ऊर्जा कार्यदलको बैठक : अर्को वर्ष विद्युत् शुल्क घटाउनेबारे छलफल

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

ऊर्जा क्षेत्रको विस्तृत अध्ययन गरी नीतिगत सुझाब पेस गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको पहिलो बैठक बसेको छ । 
गत १९ भदौको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल रहेको चार सदस्यीय कार्यदल गठन गरेको थियो । 

कार्यदललाई जलविद्युत् उत्पादन, प्रसारण र वितरण, प्रसारण लाइन, आन्तरिक र बाह्य बजारको अवस्था, उपभोग तथा खपतको प्रवृत्ति, औद्योगिक विकास र आर्थिक क्रियाकलापको विस्तारले माग गर्ने विद्युतको परिमाण, हाल उपलब्ध विद्युत् र निर्माणाधीन विद्युत् आयोजनाहरूको समेत समग्र अध्ययन विश्लेषण गरी नीतिगत सुझाब पेस गर्ने जिम्मेवारी छ । 

हाल अर्थ मन्त्रालय मन्त्रीविहीन रहेका कारण बाँकी तीन सदस्यको बैठक बसेको हो । 

बैठकले ऊर्जासचिव दिनेशकुमार घिमिरेलाई कार्यदलको सदस्यसचिव तोकेको छ । 

यस्तै, ऊर्जा क्षेत्र हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य, अर्थ, उद्योग, वाणिज्य र आपूर्ति र वन तथा वातावरण मन्त्रालयका सचिवलाई कार्यदलको स्थायी आमन्त्रित सदस्यको जिम्मेवारी दिएको छ । 

ऊर्जा क्षेत्रको सुझाबको मस्यौदा तयार पार्ने जिम्मेवारीसहित बैठकले प्राविधिक समिति गठन गरेको छ । 

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार बसेको कार्यदल बैठकमा अर्थसचिव शिशिरकुमार ढुंगाना, वाणिज्य सचिव वैकुण्ठ अर्याल, ऊर्जासचिव दिनेशकुमार घिमिरे र ऊर्जा मन्त्रालयका सहसचिव प्रवीण अर्याल आमन्त्रित सदस्यका रूपमा उपस्थित थिए । 

आगामी वर्ष विद्युत् शुल्क थप घटाउँछौँ : मन्त्री पुन 
बैठकमा ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने बताए । 

यस वर्ष विद्युत् प्राधिकरणका घरेलु र औद्योगिक ग्राहकको शुल्क घटाइएको स्मरण गर्दै मन्त्री पुनले आगामी वर्ष थप सस्तोमा विद्युत् उपलब्ध गराइने उल्लेख गरे । 

खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत सेयर स्वामित्व सरकारमा आएको र आगामी हिउँदभित्रै ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुने भएकाले सस्तोमा बिजुली दिन सकिने उनले बताए । 

‘खिम्तीमा ५० प्रतिशत सरकारको स्वामित्व कायम भएको छ, प्रतिमेगावाट चार रुपैयाँको हाराहारीमा उत्पादन हुने माथिल्लो तामाकोसीको उत्पादन आगामी हिउँदमै हुने भएकाले आगामी वर्ष फेरि विद्युत् महसुल घटाउँछौँ,’ बैठकमा मन्त्री पुनले भने ।

सुझावित समाचार