नेपाल–भारत मुख्य नाकामा कडाइ, तर खुला सीमामा रोकिएन जोखिमपूर्ण लस्कर

आइतबार, २५ असोज, २०७७
डिजिटल संस्करण

विराटनगरबाट गणेश लम्साल, धनगढीबाट तेजराज भट्ट, बाँकेबाट विश्वराज पछल्डङ्ग्या, रूपन्देहीबाट दीपेश पछाई, वीरगन्जबाट तिवारी यादव, जनकपुरधामबाट हदिश खुद्दार, झापाबाट चिरञ्जीवी घिमिरे


कोरोना संक्रमण बढ्दै गएपछि नेपाल र भारतले सीमा सिल गरे । दुवै मुलुकमा संक्रमण दर तीव्र गतिमा उकालो लाग्दा अहिले पनि मुख्य सीमामा कडाइ जारी छ । तर, नेपालबाट भारतीय बजारमा किनमेल गर्न जाने तथा भारतबाट कामको खोजीमा नेपाल भित्रिनेहरू खुला सिमानाबाट बेरोकटोक आउजाउ गरिरहेकै छन् ।

काँकडभिट्टा, जोगबनी, जलेश्वर, वीरगन्ज, भैरहवा, जमुनहा, त्रिनगर, गड्डाचौकीजस्ता मुख्य प्रवेश बिन्दुमा कडाइ कायम छ, तर खुला सिमानाबाट सुरक्षाकर्मीको आँखा छल्दै लस्कर बाँधेरै आउजाउ भइरहेकै छ । भारतीय बजारमा किनमेल गरेर फर्कनेहरूलाई नियन्त्रणमा लिएर १४ दिन क्वारेन्टाइनमा राख्ने स्थानीय प्रशासनको चेतावनीले पनि यस्तो लस्कर रोकिएको छैन ।

जोगबनी नाकामा कडाइ, तर फोहोर नाघ्दै आउजाउ
१५ किलो प्याज राखेको पोको टाउकोमा राखेर विराटनगर–१७ की करिब ४२ वर्षकी सीतादेवी यादव जोगबनीमा किनमेल गरेर भारततर्फको नगरपालिकाले दशगजामा थुपारेको फोहोरको डंगुर नाघ्नै नेपालतर्फ प्रवेश गर्दै थिइन् । उनलाई प्रहरीले रोक्न खोज्दै थिए, तर उनी अटेर गर्दै नेपाल प्रवेश गरेरै छाडिन् ।

यस्तै, जोगबनीमा किनमेल गरेर भारतको टिकुलिया बस्ती हुँदै दशगजास्थित कम्मरसम्म आउने पानीको दहमा हेलिँदै विराटनगर–१६ की करिब ३५ वर्षकी नन्दीदेवी मण्डल त्यसरी नै प्रहरीको चेतावनी बेवास्ता गर्दै नेपालतर्फको दरैया बस्तीमा आएरै छाडिन् । उनीहरू जोगबनीमा सस्तोमा सामान किनेर नेपालतर्फ ल्याई महँगोमा बिक्री गर्छन् । ‘लकडाउनभरि दुःख पाइयो, यति पनि नगरे अब कसरी बाँच्ने ?’ विराटनगर–१२ बखरीकी बुधनी ऋषिदेव भन्छिन् ।

कोरोना संक्रमण रोकथाम गर्न जोगबनी नाकामा नेपाल–भारत दुवैतर्फ ११ चैतदेखि सीमा सिल गरिएको छ । तर, सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने र फर्कने नेपाली घटेका छैनन् । भारततर्फ किनमेल गरेर फर्कनेहरूलाई नियन्त्रणमा लिएर १४ दिन क्वारेन्टाइनमा राख्ने स्थानीय प्रशासनको चेतावनी स्थानीय बासिन्दाले अटेर गर्दै आएका छन् ।

सिमानामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी तैनाथ छन् । दसैँका लागि सामान किनमेल गर्न जाने स्थानीय बासिन्दाले उनीहरूलाई टेर्दैनन्, हुल बाँधेर सामानको भारी बोक्दै आउजाउ गरिरहेकै छन् ।

मुख्य नाकाबाट पश्चिमतर्फ विराटनगर जुटमिलको दक्षिण गेट र दरैया बस्ती तथा पूर्वतर्फ इस्लामपुरको खुला सीमाबाट मानिस हुलका हुल जोगबनी जाने–आउने गरेका छन् । कोही फोहोरको डंगुर नाघ्दै त कोही कम्मरसम्म डुबाउने दह हुँदै भारतीय बजार गइरहेका छन् ।

तीमध्ये अधिकांशले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको पाइँदैन । मास्कसमेत नलगाएका उनीहरूलाई बोर्डर सिल भएको स्थानबाट ओहोरदोहोर गर्दा पनि भारतीय सुरक्षाकर्मीले अवरोध गर्दैनन् । त्यसैले लाठीले तर्साएकै भरमा किनमेल गर्न जानेहरूलाई रोक्न सम्भव नभएको इलाका प्रहरी कार्यालय, रानीका निरीक्षक दीपक थापा बताउँछन् । ‘हुलका हुल मानिस जान्छन् र फर्किन्छन्, गाली गरेर खेदाउँदा पनि टेर्दैनन्,’ प्रहरी निरीक्षक थापा भन्छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार किनमेल गरेर फर्किनेहरूलाई क्वारेन्टाइनमा राख्ने चेतावनी दिएपछि केही दिन लस्कर घट्यो । अहिले फेरि जोखिमपूर्ण आउजाउ बढेकाले सुरक्षा निकायसँग सल्लाह गरेर थप कडाइ गरिने उनी बताउँछन् । ‘मैले किनमेल गरेर फर्किनेहरूलाई नियन्त्रणमा लिएर १४ दिन क्वारेन्टाइमा राख्न प्रस्ट निर्देशन दिएको छु, तर कार्यान्वयन नभएकाले हुरुरु जान थालेछन्,’ उनी भन्छन्, ‘फेरि अनुगमन गरेर थप कडाइ गर्न निर्देशन दिन्छु ।’

चाडबाड नजिकिएसँगै मोरङ र सुनसरीमा सीमा सिल भए पनि भारततर्फबाट अवैध ओसारपसार गर्नेहरू सक्रिय छन् । सुनसरीका साहेबगन्ज, घुस्की र भान्टाबारी तथा मोरङका नोचा, बुधनगर, तारेगामा, सिक्टी, बरडंगा, रंगेली नाकाबाट निर्बाध तस्करी भइरहेको छ ।

व्यापारीहरूले नेपालबाट मरिच, मटर, मिक्सर दाललगायत वस्तु भारत पु¥याउँछन् । यस्तै, भारतबाट किराना, कपडा, मोटरपार्टस्, भाँडावर्तन, विद्युतीय सामान भित्र्याउँछन् । स्थानीयवासीका अनुसार दिनभर सुनसान भए पनि रात पर्नासाथ ट्रयाक्टर र मोटरसाइकलमार्फत तस्करी भइरहेको छ ।

बोर्डर सिल भए पनि खुला सिमानाको फाइदा उठाउँदै लुकिछिपी फाट्टफुट्ट ओसारपसार भइरहेको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कवीन्द्रकुमार कार्की स्विकार्छन् । तर, प्रहरीसँग मिलेमतो गरेर तस्करी भएको उनी स्विकार्दैनन् । ‘नाकाका प्रहरी चौकी र सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी)मा खटिने सुरक्षाकर्मीले मात्रै अवैध ओसारपसार नियन्त्रण गर्न सम्भव छैन,’ उनी भन्छन् ।

अवैध ओसारपसार गर्नेहरूले सीमा क्षेत्रका घरघरमा तराजु राखेर गोला र गोदाम सञ्चालन गर्ने गरेका छन् । अवैध रूपमा ल्याउने र लाने सामान पहिले नाकामा रहेका गोदाममा भण्डारण गराउने र पछि अनकूल समयमा गन्तव्यमा पु¥याउने गर्छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार ११ चैत ०७६ देखि असार मसान्तसम्म प्रदेश–१ बाट चार करोड ३० लाख ९८ हजारबराबरका भन्सारछलीका वस्तु नेपाल प्रहरीले बरामद गरेको छ ।

त्रिनगर नाका बन्द, तर रोकिएन तस्करी
११ चैतदेखि कैलालीको त्रिनगर नाकाबाट नेपाली उपभोक्ता भारतीय बजारमा किनमेल गर्न जान पाएका छैनन् । तर, भारतबाट हुने तस्करी रोकिएको छैन । त्रिनगर भन्सार कार्यालय, धनगढीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले चैतयता एक करोड ४९ लाख ७३ हजार रुपैयाँबराबरको भारतबाट अवैध रूपमा ल्याउँदै गरेको सामान बरामद गरेको छ ।

