दरबारमार्गमा आएन दसैँ

सोमबार, ३ कार्तिक, २०७७
डिजिटल संस्करण

यदि सामान्य समय हुँदो हो त यतिवेला दरबारमार्गको ब्रान्डेड फेसन पसलहरू ग्राहकले भरिभराउ हुन्थे । बार्गेनिङ गरिरहेका ग्राहकहरूको चित्त बुझाएर आफ्नो सामान बिक्री गर्न पसलेलाई भ्याइनभ्याई हुन्थ्यो । मासिक लाखौँ रुपैयाँ भाडा तिरेर पसल राखेका व्यवसायीले दैनिक लाखौँमा व्यापार गर्थे । तर, यसपटक कोभिड महामारीका कारण परिस्थिति फरक बनेको छ । नवरात्र सुरु भइसक्दा पनि दरबारमार्गका ब्रान्डेड पसलहरू सुनसान देखिन्छन् । सिजनकै वेलामा पनि पसलेहरू फुर्सदिला बनेका छन् । उनीहरू ग्राहक आउने आशामा कुरेर बसिरहेको देखिन्छ । 

विश्वका चर्चित फेसन ब्रान्डहरूको आधिकारिक विक्रेता कम्पनी लेबल्स स्टोर प्रालिका सञ्चालक सञ्जीव तुलाधर भन्छन्, ‘अघिल्ला वर्षहरूको दसैँका तुलनामा यस वर्ष ३० प्रतिशत पनि व्यापार छैन ।’ कोभिड संक्रमणको डरले उपभोक्ता दसैँ मुखैमा आइपुग्दा पनि पसलमा छिर्न डराइरहेको उनको अनुमान छ । अघिल्ला वर्षहरूमा राति ९/१० बजेसम्म पसलहरू खुलेका हुन्थे ।

दरबारमार्गका होटेल तथा रेस्टुरेन्टहरू पनि रातिसम्म खुल्थे । मान्छेहरू खानपिनसँगै किनमेलका लागि दरबारमार्ग पुगेका हुन्थे । त्यसमाथि ब्रान्डेड फेसनका लागि दरबारमार्ग नपुगी सुखै छन् । त्यसैले पनि नेपालमा एलिट वर्गको निर्विकल्प किनमेल गर्ने थलो बन्दै आइरहेको छ दरबारमार्ग । तर, अहिले ६ नबज्दै दरबारमार्ग सुनसान हुन थालेको उनी बताउँछन् ।

दरबारमार्गका ब्रान्डेड पसलहरूले ग्राहक तान्न सेल मेला लगाएका छन् । विभिन्न ब्रान्डका पसलमा ५० प्रतिशतसम्म डिस्काउन्ट दिने स्किम टाँसेर राखिएको छ । कतिले एउटा किन्दा अर्को सित्तैमा उपलब्ध गराउने अफर ल्याएका छन् । विगतका वर्षमा सेल लगाएको पसलमा उपभोक्ताको भिडभाड लाग्थ्यो । तर, अहिले जतिसुकै आकर्षक अफर ल्याए पनि उपभोक्ता पसल छिरेका छैनन् ।

कोभिड महामारीकै कारण दरबारमार्गका पाँचतारे होटेल अन्नपूर्ण बन्द अवस्थामा छ । पर्यटकीय सिजन भए पनि पर्यटक भित्रिन पाइरहेका छैनन् । स्वदेशी ग्राहक पनि पसल छिर्न डराएपछि दरबारमार्गका व्यापार सुस्ताएको आरपी ग्रुपका प्रबन्ध निर्देशक रूपेश पाण्डे बताउँछन् । यो ग्रुपले पनि डेढ दर्जन हाराहारी विदेशी ब्रान्डेड फेसनहरू बिक्री गर्दै आइरहेको छ ।

पाण्डे भन्छन्, ‘गत वर्षको दसैँमा दैनिक १० लाखभन्दा बढीको कारोबार हुन्थ्यो भने अहिले दिनको ४० हजार पुनि पुग्दैन ।’ उनका दरबारमार्गसहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा दुई दर्जन हाराहारी आउटलेट छन् । करिब १० वटा आउटलेट कोभिडकै कारण बन्द छन् । आरपी ग्रुपले चर्चित ब्रान्डहरू, लुई फिलिप, डामिलानो इटालिया, रोसो ब्रुनेलिओ, इन्डियन टेरियन, डब्ल्यु ओरेलिया, सेलिआ, ओरेलियालगायत चर्चित ब्रान्डहरू आयात तथा बिक्री गर्दै आइरहेको छ ।

