हिमाली जिल्ला मनाङ जोड्ने बेसीसहर–चामे सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका– ४ ताघ्रिङको घोप्टेखोलामा बेलिब्रिज बनेको छ । साउन २२ गते राति खोलामा आएको बाढीले सडक बगाएको थियो । सडक बगाएपछि बाँसको भर्याङ, काठको फड्केबाट खोला वारपार गर्दै आएका नागरिकले बेलिब्रिज बनेपछि सहज भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
बेलिब्रिज निर्माण भएसँगै शुक्रबारबाट पुलमा सवारी आवतजावत भएको मर्स्याङ्दी गाउँपालिका– ४ का वडाध्यक्ष सुमन गुरुङले बताए । उनका अनुसार यसअघि बेसीसहरबाट रामबजार स्याँगेसम्म गएका सवारी घोप्टेखोला वरसम्म र मनाङ हुँदै आएका सवारी घोप्टेखोलासम्म पुगेर रोकिन बाध्य थिए ।
खहरे खोलाले सडक बगाउँदा पैदल यात्रुलाई सास्ती भएपछि पैदल यात्री र दुईपांग्रे सवारीसाधन गुड्न मिल्ने गरी फलामको पुल राखिए पनि त्यो पुल पनि बाढीले बगाएको थियो ।
बाढीपहिरोले सडक बगाएको दुई महिना र निर्माण थालनी गरेको डेढ महिनामा बेलिब्रिज निर्माण गरिएको डुम्रे–बेंसीसहर–चामे सडक योजनाका सबइन्जिनियर सुमन अधिकारीले बताए ।
उनका अनुसार भदौ ७ गतेबाट बेलिब्रिज निर्माण सुरु गरिएको थियो । डिभिजन सडक कार्यालय दमौलीको सहयोगमा सडक योजनाले बेलिब्रिज निर्माण गरेको हो । उक्त बेलिब्रिज करिब ३२ लाख रुपैयाँमा निर्माण गरिएको हो । बेलिब्रिजको लम्बाइ २७ दशमलव ४५ मिटर र चौडाइ ४ दशमलव २ मिटर छ ।
बेलिब्रिज बनेपछि मनाङका यात्रुलाई सहज भएको मनाङ नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलले बताए । उनले भने, ‘बेंसीसहर–चामे सडकअन्तर्गत घोप्टेभिरमा रहेको घोप्टेखोलाले हरेक वर्ष वर्षातमा स्थानीयलाई दुःख दिने गरेको छ । ठाडो खोला र धरातलीय स्वरूप प्रतिकूल भएकाले केहीबेरको वर्षाले पनि घोप्टेखोलामा ठूलो बाढी आउँछ ।
नेपाली सेनाको सडक निर्माण कार्यदल गणले ट्रयाक खुलाएपछि ०६९ सालदेखि सो सडकमा गाडी गुडाइएको भए पनि सडक कतै निकै साँघुरो, कतै छंगाछुर भिर त कतै पहरो कोपेर बनाइएको सानो गल्छी र उकालोजस्ता अनेकौँ अप्ठ्यारा भएकाले सो सडकको यात्रा निकै जोखिमपूर्ण रहेको जिपचालक चालक सोम मगराती बताउँछन् ।
तत्कालीन नेपाली सेनाको सडक निर्माण कार्यदलले ०६९ सालमा निर्माण कार्य सम्पन्न गरी सडक डिभिजन कार्यलय दमौलीलाई हस्तान्तरण गरेको हो । बेसीसहर–चामे सडकको बेसीसहरदेखि म्यार्दीसम्म लमजुङखण्ड ३५ किलोमिटर र म्यार्दीदेखि चामेसम्म मनाङखण्ड ३० किलोमिटर छ ।