प्लास्टिकजन्य फोहोरले निम्त्याउन सक्ने जनस्वास्थ्य संकट

प्लास्टिकजन्य फोहोर उत्पादन गर्नेमा एसियाका विकासोन्मुख देशहरूको भूमिका ६० प्रतिशत छ, यस्तो फोहोर जुनसुकै देशमा उत्पादन भए तापनि यो अन्तरदेशीय समस्या हो

मंगलबार, ३० भदौ, २०७७
डिजिटल संस्करण

जारी कोभिड–१९ महाव्याधिबीच विश्वव्यापी रूपमा प्लास्टिकको अत्यधिक प्रयोग भइरहेको छ । हुन पनि यही प्लास्टिकको प्रयोगबाट स्वास्थ्यकर्मीले आफ्नो र बिरामीको जीवन रक्षा गरिरहेका छन् । मास्क, पन्जा, टोपी, फेससिल्ड, चस्मा, बुटलगायतका व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) स्वास्थ्यकर्मीका लागि मात्र होइन, अध्यागमन कर्मचारी, सुरक्षाकर्मीका साथै अन्य अत्यावश्यक सेवाका कर्मचारी र आममानिसको आवश्यकता हुन पुगेको छ ।

बन्दाबन्दीको अवस्थामा भौतिक दूरी कायम गर्ने क्रममा खाद्य तथा अन्य सामान (प्याकिङ) गरी घरघरमा पुर्याउने सिलसिलामा पनि प्लास्टिकको अत्यधिक प्रयोग भइरहेको छ । प्लास्टिकमा भाइरस टाँसिएर बस्ने र लामो समयसम्म जीवित रहने आमधारणाका कारण पुनः प्रयोगको सम्भावना पनि रहेन । एकपटक मात्र प्रयोग हुने यस्ता प्लास्टिकजन्य फोहोरका कारण आगामी दिनमा जनस्वास्थ्यमा ठूलो क्षति पुग्ने खतरा बढेको छ ।

नेपालमा एकपटक मात्र प्रयोग हुने प्लास्टिकको उत्पादन र व्यापक प्रयोग हुन थालेको दुई दशकजति भयो होला । यस अवधिमा प्लास्टिकको प्रयोग झोलामा मात्र सीमित नभई चिया–कफीको गिलास, मसिनो पाइप (स्ट्र), पानी वा औद्योगिक पेय पदार्थका बोतल, खाना खाने प्लेट, चम्चा, गिलास, कचौरा, भान्सामा प्रयोग हुने भाँडालगायत चिकित्सा सेवा, सञ्चार प्रविधि आदि दैनिक उपभोगका सामग्रीहरू प्रयोगमा ल्याइए । स्थानीय उत्पादनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औद्योगिक उत्पादनको प्याकेजिङमा प्लास्टिक निर्विकल्प प्रयोग हुँदै आएको छ । 

४० वर्षअघि काठमाडौंमा प्लास्टिकको झोलाको भर्खर प्रचलन हुँदै थियो । सहरबाट आउनेले गाउँमा त्यस्ता झोलामा कोसेली लैजान्थे । त्यस्ता झोला खुब जतन गरेर राखिन्थ्यो र खासखास अवसरमा प्रयोग गरिन्थ्यो । अझै भनौँ, प्लास्टिक झोलाको सान नै बेग्लै हुन्थ्यो, त्यतिवेला । सन् २०१८ मा इसिमोडले गरेको सर्वेक्षणअनुसार काठमाडौंमा मात्र दैनिक करिब ४८ लाख थान प्लास्टिकको झोला प्रयोगमा आउने गरेको पाइएको थियो ।

देशभरमा दैनिक उत्पादन हुने फोहोरको १६ प्रतिशत (अन्दाजी तीन टन) फोहोर प्लास्टिक हुने गरेको पाइएको थियो । तर, अहिले सहर मात्र होइन, गाउँमा समेत प्लास्टिक झोला समस्या बनिसकेको छ । उचित व्यवस्थापन हुन नसक्दा नदी, खोला, जमिन, सडक, सार्वजनिक स्थान सर्वत्र प्लास्टिक छरिएको देखिन्छ ।

यस्तो फोहोरले निकट भविष्यमा अर्को जनस्वास्थ्य महामारी निम्त्याउने सम्भावना बढेको छ । हालसम्म विश्वमा नौ अर्ब टनभन्दा बढी प्लास्टिक उत्पादन भइसकेको अध्ययनले देखाएको छ । यस्तो फोहोर कुनै न कुनै रूपमा प्रकृतिमा रहिरहन्छ । एउटा पुस्ताले छोडेको फोहोरको असर सातदेखि दश पुस्तासम्मका सन्ततिले भोग्नुपर्ने हुन्छ । 

पर्यावरण र जनस्वास्थ्यमा असर : प्लास्टिकले पर्यावरणमा कस्तो र कसरी असर पार्दछ भन्ने बुझ्न त्यति सहज छैन । यसका लागि प्लास्टिक उत्पादन, उपयोगदेखि विसर्जनका विभिन्न चरणका बारेमा सूक्ष्म अध्ययन गर्नुपर्दछ, किनकि यसका हरेक चरणमा फरक–फरक खालका विषाक्त रसायनहरू पैदा हुने गर्दछन् । त्यस्ता रसायनको नकारात्मक असर पनि बेग्लाबेग्लै हुन्छ । जस्तै– प्लास्टिकको कच्चा पदार्थ (कच्चा तेल) उत्खन्न गर्ने वेलामा जमिनबाट निस्कने विषाक्त गन्धसहितको रसायन हावामा मिसिएर जल–जमिन–वायुलाई विषाक्त पार्दछ ।

त्यस्तै, कच्चा पदार्थ प्रशोधनका क्रममा पैदा हुने कारसिनोजेनिक रसायनले मानिस मात्र होइन, अन्य जीव वा वनस्पतिलाई लामो समयसम्म क्षति पुर्याउँछ । दैनिक उपयोग वा विसर्जनको क्रममा यसबाट पैदा हुने सिसा, मर्करी, एसिड ग्यास जस्ता विषाक्त पदार्थका अति सूक्ष्म कणहरू कुनै न कुनै माध्यमबाट श्वास वा खानाका माध्यमबाट शरीरमा प्रवेश गरिरहेका हुन्छन् ।

सन् २०१८ मा इसिमोडले गरेको सर्वेक्षणअनुसार काठमाडौंमा मात्र दैनिक करिब ४८ लाख थान प्लास्टिकको झोला प्रयोगमा आउने गरेको पाइएको थियो । देशभरमा दैनिक उत्पादन हुने फोहोरको १६ प्रतिशत (अन्दाजी तीन टन) फोहोर प्लास्टिक हुने गरेको पाइएको थियो ।

यसबाट दीर्घकालीन रूपमा क्यान्सरलगायत मानसिक–प्रजनन–रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । यसको प्रत्यक्ष सम्पर्कमा आउनेहरूका सेल वा टिस्युलाई (कोषिका) नष्ट पारिदिन्छ, जसका कारण गम्भीर दीर्घरोगदेखि भावी पुस्तामा समेत नकारात्मक असर पर्ने हुन्छ । प्लास्टिक पूर्ण रूपमा नष्ट हुन करिब ५०० वर्षसम्म लाग्दछ, यसकारण पनि यो ठूलो समस्या हो । 

उपचारमा प्लास्टिकको प्रयोग : प्लास्टिकका कारण पर्यावरण र जनस्वास्थ्यमा पर्ने असरका सम्बन्धमा कुरा गरिरहँदा उपचारका क्रममा प्लास्टिकको बढ्दो प्रयोगलाई पनि बिर्सन सकिँदैन । आजकल कतिपय स्वास्थ्य समस्याको उपचारका क्रममा शरीरमा प्रत्यारोपण गरिने औजारसमेत प्लास्टिकबाट बन्ने गरेका छन् । जस्तो– हर्निया, तल्लो पेट झर्ने, पिसाब चुहिनेजस्ता शरीरका खास–खास अंग कमजोर हुदाँ बाँध्ने रिङदेखि मुटुको गतिलाई नियन्त्रित गतिमा सञ्चालन गर्न प्रत्यारोपण गरिने पेस मेकरजस्ता उपचारात्मक औजारहरूमा समेत प्लास्टिक अत्यधिक प्रयोग भएको हुन्छ ।

इन्डोस्कोपी र ल्याप्रोस्कोपी अप्रेसनदेखि मुटुको उपचारका क्रममा समेत प्लास्टिकको प्रयोग हुने गर्दछ । त्यसका अलावा क्याप्सुलको रूपमा प्रयोगमा आउने औषधि, औषधिका खोल, बट्टा वा सिसी, खोपका सिरिन्जमा पनि प्लास्टिकको प्रयोग हुन्छ । यस्ता उपचारसँग सम्बन्धित अन्य कैयौँ प्रयोजनमा प्लास्टिकको प्रयोग हुँदै आएको छ । त्यस्ता औजार वा सामग्रीका उत्पादकहरूले बढीमा ४० वर्षसम्म प्रयोग गर्न सुरक्षित हुने दाबी गर्ने गर्दछन् । यस्तो दाबी कति सत्य हुन्छ, यो राज्य वा अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन वा अध्ययन संस्थाको सरोकारको विषय हुन सक्ला, तर पूर्ण सुरक्षित भनी विश्वास गर्न सकिन्न । 

प्लास्टिकजन्य फोहोर नियन्त्रका प्रयास : प्लास्टिकको व्यावसायिक उत्पादन (फोहोरको अत्यधिक वृद्धि)का सम्बन्धमा विश्वमा आवाज उठ्दै आएको हो । यस सम्बन्धमा नियन्त्रण र निगमन गर्ने उद्देश्यले विश्व समुदायले केही कदम चाल्ने प्रयास पनि गरेको हो । केही देशले पातलो र एकपटक मात्र प्रयोग गर्न मिल्ने प्रकृतिका प्लास्टिकका सामग्रीको उत्पादनमा रोक लगाए भने कतिपय स्थानमा मूल्यवृद्धि गरी उपयोगलाई निरुत्साहित गर्ने प्रयास गरियो ।

नेपालमा पनि सरकारले ०७२ सालमा काठमाडाैं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो झोला प्रतिबन्ध लगाउने निर्णय गर्यो । विकल्पमा कागज वा वातावरणमैत्री प्याकिङ सामग्री विकास हुने क्रममा थियो । तर, त्यसलगत्तैको महाभूकम्पका कारण उक्त निर्णय कार्यान्वयन हुन सकेन । अहिले आइपरेको कोभिडले विगतका उपलब्धिहरूलाई उल्टाएको मात्र छैन, थप जटिल बनाएको छ । 

यसबीचमा देशहरू वा विश्वमा कति प्लास्टिक उपयोग र उत्पादन भयो भनी यकिन तथ्य आउन समय लाग्ला, तर चीनको वुहानमा कोभिडको संक्रमण उच्च भएको अवस्थामा त्यहाँका अस्पतालहरूबाट प्रतिदिन २४० टन फोहोर उत्पादन भएको तथ्यांक त्यहाँको पर्यावरण तथा वातावरण मन्त्रालयले जारी गरेको थियो । यस्तो फोहोर अन्य साधारण अवस्थामा दैनिक उत्पादन हुनेभन्दा करिब २०० टन बढी हो ।

उक्त बढेको फोहोरमा प्लास्टिकको हिस्सा अत्यधिक रहेको थियो । यसै तथ्यलाई आधार मान्दा विश्वमा अस्पतालजन्य फोहोर करिब ६ गुणाले बढेको हुन सक्ने अनुमान गर्न सकिन्छ । यस्तो अवस्था अस्पतालमा मात्र होइन, समुदायमा समेत चिन्ताजनक देखिन्छ । चीनमा फेब्रुअरी महिनामा मात्र ११ करोड ६० लाख थान एकपटक मात्र प्रयोग गर्न सकिने मास्क उपयोग भएको थियो । यो आँकडा अघिल्लो महिनाको भन्दा १२ गुणा बढी हो । त्यस्तै अवस्था थाइल्यान्डको पनि रहेको छ ।

त्यहाँ प्लास्टिकजन्य फोहोरको मात्रा करिब चार गुणाले वृद्धि भएको थियो । प्लास्टिकजन्य फोहोरको समस्या विकराल हुँदै गर्दा कुनै पनि देश यसको व्यवस्थापनमा लाग्न सकिरहेका छैनन् । कतिपय स्थानमा फोहोर संकलन गर्ने प्रक्रिया नै अवरुद्ध भएका कारण अन्य थप जटिलता निम्त्याएको छ ।
संयुक्त राष्ट्रसंघले २०२० मे ५ मा बैंककमा जारी गरेको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगको विज्ञप्तिमा सदस्य राष्ट्रहरूलाई प्लास्टिकजन्य फोहोरको उत्पादन र व्यवस्थापनमा प्रभावकारी कदम चाल्न सचेत पारेको छ ।

उक्त विज्ञप्तिअनुसार यस्तो फोहोर उत्पादन गर्नेमा एसियाका विकासोन्मुख देशहरूको भूमिका ६० प्रतिशत रहेको उल्लेख छ । आजको परिवेशमा यस्तो फोहोर जुनसुकै देशमा उत्पादन भए तापनि त्यो अन्तरदेशीय समस्या हो । भनिन्छ, समुद्रमा जम्मा भएको प्लास्टिकको ९५ प्रतिशत हिस्सा एसियाका नदीले त्यहाँ पुर्याउँछन् । यो तथ्यले अन्ततोगत्वा दिगो विकास लक्ष्य ११ (दिगो सहर र समुदाय), लक्ष्य १२ (जिम्मेवार उपभोग र उत्पादन) र लक्ष्य १३ (जलचरको संरक्षण) प्राप्ति चुनौतीपूर्ण मात्र होइन, असम्भवप्रायः सिद्ध हुँदै छन् । 

हालसम्म विश्वमा नौ अर्ब टनभन्दा बढी प्लास्टिक उत्पादन भइसकेको अध्ययनले देखाएको छ । यस्तो फोहोर कुनै न कुनै रूपमा प्रकृतिमा रहिरहन्छ । एउटा पुस्ताले छोडेको फोहोरको असर सातदेखि दश पुस्तासम्मका सन्ततिले भोग्नुपर्ने हुन्छ । 

कोभिड कहिलेसम्म रहन्छ भन्ने यकिन छैन । यसको रोकथाममा भरपर्दाे वैकल्पिक उपायहरू विश्वले नपाउन्जेल यस रोगको उपचारमा खट्ने स्वास्थ्यकर्मीको जीवनरक्षाका लागि प्लास्टिकको प्रयोग निरन्तर हुने सम्भावना छ । यस परिस्थितिमा व्यक्ति, समुदाय, बजार र राज्यले अत्यावश्यकीय सेवाबाहेकका क्षेत्रमा प्रयोग भइरहेको प्लास्टिकको उत्पादन र उपभोगमा कटौती गर्नु ढिला भइसकेको छ । यसका अलावा प्रयोगमा आएका प्लास्टिकजन्य फोहोरको संकलन गरी त्यसको प्रशोधन र सम्भव भएसम्म मानव तथा वातावरणलाई कम असर पर्ने तरिकाले पुनः प्रयोग गर्नेतर्फ सोच्नु अति जरुरी छ । 

फोहोर व्यवस्थापनमा कमजोरी : फोहोरको व्यवस्थापनमा नेपालले दीर्घकालीन योजनाका साथ ठोस प्रयास गरेको छैन । काठमाडौं उपत्यकाले मात्र दैनिक हजार टन फोहोर उत्पादन गर्दछ । त्यो फोहोरको अधिकांश हिस्सा उचित व्यवस्थापनको अभावमा यत्रतत्र छरिन्छ । विसर्जन गरेको भनिएको फोहोर अव्यवस्थित र खुला स्थानमा वर्षौंदेखि थुपार्दै जाँदा पर्यावरण र नजिकका बस्तीहरू प्रभावित भएका छन् । 

फोहोरको उत्पादन, संकलन र विसर्जन गर्ने कार्यमा सरोकारवालाहरूमा पर्याप्त जानकारी वा सुरक्षाको कमी पाइन्छ । फोहोरको वर्गीकरण गर्ने, हानिकारक फोहोरलाई निर्मलीकरण गरी विसर्जन गर्नेजस्ता साधारण नियम पनि पालना भएको देखिँदैन । फोहोर संकलकहरूले अपनाउनुपर्ने सुरक्षाका सावधानी अपनाएको पाइँदैन । यसले कोभिड र पछि आउन सक्ने गम्भीर स्वास्थ्य संकट निकै विकराल हुन सक्ने सहज अनुमान गर्न सकिन्छ । अस्पतालजन्य फोहोरको व्यवस्थापनमा हेलचेक्र्याइँ हुने गरेको समाचार पनि वेला–वेलामा आउने गरेकै छन् ।

फोहोर व्यवस्थापनको जिम्मा स्थानीय सरकारहरूको पहलमा हुनुपर्ने हो, तर त्यस्ता संस्थाहरू यसबारे आफैँ अनभिज्ञ छन् । एकादुई सचेत स्थानीय सरकार पनि प्राविधिक ज्ञान, सीप र स्रोतको जोहो गर्न नसक्ने अवस्थामा छन् । यस किसिमका गम्भीर कमजोरीलाई समयमा समाधान गर्न नसक्दा व्यक्ति, समुदाय वा राष्ट्रले निकै ठूलो मानवीय तथा पर्यावरणीय विपत्ति व्यहोर्नुपर्ने हुन सक्दछ । 

अन्तमा, कोभिडपश्चातको अवस्थाका लागि विश्व समुदाय नयाँ सामाजिक, आर्थिक रीतिस्थिति बनाउने तयारीमा जुटिरहँदा फोहोरको उत्पादनमा कटौती गर्ने, पुनर्प्रयोग वा सुरक्षित विसर्जनका उपायहरू कडाइका साथ लागू गर्न व्यक्ति, समुदाय र राज्यले कठोर कदम चाल्नु अत्यावश्यक हुन्छ । कम गुणस्तरको र एकपटक मात्र प्रयोग गर्न सकिने प्लास्टिकको अत्यधिक निर्भरतालाई कटौती गरी त्यसको विकल्पमा अन्य जैविक विधिहरू अवलम्बन गर्न अपरिहार्य छ ।

यो विकल्प सानो अर्थतन्त्र भएका र विकासोन्मुख देशहरूको हकमा सहज पक्कै हुनेछैन । त्यसका सम्बन्धमा नागरिक समाज, पेसाकर्मी एवं राजनीतिक नेतृत्वले भावी पुस्ताको स्वास्थ्य र राष्ट्रको समृद्धिका लागि सचेत पाइला चाल्नु अत्यावश्यक छ । त्यसमा चुक्यौँ भने कोभिडले आजपर्यन्त प्राप्त जानकारीका आधारमा मानवलाई मात्र असर गरेको छ, पछि आउन सक्ने विपत्तिले हाम्रो जल, थल र आकाश सर्वत्र असर पार्ने र त्यसको मुकाबिला गर्न विश्व समुदायलाई असम्भवप्रायः हुने आकलन गर्न सकिन्छ ।

(पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य  संकायका सह–प्राध्यापक हुन्)

सुझावित समाचार