पुरानै शैलीले अब पार्टी चल्दैन

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

महामारीको पारो उकालो चढ्दै गर्दा देशको पुरानो पार्टी नेपाली कांग्रेस १४औँ महाधिवेशनको चर्चा–परिचर्चाले तातिएको छ । घोषित तिथिमै महाधिवेशन हुनेमा त विश्वास छैन, तैपनि महाधिवेशनमा कस–कसले कुन–कुन पदमा उमेदवारी देलान्, कसले बाजी मार्ला, अनेकन अनुमान र अड्कलबाजी सुरु भइसकेका छन । मुलुकमा लोकतान्त्रिक आन्दोलनको पर्याय बनेको पार्टीको नेतृत्वमा पुग्ने होडबाजी तीव्र छ । वर्तमान अवस्थामा कांग्रेसको नेतृत्व लिन तम्सेका नेताले जटिल परिस्थितिको सामना गर्न तयार हुनुपर्ने छ ।

पहिलो त पार्टीको आन्तरिक जीवन आज जस्तो हालतमा चलेको छ, त्यसको पूरै चिरफार गरेर पार्टीलाई पुनर्जीवन दिनुपर्ने चुनौती एकातिर छ भने अर्कोतिर नेकपाको झन्डै दुईतिहाइको अहंकारले निम्त्याएको बेथितिको सामना पनि अब आउने नेतृत्वले गर्नुपर्ने छ ।

नेपाली कांग्रेस नाम गरेको यात्रुवाहक बस यतिवेला अप्ठ्यारो मोडमा आइपुगेको छ । बसको टायर आधा सडकमा र आधा भिरमा पुगेको छ भने यसको अघिल्तिरको भाग भिरतिरै सोझिएको छ । चालकले भिरमा पुगेको टायर बाटोमा ल्याएर बसलाई सही गन्तव्यमा पुर्याउनुपर्ने छ । लर्तरो चालकले पार लगाउन नसक्ने अवस्था नदेखिएकैले कुशल चालक चाहिएको छ ।

पार्टीरूपी बसको मुख्य चालक त पार्टी सभापति नै हुन् । सभापतिको सिटमा बसेर स्टेयरिङ समाउन सक्षम छु भनेर युवापुस्ताका गगन थापादेखि शशांक, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, रामचन्द्र पौडेल हुँदै बसलाई भिरउन्मुख बनाउने चालक शेरबहादुर देउवासम्मको दाबी छ । जे–जति नेताले नेतृत्वको दाबी गरे पनि पुरानै शैलीबाट पार्टी गन्तव्यमा पुग्नेवाला छैन ।

कांग्रेसको नेतृत्वमा ठुल्ठूला क्रान्ति, आन्दोलन र परिवर्तन त भए, तर उथलपुथल र परिवर्तनअनुसार कांग्रेसले आफूलाई परिवर्तन गर्न सकेको छैन । संघर्षबाट प्र्राप्त उपलब्धिलाई संस्थागत गर्न पार्टीले आफ्नो आन्तरिक व्यवस्थापन र कार्यशैली बदल्नुपथ्र्यो, तर त्यसो हुन सकेन । कांग्रेसले सही नेतृत्व प्रदान गर्न सकेन र देशमा कथित कम्युनिस्ट हाबी हुन पुगे ।

अब पार्टीको आन्तरिक जीवनमा आमूल परिवर्तन नगरीकन कांग्रेसले देशलाई नेतृत्व दिन सक्दैन भन्ने कुरा छर्लङ्ग छ । आगामी महाधिवेशनमा पार्टीको नेतृत्व लिन्छु भनेर तम्सिएका नेतासँग वैचारिक स्पष्टता र दूरदर्शिता छ कि छैन ? कार्यकर्तालाई सही ढंगले परिचालन र व्यवस्थापन गर्न सक्छन् कि सक्दैनन् ? नेतृत्वमा पुग्ने व्यक्ति नैतिकवान्, चरित्रवान् र लोकतान्त्रिक मूल्यप्रति कटिबद्ध छ कि छैन ?

