क्यालिफोर्निया महाविनाश

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

म विगत ५० वर्षदेखि क्यालिफोर्निया राज्यको मध्यभागमा बसिरहेको छु । यस अवधिमा यहाँ मैले धेरै विपद् देखेँ । चार ठूला खडेरी, पाँच ठूला बाढी, ७.० रेक्टरभन्दा माथिका आधा दर्जन भूकम्प र अमेरिकी इतिहासका सबैभन्दा ठूला १० मध्ये तीन डढेलो आफैँले भोगेँ । 

अहिले मेरो घर रहेको फ्रेस्नो क्षेत्रनजिक ऐतिहासिक स्तरको डढेलो लागेको छ । विगतमा पनि यस्ता डढेलो लाग्थे र प्रत्येक विपद्पछि मानिसहरू बिस्तारै विपद् बिर्सिन्थे, पुरानै मार्गमा फर्किन्थे । विगत एक सय ७० वर्षमा ठूला बाँध, नहर, टर्बाइन पम्प, पावर ग्रिड, सडक, कोडमार्फत विपद्लाई नियन्त्रण राख्ने प्रयास गरियो । यी प्रयासका बाबजुद क्यालिफोर्निया अझै पनि विश्वको सबभन्दा विपद्युक्त क्षेत्रमा दरिएको छ । अनि जब हामी कुनै एउटा विपद्मा फस्छौँ, बाँकी सम्पूर्ण विपद्का सम्भावनालाई बिर्सिदिन्छौँ । 

कहिलेकाहीँ मेरो छोरा क्यालिफोर्नियाको डढेलोबारे मसँग कुरा गर्छ । त्यसक्रममा ऊ यस राज्यको डढेलो जलवायु परिवर्तनले निम्त्याएको हो कि भन्ने प्रश्न गर्छ । म उसलाई क्यालिफोर्नियाको विपद् जलवायु परिवर्तनभन्दा धेरै पुरानो भएको सम्झाउँछु । अघिल्लो महिना, डेथ भ्यालीमा सम्भवतः हालसम्मकै सबैभन्दा उच्च तापमान मापन भयो । त्यस्तै, तीन दिनको अवधिमा राज्यमा दश हजार चट्याङ पर्यो । यिनै चट्याङले ६ सय ठाउँमा आगजनी गर्यो । यसबाट अहिले झन्डै दश लाख एकड क्षेत्रफल जलिरहेको छ ।

क्यालिफोर्नियामा अब ९.७ करोड एकड मात्र जल्न बाँकी छ । विगतमा पहिले स्पेनिस र पछि श्वेत अमेरिकीले आदिवासी अमेरिकीबाट झन्डै हजार माइल लम्बाइको जमिन खोसे र त्यसलाई एक राज्यमा बदले । यो राज्य भौगोलिक रूपमा निकै विविधतापूर्ण छ । यसको दुई कुनाबीच १० डिग्री देशान्तरको फरक छ । त्यसैले कुनै एक छेउमा १२५ इन्चको पानी पर्दा अर्को छेउमा सात इन्च परिरहेको हुन सक्छ ।

बस्ती घना हुँदै गएपछि यहाँको प्रकृतिमाथि निकै छेडखानी सुरु भयो । यस धर्तीको सतहमा भएको सबैभन्दा व्यापक फेरबदलमध्ये एउटा क्यालिफोर्नियाको सेन्ट्रल भ्यालीमा भएको थियो । फ्रेस्नो स्क्र्यापर नामक औजारले उखडखाबड भूमि सम्याइयो र नदीलाई पहिले नगएको ठाउँतर्फ बंग्याइयो । किसानले खेतीका लागि हिउँ पग्लेका स्थानदेखि उपत्यका, झाडीजस्ता ठाउँ परिवर्तन गरे । कपासखेतीका लागि मिसिसिपी नदीको पश्चिममा रहेको सबैभन्दा ठूलो ताललाई सुकाइयो । यतिले पनि नपुगेपछि जमिनमुनिको पानी निकाल्न थालियो । भूमिगत पानी यति निकालियो कि जमिन भासिन थाल्यो । 

