नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रमुखका रूपमा व्यक्त विचारको संगालो ‘नयाँ युगको पदचाप’ सार्वजनिक भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि बनेको सरकारमा प्रधानमन्त्रीका रूपमा जिम्मेवारीमा रहँदा व्यक्त विचारलाई अभिलेखीकरण गरी प्रज्ञा स्मृति प्रतिष्ठानले पुस्तक प्रकाशित गरेको हो ।
प्रधानमन्त्रीका रूपमा मुलुकको नेतृत्व गर्दा प्रचण्डले नेपालको आर्थिक, राजनीतिक र सामाजिक समृद्धिका लागि लिएका पहलकदमीका रणनीति र योजनाका फेहरिस्त पुस्तकमा रहेको प्रकाशकले जनाएको छ ।
दुई खण्डमा विभाजित पुस्तकमा प्रचण्ड प्रधानमन्त्री रहँदाको पहिलो कार्यकालका १५ र दोस्रो कार्यकालका ५४ वटा सम्बोधनलाई समेटिएको छ ।
वर्तमान नेपाली राजनीतिलाई बुझन र बुझाउन पनि पुस्तक महत्वपूर्ण सामग्री हुने प्रकाशकको विश्वास छ ।
पुस्तकमा तत्कालीन अवस्थामा प्रचण्ड सहभागी भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैठक, भेला र छलफलका तस्बिरहरू पनि समावेश गरिएको छ । पुस्तकमा ४०४ पृष्ठ रहेका छन् । प्रतिष्ठानले पुस्तकको मूल्य रु. ७५० राखेको छ ।
‘गणतन्त्रको पहिलो दशक’ जस्तै ‘नयाँ युगको पदचाप’लाई पनि पाठकले मन पराउने आशा लिएको प्रतिष्ठानले बताएको छ ।