कोरोना भाइरसले रूप फेर्नु नराम्रो होइन

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

तपाईंले पछिल्लो समय कोभिड–१९ निको भएकामध्ये केही बिरामी पुनः सार्स–कोभ–२ (कोरोना भाइरस)बाट संक्रमित भएको सुन्नुभएको होला । पुनः संक्रमित भएकाहरूलाई उक्त भाइरसको फरक स्ट्रेन (रूप)ले संक्रमण गरेका खबर आइरहेका छन् ।

अगस्टको अन्तिममा एक बिरामीमा विश्वमा पहिलोपटक सार्स–कोभ–२ बाट पुनः संक्रमण भएको ‘पुष्टि’ भएको खबर आयो । हङकङका ती संक्रमितलाई यसअघि मार्चमा भाइरसले संक्रमित गरेको थियो । तर, अहिले उनलाई पश्चिममा सक्रिय रहेको सार्स–कोभ–२ को अलग स्वरूपले समातेको पुष्टि भएको छ । पहिलो पुनःसंक्रमणको घटना पुष्टि भएको भोलिपल्टै युरोपका दुई मानिसलाई भाइरसले पुनःसंक्रमण गरेको समाचार आयो । 

त्यसपछि अमेरिकाको नेभाडामा एक बिरामीमा पनि भाइरसले पुनःसंक्रमण गरेको र दोस्रोपटकको संक्रमणमा पहिलोको भन्दा गम्भीर लक्षण देखिएको अपुष्ट समाचार आउन थाल्यो । यी समाचारले मानिसमा डर र अन्योल सिर्जना गरेको छ । अन्य भाइरसको संक्रमण पनि देहोरिएर हुन्छ, तर त्यसको अर्थ दोस्रो संक्रमण थप खतरनाक हुन्छ भन्ने होइन ।

भाइरसको पुनःसंक्रमणले खासमा मानवीय प्रतिरक्षा प्रणालीले काम गर्ने शैलीबारे बताउँछ । र, भाइरसले केही रूप बदल्दा त्यो खतरनाक हुन्छ नै भन्ने हुँदैन । भाइरस नियमित रूपमा ‘म्युटेसन प्रक्रिया’ (उत्परिवर्तन)बाट गुज्रने गर्छ । अधिकांश परिवर्तन भाइरस आफैँलाई खतरनाक हुन्छ । अध्ययनहरूले केही भाइरस उत्परिवर्तनका कारण लोप भएर गएको देखाएको छ । र, भाइरसको आमचरित्रअनुरूप सार्स–कोभ–२ पनि परिवर्तित भइरहेको छ ।

यो तथ्यमा महत्वपूर्ण प्रश्न उठ्छ– के परिवर्तित भाइरस वुहानमा पहिलोपटक पहिचान भएको भाइरसभन्दा खतरनाक वा बढी संक्रमणकारी छ ? तथ्यले त्यस्तो देखाउँदै छ । भाइरसको जेनेटिक कोड हुन्छ, जुन आरएनएबाट बनेको हुन्छ । आरएनएमा धेरै परिवर्तन हुने गर्छ । प्रकृतिमा उत्परिवर्तनले नयाँ प्रजाति जन्माउन सक्छ, तर आरएनए भाइरसमा हुने उत्परिवर्तनले नयाँ प्रजाति जन्माउनेभन्दा पनि सोही प्रजातिको नयाँ संस्करण (भ्यारियन्ट) निर्माण गर्छ । यो पनि निरन्तर हुने प्रक्रिया हो ।

यसैले गर्दा निरन्तरको परिवर्तनपछि पनि आजको सार्स–कोभ–२ को संस्करण वुहानको सुरुको भाइरससँग ९९.९५ प्रतिशत समान छ । अन्य कैयौँ भाइरसको तुलनामा सार्स–कोभ–२ को उद्विकास दर निकै सुस्त छ । भाइरस तीव्र गतिमा उद्विकासबाट गुज्रियो भने खोपले पनि नछुने समस्या हुने खतरा हुन्थ्यो, यो खतरा कोरोना भाइरसमा देखिँदैन । त्यसबाहेक विभिन्न अध्ययनले कोरोना भाइरसको परिवर्तनले त्यसको खतराको स्तर बढाएको देखिँदैन । 