यस अवधिमा अवैध सामान बरामद भएका एक सय ७२ वटा मुद्दा आएको भन्सार अधिकृत परमानन्द जोशी बताउँछन् । उनका अनुसार पहिलेभन्दा सामान आयात अहिले बढेको छ । प्रहरीले बरामद गरेकामध्ये अधिकांश सामान कपडा, खाद्यान्न, सुर्ती, बिँडी, सुपारीलगायत छन् ।

नाका सामान्य हुँदा धनगढीबाट नजिक पर्ने भारतीय बजार गौरीफन्टा, वनगावा र पलियामा दैनिक सयौँ नेपाली किनमेलका लागि जाने गरेका थिए । अहिले सीमामा कडाइ हुँदाको सकारात्मक प्रभाव धनगढीलगायत स्थानीय बजारको कारोबारमा देखिएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा बताउँछन् ।

बाँकेका सहायक नाकाबाट खुलेआम ओसारपसार
बाँकेको नेपालगन्ज नाकाबाट भारतमा आउजाउ बन्देज छ । नाका बन्द भएपछि भारतीय सीमा बजार रुपैडिहा सुनसान छ । तर, सहायक नाकाबाट नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजार पुग्ने गरेका छन् । नाकामा रहेका छोटी भन्सार पुनस्र्थापना हुन नसकेपछि सर्वसाधारण सहायक नाकाबाट सामान किनमेल गरिरहेका छन् । 

बाँकेका बासिन्दा नरैनापुरको सुइया, जमुनहा, जम्नाहालगायत सहायक नाकाबाट भारत गएर सामान खरिद गरी फर्किन्छन् । ती नाकामा छोटी भन्सार पुनस्र्थापना नभए पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालित छन् । सुरक्षाकर्मीले घरखर्चका लागि सर्वसाधारणलाई सामान ल्याउन दिने गरेको स्थानीय रामकुमार बाहुनले बताए ।

भारतीय सीमा बजारमा सामान सस्तोमा पाइने भएपछि सामान किन्न सीमावर्ती बजार जम्नाहा जाने गरेको डुडुवा गाउँपालिका–१ होलियाका राजकुमार शुक्लले बताए । भारतीय सीमा बजारमा सामान सस्तो पाइने भएपछि नरैनापुर गाउँपालिका–५ मटेहिया र वडा नम्बर ६, गंगापुर, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३, ४, ५, ६ र ७ तथा डुडुवा गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ का अधिकांश सर्वसाधारणको रोजाइमा जम्नाहाको शुक बजार परेको छ ।

नाका बन्द भएपछि रुपन्देहीका नेपाली बजारमा चहलपहल
रुपन्देहीको सीमावर्ती सुनौली बजार खुला भए पनि नेपाली ग्राहक नपुग्दा सुनसान छ । कोरोनाका कारण नाकामा कडाइ भएकाले नेपालबाट किनमेल गर्न सुनौली जानेहरू नभएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए । अहिले सुनौली बजार औषधि लिन र भारतीय पेन्सनपट्टा बनाउनेहरू मात्र जान पाउने प्रहरी निरीक्षक अधिकारीले बताए ।

भारतीय बजार जान नपाएपछि नेपाली उपभोक्ताका कारण स्थानीय बजारमा चहलपहल बढेको छ । पहिला सुनौली बजारमा दैनिक दुई करोड रुपैयाँबराबरको कारोबार हुने गथ्र्योे । त्यो अहिले ठप्प हुँदा बुटवल, मणिग्राम, भैरहवालगायत बजारमा खर्च भइरहेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने बताउँछन् ।

चहलपहलसँगै दैनिक करिब दुई करोड रुपैयाँ भारतीय बजार जानबाट रोकिएको अध्यक्ष न्यौपाने बताउँछन् । सुनौली बजारमा किनमेल गर्न रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मीलगायत जिल्लाबाट सर्वसाधारण पुग्ने गर्थे ।

वीरगन्ज नाकाबाट सहजै आवतजावत
कोरोना नियन्त्रणका लागि ११ चैतदेखि गरिएको लकडाउन र निषेधाज्ञाका कारण नेपालबाट सामान किन्नकै लागि भारत जान रोक छ । तैपनि सीमापारिको बजारमा वीरगन्जआसपासका बासिन्दा सजिलै पुग्ने गरेका छन् ।