विगत वर्षका दसैँमा भिडभाड हुने दरबारमार्गका ब्रान्डेड पसलहरूले यसपटक २० देखि ७० प्रतिशतसम्म डिस्काउन्ट अफर ल्याउँदा पनि ग्राहक पाएनन्, मध्यरातसम्म जागा रहने दरबारमार्ग अहिले साँझ ६ नबज्दै सुनसान

यस्तै, लेबल्स स्टोरले विश्वका चर्चित फेसन ब्रान्डहरू एडिडास, नाइक, लिभाइज, पुमान, रिबक, ५.११ लगायतका फेसन बिक्री गर्दै आइरहेको छ ।
मान्छेको उपभोग्य आम्दानी घटेरभन्दा पनि कोभिड संक्रमणको डरले व्यापार घटेको फेसन व्यापारी तुलाधर बताउँछन् । उनले विश्वकै चर्चित चेन ब्रान्ड ‘हार्ड रक क्याफे’ नेपाल भित्र्याउँदै छन् ।

दरबारमार्गकै शेर्पा मलमा हार्ड रकको रेस्टुरेन्ट बनाइरहेका वेलामा कोभिड सुरु भएपछि अहिले काम रोकिएको छ । दरबारमार्ग ब्रान्डको हब भन्दा हुन्छ । यहाँ फेसनका मात्र नभएर अरू थुप्रै ब्रान्डहरू उपलब्ध छन् । तर, कोभिडले सबै ब्रान्डको व्यापार सुस्ताएको छ । दरबारमार्गमा अधिकांश पसलहरू खुले पनि किन्ने ग्राहक छैनन् । यो वर्ष फुटफल नै कम देखिन्छ । ‘कोभिडले गर्दा नयाँ समान पनि आउन सकेको छैन,’ पाण्डेले भने, ‘अघिल्ला वर्षको दसैँको मुखमा चहलपहल नै अर्कै हुन्थ्यो, यो वर्ष त्रास बढी भयो ।’ कोभिडले गर्दा नयाँ सामान ल्याउन नसकेको तुलाधर पनि बताउँछन् । 
०००
दरबारमार्गमा विश्वका चर्चित ब्रान्डका कपडा, चस्मा, घडी, जुत्ता–चप्पल, कस्मेटिक्स, मोबाइल, इलेक्ट्रोनिक्स, ब्याग, साइकललगायत सबै पाइन्छन् । टाइटन घडी खरिद गर्दा २० प्रतिशत छुट दिइएको छ । विदेशी ब्रान्डेड मदिरा पाइने ग्रिनलाइन सेन्टरमा अफरले पनि ग्राहक तान्न सकेको छैन । विगतका दसैँअगाडि गिफ्ट दिनकै लागि भए पनि ठूलो परिमाणमा महँगो मदिरा बिक्री हुँदै आएको थियो ।

यो दसैँमा कोभिडले गर्दा मदिरा गिफ्ट दिने अवस्था नरहेपछि बिक्री पनि घटेको एक कर्मचारीले बताए । लेबल्स स्टोरले एडिडास, लिभाइज, पुमा, रिबक, ५.११ लगायत ब्रान्डमा दसैँका लागि आकर्षक सेल अफर ल्याएको छ । तैपनि सबै आउटलेट खाली देखिन्छन् । कम्पनीले ब्रान्ड हेरिकन १० देखि ३० प्रतिशतसम्म छुटसहितको सेल अफर ल्याएको प्रबन्ध निर्देशक तुलाधर बताउँछन् । यस्तै, एडिडास र रिबोक जुत्तामा पनि १० प्रतिशत र २० प्रतिशत छुट पाइनेछ । एडिडास र रिबोकका ६/७ हजारदेखि १५/१६ हजार रुपैयाँसम्मका जुत्ता बिक्रीमा छन् ।

