दसैँमा भित्रिएका नयाँ मोटरसाइकल र स्कुटर

शुक्रबार, १६ असोज, २०७७
डिजिटल संस्करण

दसैँमा नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने सोच बनाएकाका लागि झन्डै एक दर्जनजति नयाँ मोडल र अपग्रेडेड संस्करणका दुईपांग्रे सवारी नेपाल भित्रिए, अझै केही आउँदै

कोरानाको कहरबीच पनि नेपाली बजारमा नयाँ नयाँ मोटरसाइकल तथा स्कुटर भित्रिरहेका छन् । विगतका वर्षहरूमा दसैँ–तिहार लक्षित मोटरसाइकल तथा स्कुटर नाडा अटो सोमार्फत सार्वजनिक गरिन्थ्यो । तर, यस वर्ष मोटरसाइकल विक्रेता कम्पनीहरूले भर्चुअल रूपमा नयाँ मोडल सार्वजनिक गरिरहेका छन् । दसैँमा बाइक वा स्कुटर खरिद गर्ने सोच बनाएका उपभोक्ताका लागि झन्डै एक दर्जनजति नयाँ मोडल र अपग्रेडेड संस्करण विकल्प उपलब्ध हुनेछन् । कतिपय नयाँ मोडल भित्रिसकेका छन् भने कतिपय आउँदै छन् ।

केटिएम ३९० एडभेन्चर
गोल्छा ग्रुपको हंशराज हुलासचन्द एन्ड कम्पनीले बहुप्रतीक्षित केटिएम ३९० एडभेन्चर मोटरसाइकल सार्वजनिक गरेको छ । यो बाइक पूर्णतया एडभेन्चर राइडिङका लागि बनाइएको हो । नेपालमा एडभेन्चर बाइकिङ कल्चर बढिरहेका वेला यो बाइक भित्रिएको हो ।

यो बाइकमा लाइटवेट ट्रलिस फ्रेम चेसिस, १७० एमएमको अगाडिको ह्विल भएको डब्लुपी कोलङ ट्राभल सस्पेन्सन छ । साथै, मेटजेलरको नोबी टायरहरू, २०० एमएमको उच्च ग्राउन्ड क्लिरेन्स, लङ ह्विलबेस, विस्तारित विन्डसिल्ड र इन्जिनका लागि सुरक्षित बेस प्लेट छ । यसमा ३७३ सिसीको इन्जिन र ६ स्पिड ट्रान्समिसन छ । यो बाइक विशेष गरी त्यस्ता राइडरहरूप्रति लक्षित गरिएको छ, जो जस्तोसुकै उबड–खाबड तथा साँघुरो बाटो, अफरोड, ग्राभल, पानी क्रस गर्नुपर्ने बाटो वा बालुवा हुँदै छोटो र लामो दूरीको यात्रा गर्न चाहन्छन् । यसको मूल्य नौ लाख ९९ हजार नौ सय रुपैयाँ रहेको छ । 

केटिएम बिएस–६ मोडल
केटिएमले आफ्ना लोकप्रिय मोटरसाइकलहरूलाई अपग्रेड गरेर नयाँ स्वरूप, नयाँ ग्राफिक्स, अत्याधुनिक फिचर र बिएस–६ इन्जिनसहित बजारमा ल्याएको छ । कम्पनीले बिएस–६ को नयाँ मोडल २०२० रेन्ज सार्वजनिक गरेको हो ।

कम्पनीले २०२० केटिएम २०० डुकलाई पूरै तवरले अपग्रेड गरेको छ, जुन १२९० सुपर ड्युक–आरबाट प्रेरित छ । यो बाइक ज्यादै हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्यांक र हेडल्याम्पका साथ अपग्रेड गरेको र पूरै बनावटलाई नयाँ रूप दिएको कम्पनीले जनाएको छ । अत्याधुनिक फिचरले सुसज्जित केटिएम २०० डुकको प्रारम्भिक मूल्य पाँच लाख ३९ हजार नौ सय तोकिएको छ ।

कर्नर रकेटको नामले लोकप्रिय २०२० केटिएम ३९० डुक बाइक कुदाएर हिँड्दा बाइकधनीले आफ्नो मूल्यको सही भ्यालु पाउने कम्पनीको दाबी छ । निकै हलुका, ज्यादै शक्तिशाली र अत्याधुनिक प्राविधिकले सुसज्जित यो बाइकमा राइड–बाय–वायर, स्लिपर क्लच, डुअल च्यानल एबिएस, टिएफटी डिस्प्ले, एलइडी हेडल्याम्पजस्ता प्रिमियम फिचर छन् । यो बाइकको प्रारम्भिक मूल्य आठ लाख ४९ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