वीरगन्जस्थित मुख्य नाकानजिकबाट भारती बजारमा खरिद गरिएको सामान लिएर भित्रिँदै गरेका साना व्यापारी ।

घरायसी सामग्री सस्तो भएकाले रक्सौल पुग्ने गरेको वीरगन्ज नगवाका श्रीराम ठाकुर बताउँछन् । दाल, चिनी, तेल, नुन र विभिन्न मसला वीरगन्जभन्दा रक्सौलमा सस्तो पर्छ ।

असोज पहिलो सातादेखि अत्यावश्यक घरायसी सामान खरिद गर्न रक्सौल पुग्नेहरू बढेका छन् । नाकामा तैनाथ सुरक्षाकर्मीले पनि कामको प्रकृति हेरी आवतजावत गर्न दिइरहेका छन् । औषधि उपचारदेखि घरायसी सामान किन्न सीमापारि बजारमा पुग्ने नेपाली उपभोक्ता दैनिक पाँच सयभन्दा बढी छन् । वीरगन्ज शंकराचार्य गेटअगाडि पसल चलाएर बसेकी कुन्ती देवीका अनुसार मुख्य रोडमा रोक भए पनि खेतको बाटो प्रयोग गरेर भारतीय बजारमा पुग्ने पनि उत्तिकै छन् ।

भारतीय पनि सजिलै आवतजावत गर्छन्
लकडाउन र निषेधाज्ञा खुकुलो पारेर नेपालमा सार्वजनिक यातायात सञ्चालनमा आएपछि पर्सा र बाराका नाकाबाट भारतीयको अवैध प्रवेश झनै बढेको छ । नाका वारपार गर्न भने मालबाहक गाडीलाई मात्र स्वीकृति दिइएको छ । रोजगारीका लागि भारतको बिहारबाट आएकाहरू वीरगन्जबाट गाडी चढेर काठमाडौं, नारायणगढ, पोखरालगायत सहरमा गइरहेका छन् ।

स्थानीयवासीका अनुसार पर्साको खल्वा टोला, सिर्सिया अलौ, छपकैया, इनर्वाजस्ता साना नाकाबाट भारतीयहरू लुकिछिपी वीरगन्ज बसपार्क आइपुग्छन् । यहाँबाट बस र टाटासुमो चढेर विभिन्न सहरमा पुगिरहेका छन् ।

नेपालबाट भने सामान खरिदका लागि भारत जान वा भारतबाट नेपाल आउन रोकिएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ बताउँछन् । ‘विनाअनुमति अत्यावश्यक कामबाहेकका कुनै पनि व्यक्तिलाई आवतजावतमा सक्दो रोक्न प्रयास गरेका छौँ,’ उनी भन्छन् । उनका अनुसार लुकिछिपी आउने अधिकांशलाई नौ हजार एक सय रुपैयाँका दरले जरिवानासमेत तिराइएको छ ।

लकडाउनका वेला भारतबाट प्रदेश–२ मा ३८ हजार प्रवेश
कोरोनाका कारण नाका बन्द भए पनि सीमावर्ती क्षेत्रका बासिन्दा लुकिछिपी भारतकै बजारबाट प्याज, लसुन, खानेतेल, दाल, चिनी, मललगायत सामान ल्याइरहेका छन् । नेपाल र भारतीय बजारमा उपभोग्य सामानको मूल्यमा अत्यधिक अन्तर भएकाले पारि जानुपरेको धनुषा धनौजी नगरपालिका तरहीका सुलेमान राई बताउँछन् । ‘कोरोनाको डरले सुरुमा पारि जान डर लाग्यो, तर तस्करहरूले राति–राति भारतबाटै सामान ल्याउने र महँगोमा बेच्ने गरेकाले आफँै जान थालेका हौँ,’ उनी भन्छन् ।

धनुषाको भारतीय सीमा क्षेत्रबाट सामान लिएर आउँदै गरेका स्थानीय बासिन्दालाई रोक्दै सशस्त्र प्रहरी ।

नेपाली बजारमा एक सय २० रुपैयाँ प्रतिकिलो पाउने प्याज भारतीय बजारमा ३० रुपैयाँ भारु अर्थात् ४८ रुपैयाँमा पाइन्छ । यस्तै, लसुनमा डेढ सय तथा चिनीमा ३० रुपैयाँ प्रतिकिलो अन्तर छ ।

