पाँचथरको विपत् व्यवस्थापनका लागि मन्त्री नेम्ङवाले गरे २० लाख सहयोग

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

पाँचथरबाट संघीय संसदमा निर्वाचित सांसद तथा भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले प्राकृतिक विपत् व्यवस्थापन तथा महामारीसँग जुध्न जिल्लावासीलाई सहयोग गरेका छन् । 

जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत मन्त्री नेम्वाङले प्राकृतिक विपत् व्यवस्थापनका लागि नगद २० लाख रुपैयाँ र कोरोना रोकथामका लागि १५ सय थन सर्जिकल मास्क, दुई सय थान भिटिएम, दुई सय थान ग्लोभ्स प्रदान गरेका हुन् ।

जिल्ला समन्वय समितिको चौथो जिल्ला सभामा गरिएको घोषणाअनुसार फिदिम नगरपालिकालाई तीन लाख, तुम्बेवा गाउँपालिकालाई दुई लाख र अन्य गाउँपालिकालाई दुई लाख ५० हजारका दरले रकम सहयोग गरेका हुन् । 

जिल्लामा क्रियाशील विपत् व्यवस्थापन समितिले प्राप्त रकमलाई सबै स्थानीय तहलाई तत्कालै हस्तान्तरणसमेत गरेको छ । तत्कालका लागि सामान्य सहयोग गरिए पनि जिल्लाको दीर्घकालीन विकासका लागि आफूहरूले लगातार काम गरिरहेको नेम्वाङले बताए । 

जिल्ला अस्पताल पाँचथरमा कोभिड अस्पताल स्थापनाका लागि पछिल्लो समय दुई करोड रुपैयाँ विनियोजन भएको उनले बताए । उनले भने, ‘१० वटा आइसोलेसन बेड र चारवटा भेन्टिलेटरसमेत रहने गरी हामीले अस्पतालकाे विकास गर्ने योजना बनाएका छौँ । कोभिड अस्पताल निर्माण भएसँगै परीक्षण र नियन्त्रणको दायरासमेत बढ्नेछ।’ 

पाँचथरका सबै गाउँपालिकामा १५ शय्याको अस्पताल स्थानपनाको काम बढिसकेको उनले बताए । देशका ४० जिल्लामा राष्ट्रिय विद्युत् पुऱ्याउने योजनाअनुसार पाँचथरमा पनि काम भइरहेको उनले जानकारी दिए । 

See More On

सुझावित समाचार