अर्को नयाँ मोडल २०२० केटिएम २५० डुकमा ओपन–कार्टि«ज, अपसाइड–डाउन डब्लुपी फोर्क, स्लिपर क्लच र प्री–लोड एड्जस्टेबल मोनो सकजस्ता दमदार विशेषता छन् । यो बाइक सुपर मोटोका साथ डुअल च्यानल एबिएसले सुसज्जित छ । नेपालमा यसको प्रारम्भिक मूल्य ६ लाख ३९ हजार नौ सय रुपैयाँ तोकिएको छ । यसैगरी, केटिएमको आरसी रेन्जले ‘रेडी टु रेस’को विशिष्ट भावनालाई दर्शाउँछ, जुन हरेक तरहको सडकका लागि उपयुक्त छ । आरसी मोडल आजको दुनियाँमा स्ट्रिट–रेसर्सअनुरूप छ । यो मोडल केटिएमको मोटो जिपी फ्याक्ट्री रेसर्सबाट प्रेरित छ । यस रेन्जमा समावेश आरसी ३९० र आरसी २०० को प्रारम्भिक मूल्य क्रमशः आठ लाख २४ हजार नौ सय र ६ लाख १४ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

हस्कभर्ना    
हंशराज हुलासचन्द एन्ड कम्पनीले दसैँको मुखैमा स्विडिस मोटरसाइकल ब्रान्ड हस्कभर्नाका दुई मोडल नेपाली बजारमा भित्र्याएको छ । हस्कभर्नाको स्भार्टपिलेन २५० र भिट्पिलेन गरी दुईवटा मोडल नेपाल आइपुगेका हुन् । नेपालमा केटिएमको सोरुमबाट हस्कभर्ना बाइक बिक्री गरिने छ । दुवै मोडलमा २४८.८ सिसी क्षमताको इन्जिन रहेको छ ।

हस्कभर्ना स्भार्टपिलेन र भिटपिलनेसँग अद्वितीय स्विडिस डिजाइन छ, जुन अन्डरस्टेटेड, मिनीमलिस्ट, एलिगेन्ट भएको कारणले अन्य प्रिमियम मोटरसाइकल सेगमेन्टभन्दा अत्यन्तै भिन्न छ । स्भार्टपिलेन २५० मा रग्ड डिजाइन अपराइट स्ट्यान्स हुनुको साथै यो डुअल पर्पज टायरको साथ आउँछ, जसले गर्दा अन र अफरोड दुवै यात्राका लागि उपयुक्त हुनेछ । भिटपिलेन २५० मा स्पोर्टी डिजाइन, क्लिप भएको ह्यान्डलबार र फ्रन्ट लिन राइडिङ पोजिसन छ, हस्कभर्ना बाइकमा डबल च्यानल स्ट्यान्डर्ड एबिएस, एलइडी हेडल्याम्प, एलइडी टेलल्याम्प, डबल डिस्क ब्रेकिङ सिस्टम, डब्लुपी एपेक्स युएसडी सस्पेन्सनलगायत दर्जनौँ विशेषताले सुसज्जित छन् । नेपाली बजारमा हस्कभर्ना बाइक पाँच लाख ६० हजार रुपैयाँमा किन्न सकिनेछ । 

यामाहा रे जेडआर १२५ एफआई
यामाहाको नेपाली विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ रे जेडआर १२५ एफआई स्कुटर भर्चुअल प्रविधिमार्फत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर हो, जसले मात्र ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ । साथै, यसको माइलेज पनि ५८ किलोमिटर प्रतिलिटर रहेको कम्पनीको दाबी छ ।

अन्य फिचरहरू पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको छ । यो स्कुटरमा १२५ सिसीको बिएस ६ कम्प्ल्यान्स यामाहा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन जडान गरिएको छ । साथै, अंग्रेजी अक्षर ‘वाई’ आकारको नयाँ एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्टअपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक फिचर स्कुटरमा रहेका छन् । यो स्कुटरको मूल्य नेपालमा दुई लाख ५४ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

