व्यवसाय खुले, थप सतर्क बनौँ

बिहिबार, १ असोज, २०७७
डिजिटल संस्करण

झन्डै ६ महिनाको प्रतिबन्धपछि लामो दूरीका यातायात तथा आन्तरिक हवाई सेवा सञ्चालनमा आउने भएका छन् । यससँगै होटेल तथा रेस्टुरेन्ट पनि खुल्नेछन् । लकडाउनको अवधि लम्बिँदै जाँदा यातायात क्षेत्रका झन्डै १० लाख श्रमिक बेरोजगार बन्न पुगेका थिए । व्यवसायी समस्यामा फस्दै गएको र यस्ता व्यवसायसँग जोडिएका खाजा, खाना होटेल, राजमार्गकिनारका खाजा पसलहरू पनि पूर्ण रूपमा बन्द थिए ।

काठमाडौंलगायत मुख्य व्यापारिक केन्द्रसँगको सम्पर्क टुटेपछिको यसको असर व्यापार व्यवसायका अरू क्षेत्रमा पनि थपिएको थियो । आन्तरिक हवाई उडान ठप्प हुँदा अत्यावश्यक अवस्थामा पनि मानिस आउजाउ गर्न पाएका थिएनन् । अर्थतन्त्रमा यसका अल्पकालीन र दीर्घकालीन दुवै असर परेका छन्, जुन आगामी दिनमा थप गहिरिँदै जाने अपेक्षा गरिएको छ ।

पछिल्लो सूचनाअनुसार एसियाली विकास बैंकले चालू आर्थिक वर्षका लागि नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिसकेको छ । भारतीय अर्थतन्त्रमा आएको भारी गिरावटको प्रभाव पनि नेपालको अर्थतन्त्रमा नकारात्मक रूपमै पर्ने निश्चित छ । पर्यटक अझै आठ–दश महिना आउने सम्भावना न्यून छ । यसले गाउँमा अवसर नभएकालाई सहर र विदेशतिर धकेलिसकेको छ ।

सहरमा बेरोजगार हुनेहरू एक पेट खानकै लागि स्वयंसेवीले बाँड्ने खानामा निर्भर हुन थालेका छन् । जो यस्तो पंक्तिमा दरिएका छन्, तिनको अरू विकल्प छैन भन्ने स्पष्ट छ । यसैले रोगबाट समाजलाई जोगाउन जति जरुरी छ, त्यति नै जरुरी छ, भोकबाट जोगाउन । अरू देशले विपत्मा या भोकमरीमा परेका आमसर्वसाधारण जनतालाई भोकै नपरून् भनेर नगद सहयोग गरेका भए पनि नेपालले अझै त्यस्तो सहयोगको उपाय अवलम्बन गरेको छैन । 

अब व्यक्ति–व्यक्ति र परिवार तथा समुदायले संक्रमणबाट थपिने जोखिम कम गर्न थप सतर्कता अपनाउनु जरुरी छ । स्वास्थ्यसम्बन्धी मापदण्ड कडाइका साथ पालन गर्ने, अत्यावश्यक अवस्थामा बाहेक आउजाउ नगर्ने र घरबाहिर ननिस्किने उपाय नै रोग फैलन नदिने मुख्य विधि हो ।

आरम्भमा जे–जति राहत बाँडियो, त्यसपछि राज्यले आफूसँग यस्तो राहतका लागि स्रोत परिचालन गर्ने क्षमता नभएको भन्दै हात ठड्याएको अवस्था छ । यति नै वेला काठमाडौं, चितवन र पोखराजस्ता घना बस्ती भएका उपत्यका संक्रमणको उच्च दरको सामना गरिरहेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो साता देशभरको संक्रमणको ४० प्रतिशतभन्दा बढी संक्रमण कायम भएको छ । यो लकडाउन खुलेको एक–दुई दिनको चित्र हो । अब थप व्यवसाय खुलेसँगै उपत्यकासँग देशभरको जनताको आउजाउ र अन्तर्क्रिया हुने र त्यसले काठमाडौंको संक्रमण देशका अरू भागसम्म विस्तार गर्ने जोखिम बढाउनेछ । यो यस्तो चेपुवाको अवस्था हो, जसको सामना नगरी हामी अघि बढ्न नसक्ने भएका छौँ ।

त्यसैले अब व्यक्ति–व्यक्ति र परिवार तथा समुदायले यसबाट थपिने जोखिम कम गर्न थप सतर्कता अपनाउनु जरुरी छ । स्वास्थ्यसम्बन्धी मापदण्ड कडाइका साथ पालन गर्ने, अत्यावश्यक अवस्थामा बाहेक आउजाउ नगर्ने र घरबाहिर ननिस्किने उपाय नै रोग फैलन नदिन अपनाइने मुख्य विधि हो । नेपालमा राजमार्ग क्षेत्रमा खाना तथा खाजाका पसलहरू र शौचालयको व्यवस्थाले स्वास्थ्य मापदण्ड पालन गर्न मुस्किल पर्ने देखिन्छ ।

बसपार्कहरू नै पनि संक्रमणको दर बढाउन सहज हुने गरी भद्रगोल छन् । यसतर्फ विशेष ध्यान दिनु जरुरी छ । खाना तथा खाजा पसलले प्याकमा खाना बेच्ने र अलग्गै बसेर खान मिल्ने व्यवस्था गरेर संक्रमणको जोखिम घटाउन सक्छन् । यी उपाय सरकार र प्रशासनको दबाबमा होइन, स्वयं सचेत भएर मात्र पालन गर्न र सफल बनाउन सकिन्छ । अब स्थानीय सरकार र स्वास्थ्यसम्बन्धी सरोकारवाला निकायले यसतर्फ जनपरिचालनको कार्यक्रम ल्याउनु उचित हुनेछ । 

सुझावित समाचार