यति विध्वंशपछि क्यालिफोर्नियाका विश्वस्तरीय सहर बनेका हुन् । यी सम्पूर्ण प्रयास हेर्दा अहिलेको विपद् स्वाभाविक नै मान्नुपर्छ । त्यसबाहेक काष्ठ उद्योगले राज्यमा अप्राकृतिक रूपमा प्रकृतिलाई आजसम्म रूपान्तरण गरिरहेका छन् । व्यापारका लागि तिनले ठूलो मात्रामा निश्चित खालका रूख ठूलो मात्रामा लगाउँदा बस्ती र वन जोडिन पुगेका छन् । यसले डढेलो सजिलै गाउँ पस्ने वातावरण बनेको छ ।

क्यालिफोर्नियालाई खडेरी, बाढी, डढेलो, भूक्षय, भूकम्पजस्ता कुनै विपद्ले छाडेको छैन

क्यालिफोर्निया यात्राको क्रममा मेरो भेट रिचर्ड विल्सनसँग भयो । वृद्ध विल्सनले सन् १९९० को दशकमा क्यालिफोर्निया राज्यको वन विभाग तथा डढेलो नियन्त्रण विभागको नेतृत्व गरेका थिए । उनका अनुसार विगतमा आदिवासीबाट जमिन खोस्दाको समयमा त्यहाँको वन निकै स्वस्थ थियो । रूखहरू यहाँको वातावरणलाई सुहाउने हिसाबले छरिएर रहेका थिए र तिनको उचाइ पनि भिन्न थियो । खुला र असमानताले डढेलो धेरै फैलिन दिँदैनथ्यो । डढेलो जति लाग्थ्यो, त्यो तल झारमा लाग्थ्यो र यसले जमिन मलिलो बनाउन सहयोग गथ्र्यो । 

सन् १९८० को दशकमा ठूला टिम्बर कम्पनीले अग्ला रूख काटेर घना वन रोप्ने प्रथा सुरु गरे । ‘यसले प्रत्येक रूख सलाइको काँटीजस्तो भइदिन्छ,’ विल्सनले भने । सन् २००० को दशकमा विल्सनको विभागमा रूपान्तरण देखियो । खाकी युनिफर्म तथा ह्याट लगाएका रेन्जरहरू एकाएक हराउन थाले । तिनले पहिले नियन्त्रित रूपमा निश्चित ठाउँमा आगो लगाउने गर्थे । तिनको ठाउँमा राम्रो आय भएका निलो कपडाधारी कर्मचारी देखिए । जसले डढेलो लागिसकेपछि निभाउँथे । आजको दिनमा क्यालिफोर्नियामा अग्निनियन्त्रण व्यवसाय अर्बौं डलरको भएको छ । तिनमा ब्ल्याक हक हेलिकोप्टर, फायर इन्जिन, सी–१३० हर्कुलसको ठूलो कारोबार चलिरहेको छ । 

‘प्याराडाइज’ नामक क्षेत्रमा भएको आगजनीपछि २५ हजार बासिन्दा सुरक्षित स्थानमा भागे । केही त फ्लोरिडासम्म पुगे, धेरै चाहिँ उपत्यका क्षेत्रमा पुगे । केही त कहिल्यै नफर्किने सोचमा छन् । ६ वर्षे खडेरीले धेरै रूख मरिसके । राज्यमा भइरहेको परिवर्तन र बढ्दो जनसंख्याले कुनै समय विश्वको आश्चर्य मानिने यहाँको जल प्रणालीले धान्न नसक्ने भएको छ । अत्यधिक वृद्धिको चापले प्रणालीमा निकै ठूलो भार पारेको छ । केही मानिसलाई क्यालिफोर्निया समयअघि नै अन्त्य हुन लागेको पर्न थालेको छ । तर, पहिले पनि धेरैपटक यस्तो भनिएको थियो । विगतमा पनि क्यालिफोर्नियाले आफूलाई बदलेर समयअनुकूल रूपान्तरण गरेको छ, यसपटक के हुन्छ, हेर्न बाँकी छ । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार