लकडाउन समयको विद्युत् महसुल जरिवाना छुटको माग राख्दै विरोध प्रदर्शन

मंगलबार, १३ असोज, २०७७
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले लकडाउनको समयमा सेवाग्राहीहरूसँग विद्युत् महसुल जरिवानासहित लिएपछि त्यसको विरोधमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी वीरगन्ज महानगर अध्यक्ष ईश्वर यादवको अगुवाइमा मंगलबार बिहान १० बजेदेखि  १ घन्टा विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रको गेटअगाडि विरोध प्रदर्शन भएको हो ।

सहभागीहरूले लकडाउन अवधिभरको विद्युत् महसुल बढी लिन नपाइने भन्दै विरोध प्रदर्शन गरिएको बताए । उनीहरूले लकडाउन समयमा जरिवानासहित महसुल लिएका सेवाग्राहीको रकम फिर्ता गर्न, लोडसेडिङको अन्त्य गर्न  र उचित पार्किङको व्यवस्था गर्न माग गरेका छन् ।  

लकडाउन र निषेधाज्ञाका कारण घरबाहिर निस्कन बन्देज लगाएको वेलामा विद्युत् प्राधिकरणले जरिवाना थपेर विद्युतको महसुल तिर्न लगाएपछि उपभोक्ता मर्कामा परेका छन् । लकडाउन र निषेधाज्ञाका वेला प्राधिकरणका कर्मचारी आफैँ मिटरको रिडिङ गर्नसमेत नआएको प्राधिकरणले साउन र भदौ महिनाको महसुलमा जरिवाना थपेर बिल पठाएको भन्दै उपभोक्ताले आक्रोश  पोखेका छन् । 

विरोध प्रदर्शनमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, प्रदेश सभा सदस्य जन्नत अन्सारी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तवरेज अहमदलगायतका नेता–कार्यकर्ताको सहभागिता थियो । 

यता नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख शम्भु कुसियत यादव लकडाउनको समयमा केन्द्रले तोकेको समयमा विद्युत् महसुल अनलाइन र बैंकमार्फत भुक्तानी गर्दा कार्यालयले लिने अतिरिक्त शुल्क पनि तिर्न नपरेको बताए ।

लकडाउनको समयमा नेपाल विद्युत् प्राधिकरणले अनलाइन बिल भुक्तानी सेवा गरेपछि अधिकांश उपभोक्ताले  घरमै बसिबसी मोबाइल एप्लिकेसनको माध्यमबाट विद्युत् महसुल बुझाएको उनको दाबी छ । तर, लकडाउनको समयमा वा लकडाउन खुकुलो भएको समयमा विभिन्न माध्यमबाट सूचना प्रवाह गरेकाले सूचना पाएर नआएका वा जानकारी नपाएका सेवाग्राहीले रकम नबुझाएकाले जरिवाना रकम बुझाउनुपरेको प्रमुख यादवले बताए । 

सुझावित समाचार