दरबारमार्गमा विश्वका चर्चित ब्रान्डका कपडा, चस्मा, घडी, जुत्ता–चप्पल, कस्मेटिक्स, मोबाइल, इलेक्ट्रोनिक्स, ब्याग, साइकललगायत सबै पाइन्छन् । टाइटन घडी खरिद गर्दा २० प्रतिशत छुट दिइएको छ । विदेशी ब्रान्डेड मदिरा पाइने ग्रिनलाइन सेन्टरमा अफरले पनि ग्राहक तान्न सकेको छैन ।

बोसिनी फेसन ब्रान्डले दसैँमा ५० प्रतिशतसम्म छुट दिने अफर ल्याएको छ । एक तला चढेर बोसिनीको आउटलेटमा पुग्दा ग्राहक छिटपुट मात्र देखिए । कम्पनीका एक कर्मचारीले भनिन्, ‘गत वर्षको तुलनामा यस वर्ष बिक्री नगन्य छ ।’ स्केचर्स ब्रान्डले न्यू अराइभलको २५ प्रतिशतसम्म र पुरानो सामग्रीमा ४० प्रतिशतसम्म छुट दिएको छ । स्केचर्सका सात हजारदेखि १० हजारसम्मका जुत्ता बिक्रीमा छन् । हालै सञ्चालनमा आएको स्निकर्सले जुत्तामा सेल अफर ल्याएको छ ।
०००
बहुराष्ट्रिय रेस्टुरेन्ट केएफसीले पनि दसैँ–तिहार अफर ल्याएको छ । एम्परसेन्डले जुत्ता–चप्पल र कपडा खरिद गर्दा अर्को आइटम सित्तैमा दिने अफर राखेको देखिन्छ । बिङ ह्युमन ब्रान्डले ५० प्रतिशतसम्मको छुट अफर ल्याएको छ । डामिलानो इटालिया र रोसो ब्रुनेलिओ ब्रान्डका उत्पादन खरिद गर्दा पनि ५० प्रतिशतसम्म छुट पाइनेछ । सिटिवाकले ५० प्रतिशतसम्म छुट दिने सेल अफर ल्याएको छ । अन्ताले दसैँ–तिहार अफरअन्तर्गत एउटा किन्दा अर्को सित्तैमा दिने भएको छ । यस्तै, ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । युएस पोलो र नाइकले पनि सेल अफर ल्याएका छन् । 

कोभिडले गर्दा सेल अफरले पनि ग्राहक तान्न नसकेको लेबल्स स्टोरका सञ्चालक तुलाधरले बताए । लाखौँ रुपैयाँ भाडा तिरेर व्यापार गरिरहेका दरबारमार्गका व्यापारी कोभिडसँगै समस्यामा परेका छन् । मोटो रकम लगानी भइसकेको हुँदा तत्काल सटर बन्द गरेर बस्न पनि सम्भव छैन । मध्यरातसम्म जागा रहने दरबारमार्ग अहिले ६ बजे नै सुनसान बन्न थालेको छ । रेस्टुरेन्टमा पनि ग्राहक देखिँदैनन् । कर्मचारीमा कोभिड पोजिटिभ देखिएपछि जावलाखेल र चाबहिलको आउटलेट बन्द गरेको आरपी ग्रुपका प्रबन्ध निर्देशक पाण्डे बताउँछन् । 

ओपनिङको तयारीमा रहेको दरबार मल पनि कोभिडको चपेटामा परेको छ । दरबार मलभित्र ग्राहक छिर्न डराएपछि सुनसान देखिन्छ । केही पसलमा एकाध ग्राहक देखिए पनि अधिकांश पसलमा कर्मचारी मात्र देखिन्छन् । कोभिड मत्थर नहुँदासम्म दरबारमार्ग लयमा फर्किन नसक्ने तुलाधर बताउँछन् । दरबारमार्गबाट नजिकै रहेको न्युरोड, असन, इन्द्रचोकमा कोभिडको कहरबीच पनि भिडभाड छिचोल्दै हिँड्नुपर्ने अवस्था छ । तर, एलिट वर्गको जक्सन हुने दरबारमार्ग अझै सुनसान छ । 

सुझावित समाचार