सम्पादकीय : खेलाँचीसँगै बढ्दै संक्रमण

आइतबार, १७ असोज, २०७७
डिजिटल संस्करण

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणको दर तीव्र रूपमा बढिरहेको छ । शुक्रबारको कोरोना अध्यावधिक सूचनामा १४ हजार परीक्षण गर्दा २७ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको र काठमाडौं उपत्यकामा मात्र एकै दिनमा १६ सयभन्दा बढी संक्रमित थपिएको जनाइएको छ । यो नेपालको अहिलेसम्मकै बढी संक्रमण दर हो । परीक्षणको १८ प्रतिशत संख्यामा संक्रमण पुष्टि हुनुले उपत्यकालगायत देशैभर यसको जोखिम बढ्दै गएकोतिर संकेत गर्छ । सरकारले असोज ५ गतेपछि सीमित क्षेत्रबाहेक सबै आर्थिक कारोबारसमेत सहज हुने गरी निषेधाज्ञा हटाएकाले मानिसको चहलपहल बढेको छ । 

यसै पनि लामो समयको लकडाउन र निषेधाज्ञाले थला परेको अर्थतन्त्रको प्रभाव व्यहोरिरहेका आमनागरिक छिटो–छिटो आफ्ना पेसामा फर्किन चाहन्थे । यातायात खुलेसँगै काठमाडौंबाट बाहिरिने र यता भित्रिनेसमेत छ्यासमिस भएका छन् । मानिस दसैँलगायत चाडबाडका लागि खरिदारीमा पनि लागेका छन् । सडकपेटीका पसल चलेका छन् । यससँगै मानिसको बाक्लो ओहोरदोहोर हुन थालेको छ । सरकारी कार्यालयमा भिडभाड बढेको छ । यसले संक्रमणको सम्भावना बढाइदिएको छ । त्यसमाथि केही मानिस मास्क पनि लगाउँदैनन् । अर्काथरी छन्, जसले भौतिक दूरीलाई त फिटिक्कै महत्व दिएका छैनन्, मानौँ यो सरकारले बनाएको नियम हो, जसलाई तोड्न पाउँदा बहादुरी देखिन्छ । कोभिड–१९ लाई केही होइन, यसै हराएर जान्छ, मास्क लागाउनु पनि पर्दैन भन्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ ।

आफू बच्ने, अरूलाई बचाउने र समग्रमा समाज हुँदै यहाँको आर्थिक भौतिक प्रगतिलाई रोकिनबाट जोगाउने हामीले नै हो । आमनागरिक आफैँ आफ्नो ज्यान जोगाउन सतर्क नहुने हो भने नेपालले निकै ठूलो क्षति व्यहोर्नु पर्नेछ ।

ट्रम्प सैनिक अस्पतालमा भर्ना भएर उतैबाट आफ्नो कार्यभार सम्हालिरहेका छन् । राष्ट्रपति निर्वाचनको मिति एक महिना मात्र बाँकी छँदा उनमा देखिएको संक्रमणले एक प्रकारको अनिश्चितता बढाइदिएको छ । यसले एउटा सन्देश दिएको छ– कोरोनाले कसैलाई मानमनितो गर्दैन । संसारकै उत्कृष्ट मानिएका अमेरिकी राष्ट्रपतिको सुरक्षा प्रणालीलाई पनि तोड्ने यो महामारीसँग खेलाँची नगरौँ । छिटै दसैँ–तिहार र छठजस्ता पर्व आउँदै छन् । यो समयमा विदेशमा बस्ने नेपालीहरू देश भित्रिने दर बढ्न सक्छ । यता नेपालका सहरबाट गाउँतिर मानिस जाने महत्वपूर्ण समय पनि यही हो । यति मात्र होइन, मठमन्दिर जाने, इष्टमित्रकहाँ जाने, पर्व मनाउने र भेटघाट गर्ने समय पनि यही हो । यस्तो वेला कुनै लक्षण नभएकाले आफूलाई स्वस्थ ठान्दै जता पनि जाने, साथीभाइ भेटेर राम–रमिता गर्ने र घुलमिल हुने पनि यो समयमै बढी हुन्छ । 

यसैले आउने दुई महिना नेपालका लागि निकै ठूलो जोखिमको समय हुने सम्भावना छ । यस्तो समयमा सकेसम्म आफू बसिरहेको ठाउँ छाडेर अन्त नजाने, जानै परे स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउने, वृद्धवृद्धालाई सर्न नसकोस् भनेर सतर्कता अपनाउने गर्नु जरुरी छ । एक वर्ष चाडबाड नमनाएर केही हुँदैन । आफू बच्ने, अरूलाई बचाउने र समग्रमा समाज हुँदै यहाँको आर्थिक भौतिक प्रगतिलाई रोकिनबाट जोगाउने पनि हामीले नै हो । सरकार बिस्तारै जिम्मेवारीबाट पछि हटिरहेको छ । आमनागरिक आफैँ आफ्नो ज्यान जोगाउन सतर्क नहुने हो भने नेपालले निकै ठूलो क्षति व्यहोर्नु पर्नेछ । अहिले नै अस्पतालमा सघन उपचार कक्ष भरिभराउ हुन थालिसकेका छन् । बिरामी थपिँदै जाँदा उपचार पनि पाउन नसक्ने पक्का छ । यसैले लापर्बाही नगरौँ, कोरोनाले कसैलाई छुट दिँदैन ।

सुझावित समाचार