बलात्कार आरोपमा वडासचिव पक्राउ

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

महोत्तरीमा  ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा  एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भंगहा नगरपालिका– ९ का वडासचिव करिब ५१ वर्षीय मिथिलेश यादव रहेका छन् ।  पीडितको बयानको आधारमा प्रहरीले बुधबार राति ९ बजे अनुसन्धानको लागि उनलाई नियन्त्रणमा लिएको हो ।

भंगहाकै सोही वडाको मुसहरी टोलकी विवाहित महिला बजारबाट राति ८ बजे घर आउँदै गर्दा उनलाई यादवले बलात्कार गरेको पीडितको भनाइ छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी टीकाप्रसाद केसीले घटनालगत्तै  पीडित महिलाले प्रहरी चौकीमा आएर घटनाबारे जाहेरी दिएपछि  तत्काल आरोपीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको बताए ।

उनले एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसिएमसी)मार्फत पीडितको मेडिकल जाँच भइरहेको  जानकारी दिए । घटनाबारे थप विवरण भने मेडिकल रिपोर्ट र अन्य अनुसन्धानपछि मात्र खुल्ने बताए ।

सुझावित समाचार