अमेरिकामा कोरोनाका कारण बन्द भएका कलेजहरू बिस्तारै खुल्न थालेका छन् । पढाइ सुरु भए पनि कक्षा खाली–खाली नै छन् । यस्तोमा केही समयदेखिको प्रश्न पुन टड्कारो बन्न थालेको छ– यी पुराना अध्ययन संस्थानको अझै सान्दर्भिकता छ ? महामारीअघि क्याम्पसहरूमा खुला बहसमा नियन्त्रण लाग्न थालेको र तिनले मानवतावादलाई प्रवद्र्धन गर्न छाडेर विचारधाराहरू प्रवद्र्धन गर्न लागेको समाचारमा आइरहेका थिए ।
म ३७ वर्षको अन्तरालपछि पुनः सन् २०१९ बाट अध्यापनमा फर्केको छु । यो लामो ग्यापले गर्दा विद्यार्थीका लागि मेरा रुचि, मूल्य मान्यता र मेरो भाषा असान्दर्भिक हुने सोचेको थिएँ । मैले पढाउने किशोरहरू हामी कलेजमा पढ्दाको समयभन्दा कम पुस्तक पढ्लान् भन्ने आशंका थियो, जुन सही रहेछ । पुस्तक लेख्दै विश्व घुमेको ४५ वर्ष भएको हिसाबले मलाई मेरो यात्राको ज्ञानबारे घमण्ड थियो ।
म आफूले यात्राका क्रममा देखेका धेरै ज्ञान बाँड्न सकुँला भन्ने सोचमा थिएँ । तर, म गलत साबित भएँ । विश्वविद्यालयको पहिलो कक्षामा मेरो १६ जना स्नातक विद्यार्थीले आफूले घुमेका नाउरु, किर्गिस्तान र होङ्पोजस्ता कैयौँ ठाउँबारे बताए । ती कैयौँ स्थानको नामसमेत मैले सुनेको रहेनछु । मैले पढाउने एलिट विश्वविद्यालयका विद्यार्थीहरू म विद्यार्थी हुँदाताकाका भन्दा धेरै चलाख, धेरै परिपक्व, धेरै विश्वसनीय र विश्वबारे जानकार पाएँ ।
सबैभन्दा सुन्दर आश्चर्यचाहिँ ती पाठ्यपुस्तकमा नरहेका पाठबारे जानकार भएँ । एक दिन क्याम्पसले छाप्ने पत्रिका पढ्दा, मेरो नजर कक्षामा जोकरका रूपमा प्रस्तुत हुने एक विद्यार्थीको लेखमा गयो । उनले लेखेका थिए– उनमा धर्मप्रति आस्था नभए पनि उनी प्रत्येक आइतबार हुने चर्चको प्रार्थनामा सहभागी हुन्छन् । लेखका अनुसार उनी आफ्नो जानकारीमा रहेकोभन्दा फरक सोच राख्ने मानिसको विचार जान्न चाहन्थे । उनले धार्मिक भावनाले उत्पन्न गराउने अनुशासनको प्रशंसा गरेका छन् ।
पहिले उनी आफ्नो रुममेटको बलियो धार्मिक आस्था देखेर अचम्म पर्थे । रुममेटसँग धार्मिक विश्वासको विषयमा लामो बहस हुन्थ्यो । सोही बहसपछि उनलाई के लाग्यो भने एउटा बलियो धार्मिक विश्वास भएको व्यक्तिले अलग अडान सुन्छ भने एक ‘सेकुलर लिबरल’ले उसको सुन्नु पर्दैन ?
लेख पढिरहँदा मलाई यस्ता विद्यार्थीलाई मैले फरक संस्कृतिबारे जान्न भनिरहनु नपर्ने महसुस भयो । लेखमा एक युवा उमेरको व्यक्तिले हाम्रो समयको प्रमुख समस्यालाई सम्बोधन गरेको थियो : हामीहरू मुख्यतः आ–आफ्नो भिन्न मत हुने कुरामा समान छौँ । यो जलवायु परिवर्तनजस्तो विशाल विषय मात्र होइन, आफूले मास्क लगाएर अरूलाई भाइरस सर्नबाट जोगाउने कुरामा जोडिने इथिक्समै पनि देखिन थालेको छ ।
संसारमा हामीलाई विभाजित गर्ने मुद्दाबाहेक पनि धेरै कुरा छन् भन्ने जान्न विश्वविद्यालय सबैभन्दा उत्कृष्ट स्थान हो
मानिसहरू हरेक मुद्दामा आफ्नो राजनीतिक दलको भाषा बोल्छन् । सामाजिक सञ्जालको अहिलेको युगमा मानिसहरूलाई जति चर्को कुरा ग¥यो, त्यति धेरैको ध्यान तान्न सकिन्छ भन्ने परेको छ । यस्तोमा धेरैले आफ्नो विचार जतिसक्दो कठोर भएर पेस गरिरहेका छन् ।
फ्रान्सिस्कन समुदायका पुजारी रिचर्ड रोहर भन्छन्– यो संसारमा व्यक्तिगत अहंभन्दा खतरनाक कुरा एउटै छ– सामूहिक अहं । हामी आफूभित्र समाधान रहेको विषयको समाधान बाहिर खोजिरहेका छौँ । हामी सही नहुनुको अर्थ सधैँ गलत छौँ भन्ने पनि हुँदैन ।
अहिले कतिपय मानिस कैयौँ विषयको जवाफ राजनीतिक क्षेत्रमा नपाएर धार्मिक व्यक्तिलाई पछ्याउने गर्छन् । विम वेन्डर्सको वृत्तचित्र ‘अ म्यान अफ हिज वर्ड’मा पोप फ्रान्सिस अरूमा आफ्नो विचार थोपर्न नहुने कुरामा जोड दिन्छन् । दलाई लामा तिब्बत पक्षधर हुनु भनेको चीनविरोधी हुनु नरहेको बताउँछन् । दलाई लामाले जापान यात्राका क्रममा विश्व ‘भावनात्मक संकट’बाट गुज्रिरहेको र समाधानका लागि ‘भावनात्मक निःशस्त्रीकरण’ गर्नुपर्ने बताएको फ्रान्सिस बताउँछन् ।
लामाले यो नौलो पदावलीमार्फत हामी आ–आफ्नो दिमागमार्फत आफ्नो पीडा, आक्रोश र अन्योलभन्दा पर हेर्न सक्छौँ भनेर बताउन खोजेका हुन् । यसका लागि हामीले हरेक कुरालाई कालो र सेतोमा छुट्याएर नहेर्ने दिमाग प्रयोग गर्नुपर्छ । भावनात्मक निःशस्त्रीकरण आणविक निःशस्त्रीकरणभन्दा सजिलो पनि छ । दलाई लामाले भनेजस्तै फराकिलो दिमाग मेरा १६ विद्यार्थीमा पनि देखिन्थ्यो । ती आफ्नो विचार र अडानभन्दा पर हेर्न तयार देखिन्थे । कक्षामा एकजना समलिंगी खेलाडी पनि थिए, जो डोनाल्ड ट्रम्पका समर्थक थिए ।
ट्रम्पले समलिंगी अधिकारविरुद्ध बोलेको भनाइले पनि उनको समर्थन डगमगाएको थिएन । कक्षामा छलफलका लागि मैले बाराक ओबामाको ‘ड्रिम फ्रम माई फादर’को अंश पढ्न दिएको थिएँ । अर्को हप्ताको भेटमा ट्रम्प समर्थकले सुरुमै हात उठाए । उनले आफू ओबामाको पुस्तकमा रहेको बौद्धिकता, तर्क र तीव्रताबाट स्तब्ध भएको बताए ।
यसै कारण असाइनमेन्टको २० पृष्ठ पढेपछि उनले आफूलाई रोक्न सकेनन् र ४४२ पृष्ठको पुस्तकै पढेर भ्याए । मैले कक्षामा सिकेका धेरै कुरामध्ये सबैभन्दा मूल्यवान् यही थियो । भर्खर मत हाल्ने उमेरका विद्यार्थी यति फराकिलो दिमागका साथ सोच्न सक्छन् भने तीभन्दा एक–दुई पुस्ता बढीका हामी किन नर्सरीका बच्चाजस्तो साचिरहने ? विश्वविद्यालय जाँदा तपाईंलाई आफ्नो अज्ञानताको स्तर थाहा हुन्छ । यो कुरा विद्यार्थी र शिक्षक दुवैमा लागू हुन्छ । सम्भवतः विश्वविद्यालय जानुपर्ने सबैभन्दा महत्वपूर्ण कारण यही हो ।
पिको अड्ढयर लेखक हुन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य