नवरात्रमा पनि सुनसान नै छन् शक्तिपीठ

आइतबार, २ कार्तिक, २०७७
डिजिटल संस्करण
नवरात्रमा पनि सुनसान नै छन् शक्तिपीठ

भद्रकाली मन्दिर

कोरोना संक्रमण फैलिने डरले दसैँका वेला पनि काठमाडौंका प्रमुख शक्तिपीठमा देखिएन चहलपहल

- नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी तथा नवौँ दिन सिद्धदात्रीको पूजा आराधना गर्ने गरिन्छ । दुर्गाको यही नौ रूपलाई नवदुर्गा भन्ने गरिन्छ ।

जमरा राखेपछि विधिवत् रूपमा दसैँ आरम्भ भएको मानिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दसैँको तामझाम नै रहन्छ । दसैँको पहिलो नौ दिनलाई नवरात्र भनिन्छ । यो नवरात्रको प्रत्येक दिन दुर्गाको रूपअनुसार विभिन्न शक्तिपीठमा पूजाआजा गर्न जाने चलन छ । तर, यसपटक कोरोना भाइरसका कारण विगत वर्षकोजस्तो चहलपहल छैन । घटस्थापनाको दिन विभिन्न शक्तिपीठमा विगत वर्षमा खुट्टा टेक्ने ठाउँ हुँदैन थियो । घन्टौँ लाइन बसेपछि मात्र पालो आउँथ्यो । तर, शनिबार काठमाडौं उपत्यकाका प्रमुख शक्तिपीठमध्ये कुनै पूर्णरूपले बन्द त र कुनै आंशिक खुला देखिए ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी तथा नवौँ दिन सिद्धदात्रीको पूजा आराधना गर्ने गरिन्छ । दुर्गाको यही नौ रूपलाई नवदुर्गा भन्ने गरिन्छ । 
                                                                               

                                                                       ०००

भद्रकाली मन्दिरमा बिहानैदेखि भिड थियो । शनिबार त्यसमा पनि घटस्थापनाको दिन पूजाआजा गर्ने अवसर पाउँदा भक्तजन दंग देखिन्थे । दर्शनार्थीले भौतिक दूरी कायम नराखे पनि मास्क लगाएको, वेलावेलामा स्यानिटाइज गरेको देखिन्थ्यो । दसैँका वेला भद्रकाली मन्दिरमा धेरै भिडभाड नगराउने लुँमधि भद्रकाली, द्यःपाला, लु्ँमधि भद्रकाली गुठी संरक्षण समिति तथा सुरक्षा समितिको निर्णय छ । 

निर्णयअनुसार एकपटकमा १५ जनासम्म भक्तजनलाई मन्दिरभित्र प्रवेश दिइएको पुजारी विजय पुजारी बताउँछन् । ‘कोभिडको महामारीबाट सबै सुरक्षित रहन एकपटकमा १५ जना मात्र भित्र प्रवेश दिइएको छ,’ विजयले भने, ‘सबै समितिका स्वयंसेवक यस कार्यमा खटिएका छन् ।’ पुजारी विजयका अनुसार दसैँमा हुने नियमित पूजा रोकिने छैन । 

काठमाडौंको प्रमुख शक्तिपीठ मैतीदेवी भने पूर्ण रूपले बन्द छ । दसैँको समयमा मैतीदेवी खुला गर्ने छलफल भएको थियो । पुजारी तथा भक्तजनको सुरक्षार्थ नै मैतीदेवी मन्दिर यसपटक बन्द रहेको भद्रकालीका पुजारी विजय बताउँछन् । ‘सुरक्षा हिसाबले मैतीदेवी मन्दिर पनि बन्द छ,’ केही महिनापछि मैतीदेवी मन्दिरमा पालो लिन जाने तयारी गरेका विजयले भने । मैतीदेवी मन्दिरमा भक्तजन प्रवेश निषेध लेखिएको छ । अधिकांश भक्तजन शनिबार मन्दिरबाहिरै पूजा गरी फर्किए । 

दसैँ तथा शनिबारको दिन विशेष भिड हुने शक्तिपीठमध्ये एक संकटा मन्दिर हो । तर, शनिबार मन्दिर खुलेन । शुक्रबारसम्म संकटा मन्दिर खुला गर्ने कि भन्ने संकटा संरक्षण तथा व्यवस्थापन समितिका पदाधिकारीबीच छलफल भएको थियो । सबैलाई सुरक्षित राख्न संकटा मन्दिर लकडाउनमा जस्तै बन्द नै गर्ने निर्णय भएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर बताउँछन् । ‘मन्दिर खुलाउने कि भन्ने कुरा थियो, अब बन्द नै गर्ने निर्णय भएको छ,’ तुलाधर भन्छन्, ‘यसपालि भक्तजनले मन्दिरमा दर्शन गर्न पाउनु हुनेछैन ।’

संकटा मन्दिरमा गत ४ चैतदेखि नै भक्तजनलाई प्रवेशमा रोक लगाइएको थियो । लगभग आठ महिना मन्दिरमा नित्यपूजा गर्ने गुरुजुबाहेक अन्यलाई प्रवेश दिइएको छैन । शनिबार बिहान संकटा पुगेका भक्तजन त्यहाँ राखिएको भगवानको पाउलाई प्रतीक मानी पूजाअर्चना गरी फर्किएका थिए । ‘यसपालि मन्दिरमा पूजा गर्न आउने भक्तजनको संख्या थोरै भयो,’ पूजा सामग्री व्यापारी नरेश श्रेष्ठ भन्छन्, ‘गत वर्ष आजको दिनमै हामीले दश हजारभन्दा माथि कमाइ गरेका थियौँ ।’ 
                                                                             

                                                                                ०००

बडादसैँको पहिलो दिन केही शक्तिपीठमा भने श्रद्धालु भक्तजनको भिड नै देखियो । काठमाडौंको कंग अजिमा (कंकेश्वरी) तथा इन्द्रायणी शक्तिपीठमा भक्तजनहरूले खुला रूपमा दर्शन गर्न पाए । इन्द्रायणी तथा कंगा अजिमा लकडाउनदेखि नै खुला छन् । लामा बसेर देवी दर्शन गर्न पाउने भएकाले नै यहाँका भक्तजन हर्षित देखिए । ‘पहिलेदेखि नै खुला नै राख्यौँ,’ कंगा अजिमाका मोतीमान महर्जनले भने, ‘यद्यपि जोखिम नभएको होइन, भक्तजनले पनि यसलाई बुझ्नुपर्छ ।’ इन्द्रायणीका रमेश डंगोलले भक्तजनलाई सुरक्षित रूपमै दर्शन गर्न दिएको बताए । ‘हामीले एकदम सुरक्षित रूपले भित्र प्रवेश गर्न दिएका छौँ, मास्क नलगाएकालाई भित्र प्रवेश गर्न दिएका छैनौँ,’ डंगोलले भने । 

इन्द्रायणीबाट डेढ सय मिटर टाढा रहेको शोभाभगवतीमा सुरक्षा सतर्कता अपनाइएको देखिन्छ । शोभा भगवती मन्दिर पनि खुलै छ । दर्शन गर्न आउने भक्तजनलाई मूर्ति छोएर पूजा गर्न दिइएको छैन । दर्शन गर्न नचाहने भक्तजनको पूजा सामग्री मुख्य गेटबाहिर नै स्वयंसेवकले लिने गर्छन् । भित्र प्रवेश गरी अलि नजिकबाट दर्शन गर्ने त्यस्ता भक्तजनले सुरुमा साबुनपानीले हात धुने र त्यसपछि स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

‘लकडाउनका वेला हामीले कसैलाई पनि प्रवेश गराएनौँ, दसैँको वेला भक्तजनलाई दुई किसिमले व्यवस्था गरिएको छ, बाँसको बार राखेको स्थानबाट दर्शन गर्न सकिन्छ, भित्र आउँदा भने उसले पहिला साबुनपानीले हात धुने र स्यानिटाइज गरेपछि मात्र नजिकबाट दर्शन गर्न पाउँछ, यद्यपि देवता छुन प्रतिबन्ध नै छ,’ शोभाभगवती मन्दिरका पुजारी ज्ञानी बज्राचार्यले भने, ‘हामीले भक्तजनलाई बाहिर नै अनिवार्य रूपमा मास्क लगाउने र भौतिक दूरी कायम गर्न भनेका छौँ ।’ धेरै भिड भए मन्दिरका सबै ढोका बन्द गर्ने पुजारी बज्राचार्य बताउँछन् । 

शक्तिपीठमध्ये अर्को चर्चित मन्दिर हो, नरदेवी । लकडाउनदेखि नै मन्दिरभित्र प्रवेश गर्न निषेध गरिएको छ । दसैँका वेला मन्दिर खुल्ने विश्वास धेरैले गरेका थिए । विशेषतः घटस्थापनादेखि दशमीसम्म यो मन्दिरमा पूजाआजा गर्न आउनेको ठूलै लाइन हुने गर्छ । यसपटक मन्दिरको व्यवस्थापनले बाहिरबाटै दर्शन गर्न व्यवस्था मिलाएको छ । मुख्य ढोकामा चाँदीको बारबाट मात्र भक्तजनले दर्शन गर्न पाउँछन् । ‘बार लगाएको स्थानबाट मात्र पूजा वा दर्शन गर्न मिल्छ,’ नरदेवी मन्दिरका पुजारी देवकृष्ण महर्जनले भने, ‘दसैँका वेला भक्तजन निराश नहुन् भनी हामीले बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेम्म दर्शनको व्यवस्था मिलाएका छौँ ।’ 

दसैँको अवसरमा काठमाडौं उपत्यकाका तीनवटै तलेजु मन्दिरमा विशेष पूजाअर्चना हुने गर्छ । कोभिडका कारण यसपटक काठमाडौं, ललितपुर र भक्तपुरका तलेजु भवानी मन्दिरमा सामान्य नित्यपूजा मात्र हुने भएको छ । ललितपुर महानगरपालिकाले विज्ञप्ति नै जारी गरी सहरमा दसैँताका हुने सबै जात्रा, उत्सव र चाड सामान्य रूपमा मनाउन भनिएको छ । 

नेपालका चर्चित शक्तिपीठ

- गुह्वेश्वरी

- तलेजु भवानी  

- दक्षिणकाली भगवती  

- बज्रयोगिनी  

- बंगलामुखी  िनरदेवी  

- नक्साल भगवती  

- कंकेश्वरी

- मैतीदेवी  

- कालिकास्थान  

- संकटा  

- भद्रकाली  

- रक्तकाली  

- वज्रबाराही  

- दन्तकाली  

- जालपादेवी  

- छत्रेश्वरी, गलेश्वरी

- बागेश्वरी  

- त्रिपुरासुन्दरी  

- शिरस्थानदेवी  

- माइपोखरी, त्रिवेणी  

- कन्काइमाई  

- स्वर्गद्वारी  

- छाब्दा बाराही  

- विन्ध्यवासिनी

- पलान्चोक भगवती  

- छिन्ताङ भगवती

-  पाथीभरा देवी  

- छिन्नमस्ता भगवती  

-  टुँडालदेवी 

सुझावित समाचार