको थियो । दर्ता भएका उद्योगले ४ हजार ९ सय ९६ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका थिए । अघिल्लो वर्षमा भने २१ वटा ठूला, ३६ वटा मझौला र २४ वटा साना उद्योग दर्ता भएका थिए ।

८६ वटा विदेशी लगानी स्वीकृत
कोरोना महामारीकै बीच नेपालमा विदेशी लगानीको प्रतिबद्धता सन्तोषप्रद देखिएको छ । असोज मसान्तसम्ममा उद्योग विभागले विदेशी लगानीका ८६ वटा उद्योगलाई लगानीको स्वीकृति दिएको छ । लगानी स्वीकृति भएका विदेशी लगानीका उद्योगमा एउटा ठूलो, एउटा मझौला र ८६ वटा साना रहेका छन् । 
असोजसम्ममा विभागमा १९ अर्ब १० करोड ५ लाख रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा झन्डै ३८ प्रतिशतले बढी हो । गत आवको असोज मसान्तसम्ममा उद्योग विभागमार्फत १३ अर्ब ८८ करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको थियो । महामारीकै बीच नेपालमा विदेशी लगानीको प्रतिबद्धता उत्साहप्रद देखिएको विभागका महानिर्देशक भुसालले बताए । असोजसम्ममा ब्रिटिस, भर्जिनिया, आइसल्यान्ड, चीन, भारत, मेक्सीको र बेलायतबाट विदेशी लगानीको प्रतिबद्धता आएको छ । त्यसमध्ये सबैभन्दा बढी चिनियाँ लगानी रहेको छ । कुल लगानी प्रतिबद्धतामध्ये ८५ प्रतिशत हिस्सा चिनियाँ लगानीकर्ताको रहेको देखिन्छ ।

सुझावित समाचार