समाजमा विद्यमान मूल्य प्रणाली र परिवर्तित अर्थ सामाजिक आधारबीच निरन्तर संघर्ष चलिरहन्छ । विद्यमान मूल्य प्रणालीको आधार पनि समाजका वर्ग हुन् र सत्तारुढ या शक्ति सम्बन्धमा माथि परेको वर्गका विचार हुन् । यस्तो सामाजिक मूल्य या समाजलाई नियन्त्रण–निर्देशन गर्ने, व्यक्तिको आचारण व्यवहार र परिवार–परिवारबीचको सम्बन्धको निक्र्योल गरिदिने काममा यस्तो मूल्य प्रणालीको महत्वपूर्ण भूमिका हुन्छ ।
समाजमा यस्तो मूल्य प्रणालीको पुस्तान्तरण र पुनरुत्पादन पनि भइरहन्छ । यसले समाजमा कुरीति र अन्धविश्वासजन्य विषय पनि पुनरुत्पादन गरिरहन्छ । नेपाली समाजमा बोक्सीप्रथा, झाँक्री परम्परा, छाउपडी, दाइजो, परिवारमा सदस्यबीच हुने उँचनिचको सम्बन्ध, समाजमा सामाजिक वर्गहरू र विशेषगरी नेपालको सन्दर्भमा दलित गैरदलितबीचका विभेदकारी सम्बन्ध तथा महिला र पुरुषबीचको असमान सम्बन्ध यस्तै मूल्य प्रणालीका उपज हुन् ।
यस्तो मूल्य प्रणाली मध्ययुगीन सामन्तवादी अर्थ सामाजिक व्यवस्थाका उपज भए पनि तिनको यो लोकतान्त्रिक प्रणालीमा पनि निरन्तर पुनरुत्पादन भइरहेको छ । सबैभन्दा मुस्किलको कुरो भने ठुल्ठूला राजनीतिक आन्दोलन र क्रान्तिको नेतृत्व गर्ने राजनीतिक दल र तिनका गाउँ–गाउँसम्म फैलिएका सम्पर्क सञ्जालहरू केन्द्रीय राज्य प्रणालीबाट सामन्तवादलाई बिदा गर्न त तयार भए, तर समाजको पिँधमा रहेको यसको जरा र गुँड भत्काउन तयार भएनन् ।
प्रकारान्तरले राजनीतिक दलहरू र राज्यसत्ताका विभिन्न अंगले नै यस्तो मूल्य प्रणालीका विकृत परम्परा जोगाउन भूमिका खेलेका छन् । गएका केही महिनामा नेपालका विभिन्न भागमा भएका बोक्सीसम्बन्धी घटना र त्यसमा राज्यसंयन्त्र अर्थात् प्रहरी न्यायालय र राजनीतिक नेतृत्वले खेलेको भूमिका हेर्दा देखिने चित्र पनि यही हो ।
यस सम्बन्धमा गाउँ समाज या स्थानीय परम्परामा आधारित समाजका अगुवा, पञ्चायतीजस्ता संस्थाहरूसमेत समाजको विकृत मूल्य–परम्परा र दमनकारी शक्ति सम्बन्धका स्रोत बनेर समाजको उदारवादी पुनर्संरचनामा बाधक बनिरहेका पाइन्छन् । यिनले कतिपय सन्दर्भमा राज्यले दिएका अधिकार उपभोग गर्नबाट कमजोर वर्गलाई रोकिरहेको र कतिपय सन्दर्भमा स्थानीय राजनीतिक नेतृत्वको आड र स्थानीय प्रशासनको प्रहुँच प्रयोग गरेर यस्तो मूल्य प्रणालीलाई कानुनभन्दा माथि राख्न सक्रिय भूमिका खेलिरहेकोसमेत पाइन्छ ।
कुरीति या कुविश्वास जोगाइराख्ने स्थानीय मूल्य प्रणालीको परम्परा र त्यसको पुनरुत्पादन प्रक्रियामाथि तत्काल हस्तक्षेप गर्नु जरुरी देखिन्छ । यसका लागि सरकारका औपचारिक संस्थासहित राजनीतिक दल र सामाजिक अभियन्ताले हस्तक्षेप थाल्न सक्छन् ।
हालै सिराहा जिल्लाको नवराजपुर गाउँपालिका कुर्सन्डीको शिवमन्दिरमा राति जम्मा भएका गाउँले या पञ्चायतीमा बसेकाले स्थानीय मूर्तिदेवी यादवलाई बोक्सी घोषणा गर्दै कुटपिट गर्नुका साथै मलमूत्रसमेत खुवाएको समाचार आयो । घटनाको सात दिनपछि प्रहरी गएर घटनास्थलको मुचुल्का त गर्यो, तर पीडितको उपचार व्यवस्था र पीडकमाथि कार्बाहीको प्रक्रिया अझै सुरु भएको छैन ।
उक्त घटनामा गाउँकी कुनै बालिका बिमारी भएको कुरा र चट्याङमा परी एकजनाको ज्यान गएको कुरासमेतमा मूर्तिदेवीलाई दोषी ठहर्याएर दण्डित गरिएको भनिएको छ । यस्तो कुरीति या कुविश्वास जोगाइराख्ने स्थानीय मूल्य प्रणालीको परम्परा र त्यसको पुनरुत्पादन प्रक्रियामाथि तत्काल हस्तक्षेप गर्नु जरुरी देखिन्छ । यसका लागि सरकारका औपचारिक संस्थासहित राजनीतिक दल र सामाजिक अभियन्ताले हस्तक्षेप थाल्न सक्छन् ।
यसमा मुख्य जिम्मेवारी भने राजनीतिक दलहरूकै हो, जसका घरघरमा सम्पर्क छन्, जसले समाजलाई राजनीतिक रूपमा ध्रुवीकृत गरेर आफ्नो पक्षमा मत खसाल्ने मनोविज्ञानको निर्माण गरी निर्वाचन जितिरहेका छन् । भोट भड्किने डरले विकृति फैलाउने पक्षलाई कार्बाही गर्न नसक्ने र पीडितलाई न्याय दिन नसक्नेले समाजमा सुशासन कायम गर्छन्, भ्रष्टाचार हटाउँछन् र लोकतन्त्रलाई बलियो बनाउँछन् भनेर विश्वास गर्न सकिन्न ।