यामाहा फेसिनो १२५ एफआई
यामाहाले ‘क्लासिक युरोपियन’ स्टाइल भएको फेसिनो १२५ पनि भर्खरै सार्वजनिक गरेको छ । फेसिनो १२५ मा बिएस–६ कम्प्लाइन्ट एफआई इन्जिन छ, जसले पारम्परिक कार्बुरेटर इन्जिनले भन्दा ३० प्रतिशत बढी पावर उत्पन्न गर्नुका साथै १६ प्रतिशत कम इन्धन खपत गर्छ ।

यसमा ‘स्मार्ट मोटर जेनेरेटर’ (एसएमजी) प्रविधि राखिएको छ, जसले एकै दबाबमा सजिलै इन्जिन ‘अन’ हुन्छ । साथै, इन्टरनेसनल यामाहा सिरिजहरूमा जस्तै फेसिनो १२५मा पनि ‘साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच’ राखिएको छ । राइडरको सुरक्षालाई ध्यानमा राखेर यसमा ‘युनिफाइड ब्रेकिङ सिस्टम’ (युबिएस) र ‘फ्रन्ट डिस्क ब्रेक’ जडान गरिएको छ । जसको मूल्य दुई लाख ४९ हजार नौ सय रुपैयाँ तोकिएको छ । 

यामाहा एक्सटिजी १५०
यामाहाले दसैँअघि अफरोड बाइक पनि बिक्री सुरु गर्ने भएको छ । यामाहा एक्सटिजी १५० सबैभन्दा सस्तो अफरोड डटबाइक हुने कम्पनीको अनुमान छ, तथापि यसको मूल्य भने अझै सार्वजनिक गरिएको छैन । यसमा एक्सटिजी १२५ को तुलनामा ह्यान्डबार रि–एड्जस्ट गरिएको छ । यसमा १५० सिसीको ४ स्ट्रोक, एसओएचसी २ भल्भ एअरकुल्ड भएको एफआई इन्जिन हुनेछ, जसले १२.२ एचपीपावर र १.२८ केजीमिटर टर्क उत्पन्न गर्छ । यो बाइकमा फ्रन्ट डिक्स्क ब्रेक, १५० सिसीको ब्लुफ्लेक्स इन्जिन, ह्वाइट एलइडी लाइटजस्ता फिचर छन् । 

बजाज एभेन्जर स्ट्रिट १६०
बजाज मोटरसाइकलका लागि अधिकृत विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले नेपाली बजारमा नयाँ एभेन्जर स्ट्रिट १६० एबिएस भित्र्याएको छ । नयाँ एभेन्जर स्ट्रिट स्पोस्टर डिजाइनमा छ । रोडस्टर डिजाइनको हेडल्याम्प र एलइडी डिआरएलले दीर्घकालीन छाप सिर्जना गर्ने कम्पनीको दाबी छ । यसमा सहर र हाइवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रिट कन्ट्रोल ह्यान्डलबारहरू प्रयोग गरिएको छ ।

यो १६० सिसी डिटिएस–आई इन्जिनद्वारा सञ्चालित छ, जसले १६०ः१५ पिएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्छ । नयाँ एभेन्जर स्ट्रिटको अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेक प्रयोग गरिएको छ । यो बाइकको प्रारम्भिक मूल्य तीन लाख १९ हजार नौ सय तोकिएको छ ।

टिभिएस अपाचे आरटिआर २०० फोरभी
जगदम्बा मोटर्सले नयाँ स्टाइल, अत्याधुनिक सुविधा, गज्जबको रेसिङ क्षमता भएको आरटिआर २०० ४भी बाइकको नयाँ २०२० संस्करण नेपालमा भर्चुअल रूपमा सार्वजनिक गरेको छ । यो बाइक आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त छ ।

बाइकमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, फोन कल, एसएमएस अलर्ट, हेलमेट वार्निङजस्ता सुविधा उपयोग गर्न पाइन्छ । बाइकमा स्पिडोमिटर, टेकोमिटर, गियर इन्डिकेटर, लो फ्युल वार्निङ, रियल टाइम क्लक, एबिएस, एलइडी हेडलाइट, नयाँ रेसिङ ग्राफिक्सलगायत सुविधा छन् । यो बाइकको मूल्य नेपालमा तीन लाख ३९ हजार नौ सय रुपैयाँ तोकिएको छ । 

सुझावित समाचार