नेतृत्वमा पुगेपछि व्यक्तिले देशको संविधान र कानुनका साथै पार्टीको विधान, नीति र आदर्शको परिपालन गर्छु भन्ने विश्वास विगतका क्रियाकलापबाट दिलाउन सकेको छ ? पार्टीको नेतृत्व लिन्छु भन्ने मान्छे गुटको नेतामै रमाउने खालको छ कि सामूहिक भावनाअनुरूप चल्ने स्वभावको छ ? आगामी महाधिवेशनमा कांग्रेस कार्यकर्ताले यस्ता प्रश्नको निरूपण गरेर निर्णय दिन सके मात्र कांग्रेसले सही दिशा प्राप्त गर्नेछ ।

गुटभन्दा माथि उठेर पार्टीलाई मिलाई लैजान सक्ने र विचारको प्रवाह गरेर जनतासम्म पुग्न सक्ने नेतृत्वको खाँचो छ । पुरानो पुस्ताको अनुभव तथा नयाँ पुस्ताको ऊर्जालाई समेटेर पार्टीलाई नवजीवन दिन सक्ने नेतृत्व चाहिएको छ । पार्टीभित्रका परम्परागत गुटका आधारमा परम्परागत शैलीमै नेतृत्व हत्याउने र गुटमार्फत नै पार्टी सञ्चालन गर्न खोज्ने नेतृत्व आयो भने पार्टीको अझ अधोगति सुरु हुने निश्चित छ ।

नेकपाको ढुलमुले नीति र रेट्रोफिटिङ गरेको विचारले समाजवादको लक्ष्य हासिल गर्न सक्दैन, त्यसैले नेपालको समाजवादी आन्दोलनलाई अगाडि बढाउने दायित्व नेपाली कांग्रेसको काँधमा छ 

गुटहरूको जोडघटाउ र नेताको टाउको गनेर नेतृत्व हत्याउने प्रवृत्तिबाट अब पार्टीले मुक्ति पाउनु जरुरी छ । यसका लागि पार्टी कार्यकर्ताले क्षणिक लोभ र स्वार्थबाट प्रभावित नभई पार्टीको बृहत् हितलाई शिरोपर गर्नु आवश्यक छ । १४औँ महाधिवेशनले पार्टी कार्यकर्ताको परीक्षा लिँदै छ । यस महत्वपूर्ण परीक्षामा कांग्रेसी कार्यकर्ता कति खरो उत्रन सक्छन्, पार्टी र देशको भविष्य त्यसमै निर्भर रहने देखिन्छ ।

अब कुन जिल्लामा, कुन तहका, कति कार्यकर्ता मेरो गुटमा छन् भनेर हिसाब गर्न नेताहरूले छाड्नुपर्छ । नीति र विचारको खुला बहसमा को कति खरो उत्रन सक्छ, पार्टीको सांगठनिक गतिविधिमा कसको कति र कस्तो सहभागिता रहँदै आएको छ । उसको आचरण, व्यवहार र जीवनपद्धति कति लोकतान्त्रिक छ ? त्यसका आधारमा कार्यकर्ताको मूल्यांकन गरिने परिपाटीको विकास पार्टीमा गरिनुपर्छ । आफ्नो योग्यता, क्षमता र लगनशीलताको आधारमा नभई अर्काको तेजोवध गरेर आफू अगाडि बढ्न खोज्ने प्रवृत्तिले कसैको हित गर्दैन । नेतृत्वले लिएका नीति, निर्णय र कदमको गम्भीर समीक्षा हुनुपर्छ । व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रिने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्छ ।

अबको नेतृत्वका आकांक्षीहरूले म पार्टीलाई यसरी अगाडि बढाउँछु । यति—यति समयमा यी—यी काम गर्छु र यति परिणाम दिन्छु भनेर स्पष्ट कार्ययोजनासहित आउनुपर्ने छ । घर निर्माण गर्नुअघि एउटा इन्जिनियरले जसरी इस्टमेटसहितको नक्सा सार्वजनिक गर्छ, त्यसरी नै अब आउने नेतृत्वले आफ्नो स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने छ र आफूले प्रस्तुत गरेको मार्गचित्रअनुसारको परिणाम दिन नसके नेतृत्वबाट बाहिरिनेछु भन्ने प्रतिबद्धतासमेत जाहेर गर्नुपर्ने छ ।

नेकपाको ढुलमुले नीति र रेट्रोफिटिङ गरेको विचारले समाजवादको लक्ष्य हासिल गर्न सक्दैन । त्यसैले नेपालको समाजवादी आन्दोलनलाई अगाडि बढाउने दायित्व नेपाली कांग्रेसको काँधमा छ ।

नेपालका गरिब, उत्पीडित र पछाडि पारिएका वर्ग, जाति, लिंग र क्षेत्रका मानिसलाई साथमा लिएर देशलाई समृद्धिको मार्गतर्फ अगाडि बढाउनु छ । यसका लागि योग्य, इमानदार र दूरदर्शी नेतृत्व कांग्रेसलाई चाहिएको छ । जनतासँग प्रत्यक्ष संवाद गर्न सक्ने कुशल नेतृत्वले मात्र कांग्रेसलाई सफल बनाउन सक्छ । १४औँ महाधिवेशनबाट नेपाली कांग्रेसलाई कुशल नेतृत्व मिल्नेछ भन्ने अपेक्षा नेपाली जनताले गरिरहेका छन् ।
 

सुझावित समाचार