कोरोनाको समयमा पनि नेपाल सरकारले कुनै राहत प्याकेज नदिएको सीमा क्षेत्रका बासिन्दाको गुनासो छ । भारतीय बजारको सहारा नभए लकडाउनमा धेरै मान्छे भोकले मर्ने अवस्था आएको स्थानीय सोनितलाल यादव बताउँछन् । भन्छन्, ‘सीमावर्ती क्षेत्रका बासिन्दा दिनभरि भारतमा काम गर्छन् र साँझ नेपालको घरमा विश्राम गर्छन् ।’ भारतीय बजारमा सस्तो सामान पाइने भएकाले लुकिछिपी सीमावर्ती क्षेत्रका मानिस भारतीय बजार जाने गरेको सशस्त्र प्रहरी प्रदेश–२ का प्रमुख डिआइजी कृष्णभक्त ब्रह्मचार्य स्वीकार्छन् ।

लडकडाउन अवधिमा भारतबाट करिब ३८ हजारजना नेपाल प्रवेश गरेको सशस्त्र प्रहरीको प्रदेश–२ कार्यालयले जनाएको छ । यस्तै, नेपालबाट २६ हजारजना भारततर्फ गएको सशस्त्र प्रहरीको अभिलेख छ । नेपाल र भारतमा आउजाउ गर्न पिसिआर परीक्षण र जिल्ला सुरक्षा समितिको अनुमति चाहिन्छ । तर, ती कुनै विधि अपनाइने गरेको छैन ।

अहिले भारत बिहार विधानसभाको निर्वाचनका कारण नेपाल र भारत दुवैतर्फ सुरक्षा व्यवस्था कडा बनाइएको छ । दिनहुँ सयौँको ओहोरदोहोर हुने धनुषा नाका अहिले पूर्ण रूपमा बन्द गरिएको सशस्त्र प्रहरी धनुषाका डिएसपी भीम विष्ट बताउँछन् ।

झापामा चाडपर्व नजिकिँदा सीमामा चहलपहल
चाडपर्व नजिकिएसँगै झापाका भारतीय सीमावर्ती नाकामा चहलपहल बढेको छ । भारतसँग एक सय ४४ किलोमिटर खुला सिमाना भएको झापामा विशेषगरी दक्षिणी भेगका बासिन्दा तथा साना व्यापारीले भारतीय सीमासम्म पुगेर सामान ल्याउन थालेका छन् ।.

लामो समय सीमा बन्द भएको बताउँदै चोर बाटो प्रयोग गरेर स्थानीयवासीले सामान भित्र्याइरहेका छन् । मुख्य व्यापारिक नाका काँकडभिट्टा आसपासभन्दा पनि दक्षिणी क्षेत्रका खुला नाकाबाट दैनिक उपभोग्य सामग्रीको अवैध आयात भइरहेको छ ।

झापाका गौरीगन्ज, झापा, बाह्रदशी र कचनकवललगायत सीमावर्ती बजारका व्यापारीले भारतीय बजारमा पुगेर सामान ल्याइरहेका छन् । भारततर्फका साना व्यापारी पनि लुकिछिपी नेपालका साना बजारसम्म आउने गरेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह बताउँछन् ।

‘चोरबाटोको प्रयोग गरेर नेपाली पनि भारतीय बजारसम्म पुग्छन् । भारतीय पनि लुकेर नेपाली बजारसम्म आउँछन्,’ उनी भन्छन्, ‘पहिले एक–एक किलोमिटरको फरकमा सुरक्षाकर्मी थिए । अहिले थोरै मात्र हुँदा पनि नाकामा जोखिमपूर्ण आउजाउ बढेको छ ।’

भारतसँगको आवतजावत ६ महिनादेखि बन्द हुँदा पनि सीमाका नेपाली बजारमा भारतमा उत्पादित खाद्य सामग्री सहजै पाइने बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी बताउँछन् । ‘मुख्य बाटोमा सुरक्षाकर्मीले रोके पनि धानबारी, खोलातिरबाट त सामान आइरहेकै छ,’ उनी भन्छन् ।

जति प्रयास गरे पनि खुला नाकाको आवतजावत रोक्न नसकिएको गौरीगन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना सीमामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गरिने बताउँछन् । ‘सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती रहन्छ । विशेष क्षेत्रको पहिचान गरी प्राथमिकताका साथ हेर्छौँ,’ उनी भन्छन्, ‘अवैधानिक ढंगबाट सामान आएमा बरामद गरी भन्सारमा बुझाउँछौँ । यो त प्रत्येक दिन गरिरहेका छौँ ।’

सुझावित समाचार