हामीले एउटै रोगका विभिन्न स्थानमा भएका प्रकोपलाई तुलना गर्दै तीबीचको भिन्नतालाई हेरेर चिन्ता गर्नुअघि ती भिन्नतामा अन्य सामाजिक कारणको भूमिकालाई ख्याल गर्नुपर्छ । मृत्युदर वा संक्रमणदरको भिन्नताका लागि हालसम्म कोरोना भाइरसमा भएको उद्विकासले खासै केही भूमिका खेलेको देखिँदैन ।

सम्भवतः भविष्यमा यो भाइरस पनि आजको इन्फ्लुएन्जाजस्तै रहिरहनेछ । तर, अहिलेका लागि भने सार्स–कोभ–२ डिसेम्बरमा वुहानमा देखिएकै भाइरस हो । निश्चित रूपमा यसमा परिवर्तन आएको छ । तर, यो वैज्ञानिकले विगतमा सोचेकै हिसाबमा मात्र परिवर्तन भएको छ ।

उदाहरणका लागि जुन महिनामा अस्ट्रेलियामा देखिएको सार्स–कोभ–२ को नयाँ संक्रमण प्रकोपलाई हेर्न सक्छौँ । अस्ट्रेलियाको एक राज्य भिक्टोरियामा दैनिक सात सयसम्म संक्रमित भएको देखियो भने न्यु साउथ वेल्स राज्यमा यो दर निकै न्यून देखिन्थ्यो । त्यहाँ दैनिक १० को संख्यामा संक्रमित भएका थिए । दुवै स्थानमा कोरोना भाइरसको एउटै भ्यारियन्टले संक्रमण गराएको थियो । 

यो भिन्नताको खास कारण अहिले अनुसन्धानमै छ । तर, भिक्टोरियाको उच्च संक्रमण दरका लागि भिक्टोरियामा पहिले संक्रमण सुरु हुनु मुख्य कारण रहेको हुन सक्छ । भिक्टोरियामा संक्रमण बढ्न थालेपछि न्यु साउथ वेल्सका स्वास्थ्य अधिकारीहरू सतर्क भए र उनीहरू तयार हुने अवसर पाए, जसले गर्दा संक्रमण दर सीमित रह्यो । ती दुई स्थानमा मृत्युदरमा पनि भिन्नता देखिएको छ ।

यो भिन्नतामा भाइरसको भन्दा पनि भाइरसले कुन वर्गलाई प्रभावित गर्यो भन्ने कुराले असर गरेको छ । एक क्षेत्रमा नर्सिङहोममा भाइरसको संक्रमण फैलियो । वृद्धवृद्धामा संक्रमणले ज्यान लिने सम्भावना बढी हुने भएकाले मृत्युदर पनि बढी भयो । भाइरसमा हुने उद्विकासले तिनको प्रोटिनका सुइराहरूलाई बदले पनि मानव प्रतिरोधात्मक प्रणालीले प्रहार गर्ने भागमा भने असर गर्दैन । भाइरस लगातार उद्विकास प्रक्रियाबाट गुज्रन्छन् र सार्स–कोभ–२ मा फरक हुने कुरा हुँदैन ।

अनुसन्धाताले भाइरसको निरन्तर निगरानी राख्ने कारण पनि यही हो । उद्विकासले भाइरसमा पार्ने प्रभावबारे हामीले निगरानी राख्नु महत्वपूर्ण हुन्छ । सार्स–कोभ–२ थप संक्रमणकारी वा थप प्राणघातक बनिरहेको छ कि छैन भन्ने विषयमा निगरानी राख्नुपर्छ नै, किनकि यो छिटै उन्मूलन हुने देखिँदैन ।

सम्भवतः भविष्यमा यो भाइरस पनि आजको इन्फ्लुएन्जाजस्तै रहिरनेछ । तर, अहिलेका लागि भने सार्स–कोभ–२ डिसेम्बरमा वुहानमा देखिएकै भाइरस हो । निश्चित रूपमा यसमा परिवर्तन आएको छ । तर, यो वैज्ञानिकले विगतमा सोचेकै हिसाबमा मात्र परिवर्तन भएको छ । यसले हामीले कोरोना भाइरसको परिवर्तनमा चिन्ता लिनुपर्ने अवस्था छैन । 

एडवार्ड होल्म्स युनिभर्सिटी अफ सिड्नीका उद्विकासवादी भाइरसविज्ञ हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार