हिल्सा नाकाबाट चीनसँग व्यापारिक कारोबार गरेर आवश्यक खाद्यान्न र उपभोगका सामान बन्दोबस्त गर्ने हुम्ला जिल्लाको लिमीका बासिन्दा यतिवेला भोकमरीमा परिने डरले आतंकित छन् । लामो समयदेखि हिल्साको व्यापारिक नाका चिनियाँ पक्षले कोरोनाको डर देखाउँदै बन्द गरेपछि दुई देशबीच आयात–निर्यात ठप्प भएको छ ।
तिब्बततिर काम गरेर जीविका गर्न पाउने अवस्था पनि छैन । गाउँमा अन्नको अभावमा भोकमरी आउला भन्ने भय उत्पन्न भएपछि स्थानीय बासिन्दाको प्रतिनिधित्व गर्दै वडाध्यक्षसहितको प्रतिनिधिमण्डल सदरमुकाम सिमकोट आइपुगेको छ । पाँच हजार मिटरभन्दा माथिको लेकाली भञ्ज्याङ कटेर आउनुपर्ने भएकाले सिमकोटमा खाद्यान्न आइहाले पनि लिमीसम्म पु¥याउन महाभारत नै पर्छ ।
वडाध्यक्ष पाल्जोरको भनाइमा कात्तिक आधाउधीबाट त्यस क्षेत्रमा हिउँ पर्न थाल्छ । त्यसअघि नै खाद्यान्नको जोहो गर्न नसके अनिकालले घेर्छ । स्थानीय उत्पादनले ६ महिना मात्र खान पुग्ने त्यहाँका बासिन्दा बेसाएको खाद्यान्नले नै जीविका निर्वाह गर्ने गर्छन् । चीनले एकतर्फी रूपमा नाकाबन्द गरिदिँदा उनीहरू समस्यामा परेका हुन् । यस्तो अवस्था हिमाली भेगको लिमीदेखि ओलाङचुङगोलासम्म कायम छ ।
चीनले पछिल्लो समय तातोपानी र रसुवा नाका खुलाउन पहल गरेको भए पनि ती नाकामा रोकिएका नेपाली व्यापारीले आयात गरेका करोडौँ मूल्यका सामान महिनौँदेखि नाकामा सडेका छन् । अहिले दैनिक जे–जति नाकाबाट सामान पठाइन्छ, त्यो गतिमा त्यहाँ थुप्रिएका सामानले यो हिउँदमा पनि यता आइसक्न मुस्किल देखिन्छ । यो घटनाले नेपालको हिमाली भेगका जनताको जीवनका दुःख र हाम्रो आन्तरिक सम्पर्क सञ्जालमा रहेको कमीलाई पनि उजागर गरेको छ ।
सीमानजिकका जनताको दैनिक जीवन नै चीनका सीमावर्ती बजारमा निर्भर रहने गरेको सन्दर्भमा चीनले सीमानाका बन्द गरेर अर्घेल्याइँ गरिरहेको छ ।
केही वर्षयता नेपालमा चीनसँगको व्यापार र हिमालय आरपार कनेक्टिभिटीको खुबै चर्चा छ । हिमाल अब कुनै अभेद्य पर्खाल रहेन भन्न थालिएको छ । भूराजनीतिक अनेक व्याख्यानात्मक सूत्रहरू प्रयोग हुने गरेका छन् । दुई देशबीच सम्पर्क सञ्जाल विस्तार गर्ने र भारतसँगको अत्यधिक निर्भरता हटाउने भन्दै सहमतिहरूमा हस्ताक्षर पनि भएका छन् । तर, नेपाल सरकारको आफ्नै तयारीको कमीले दुई देशबीचका यस्ता समझदारी समयमा लागू हुन सकेका छैनन् ।
यतिवेला त कोरोनाका कारण झन् संकट बढेको छ । तर, विश्वभर कोरोनाकै कारण सामानको निर्बाध आपूर्ति रोकिनुहुन्न भन्ने मान्यता छ । नेपालको हकमा त सीमानजिकका जनताको दैनिक जीवन नै चीनका सीमावर्ती बजारमा निर्भर रहने गरेको सन्दर्भमा चीनले सीमानाका बन्द गरेर अर्घेल्याइँ गरिरहेको छ ।
सिमानामा कोरोना आरपार गर्न नदिन अपनाउनुपर्ने मापदण्डहरू लागू गरेर सामान आयात गर्न दिँदा चीनतिर कोरोना जाँदैनथ्यो । यता नेपाल सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर चिनियाँलाई चित्त बुझाई नाका खोल्न लगाउन पनि सकेको छैन ।
परराष्ट्र मन्त्रालय र मन्त्री प्रदीप ज्ञवालीले वार्ता भइरहेको छ र छिटै समाधान निस्किन्छ भन्न थालेको पनि धेरै भइसकेको छ । तर, लिमीका बासिन्दा भोकमरीको मुखमा पुग्ने समय आउँदासमेत नाका खोल्न सहज बनाइएको छैन । नाका खोल्ने काम तत्काल गर्नुपर्छ । सँगै लिमीलगायत ठाउँका जनता भोकमरीमा नपरून् भनेर समय नघर्किंदै खाद्यान्न ढुवानी गर्ने काम तत्काल आरम्भ गर्नेतिर सरकारको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।