केही दिनअघि पल्लो गाउँमा एक हुल युवाले पार्टी परिवर्तन गरे । आफ्ना माग पार्टीले सम्बोधन नगरेको भन्दै लामो समयदेखिको आफ्नो पार्टीआबद्धता उनीहरूले भंग गरे । एकाएकको यो खबरले दुवै पार्टीमा तरंग सिर्जना भयो ।
नयाँ कार्यकर्ता पाएको पार्टीले उत्सव मनायो, इमानदार मान्छेहरू पार्टीमा आएको भन्दै विपक्षीको किल्ला भत्काएको घोषणा गर्यो । आफ्ना कार्यकर्ता गुमाएको पार्टीले अवसरवादीहरू पखालिएको दाबी गर्दै कुचोले बढार्नुपर्ने फोहोर आफैँ साइड लागेको उद्घोष गर्यो ।
यो परिघटनापछि राजनीतिक रूपमा कसलाई फाइदा वा कसलाई बेफाइदा भयो, त्यो सम्बन्धित दलकै छलफल र चिन्ताको विषय बन्ला । तर, समय–समयमा समाजमा भइरहने यस्ता गतिविधिले समाजलाई फाइदा गर्छ कि बेफाइदा ? देशलाई फाइदा गर्छ कि नोक्सानी ? खासमा यो दल परिवर्तनको संस्कार कति उचित वा अनुचित ? यही विषयको सेरोफेरोमा यो आलेखमा केही चर्चा गर्ने प्रयत्न गरिएको छ ।
निश्चय पनि जब निश्चित आग्रह वा अपेक्षाका साथ राजनीतिक दललाई सहयोग गरिन्छ, त्यो अपेक्षा पूरा नभएपछि मान्छेहरू दल परिवर्तनतिर लाग्छन् । जुन आश्वासन वा प्रतिबद्धताका साथ उनीहरूले पार्टीलाई साथ दिएका हुन्छन्, कालान्तरमा तिनै आशा र अपेक्षा, आश्वासन र प्रतिबद्धतामा धमिरा लागेपछि तिनले पार्टी परित्याग गर्छन् ।
यसरी दल परित्याग गरी अर्कोमा प्रवेश गर्दा स्वाभाविक रूपमा एक पक्षलाई आफ्ना कमजोरी सच्याउने बाध्यता बन्छ । अर्कोलाई थप जनताप्रति बफादार वन्न र जनताको सेवामा समर्पित बन्ने दायित्व थपिन्छ । त्यसकारण पनि दल परिवर्तनलाई स्वाभाविक रूपमा हेरिनुपर्छ । किनकि, केही दलका लागि मत परिवर्तन चर्चा र आलोचनाको विषय भए पनि यो परिघटनाले व्यक्ति, समाज अनि समग्र राष्ट्रलाई फाइदा नै पुर्याएको हुन्छ । यस अर्थमा दल परिवर्तन/मत परिवर्तन देशका लागि हितकर र फाइदाजनक नै हुन्छ ।
देशको वर्तमान अवस्थाको विषयमा चर्चा गरिरहँदा हामी देश बन्न नसकेकोमा चिन्ता व्यक्त गर्छौं । अनियमितता, बेथिति र भ्रष्टाचार बढेकोमा गम्भीर हुन्छौँ । आजसम्म सत्ताको नेतृत्व गरेकाहरूको आलोचना गर्छौं । धारेहात लाउँछौँ, सराप्छौँ । तर पनि उनीहरू निरन्तर सत्ता र शक्तिमा किन रहिरहन्छन् ? किन पटक–पटक असफल भएर पनि पटक–पटक कालोसूचीमा परेर पनि सत्ताको बागडोर उनीहरूसितै हुन्छ ? पटक–पटक जनताको भावनालाई कुल्चिएर पनि किन उनीहरू नै बारम्बार निर्वाचित भइरहेका छन् ? मन्थन गर्दैनौँ । चिन्तित बन्दैनौँ ।
चुनावअघिसम्म तिनै नेतालाई धारेहात लगाउँछौँ । दिनभर उनीहरूकै आलोचना गरेर दिन कटाउँछौँ । उसले नसुन्ने गरी पख्लास्, हेर्लास् पनि भन्छौँ, तर जब चुनाव आउँछ, हामी हाम्रा बुबा, हजुरबुबाहरूलाई सम्झन्छौँ । बुबाले समाउनुभएको हाँगो कति बलियो र आवश्यक छ भन्ने विचारै नगरी जतिसुकै कमजोर, अनावश्यक र अर्थहीन रहे पनि ड्याम्म त्यही चिह्नमा मत दिन्छौँ ।
हजुरबुबाले जुन चुनावचिह्नमा भोट हाल्नुभाथ्यो, त्यसको दायाँबायाँ गर्नु मात्र होइन, सोच्नु पनि अपराध हो भन्ठान्छौँ । परिणामतः हामीले धारेहात लगाएको, चोकमा बसेर आलोचना गरेको त्यही भ्रष्ट, कमिसनखोरले चुनाव जित्छ, अनि हाम्रो छातीमा बुर्कुसी मार्छ । मेरो पेसा केही छैन, नितान्त समाजसेवा (राजनीति) मात्र गर्छु भन्दै हिँड्छ, अनि जनतामारा लुटतन्त्र सुरु गर्छ । हामी निरन्तर यही नियतिमै गुज्रिइरहेका छौँ ।
देश नसुध्रिएको तपाईं–हाम्रो बुझाइमा चेत नभएर हो । म दाबीका साथ भन्छु, देशमा धेरै होइन, केही लाख मानिसले गलत ट्र्याकमा जाने नेता तथा दललाई परित्याग गरी मत परिवर्तन गर्दा हुन् त देश आजसम्म यही अवस्थामा रहने थिएन ।
अर्कोतिर, आशा, अपेक्षा, प्रतिबद्धता र आश्वासनमा धमिरा लागिसकेपछि पार्टी परिवर्तन गर्नेहरूलाई हामी चैते घोषणा गरिदिन्छौँ । स्वार्थका लागि राजनीति गरेको, बिकेर पार्टी परिवर्तन गरेको भन्दै घोक्रो सुक्ने गरी गाली गर्छाैं । यति मात्र होइन, सामाजिक बहिष्कारसमेत गर्न हामी पछि पर्दैनौँ । के हामीले गरेको यही व्यवहार नै कतै समस्याको जड त हैन ? गम्भीर समीक्षा गर्ने कि नगर्ने ? यसर्थ, आफूले अपेक्षा गरेको मान्छे वा दलबाट आश्वासन पूरा नभएपछि पार्टी परित्याग गरेको मान्छेका कारण देश बिग्रिएको होइन, देश त तपाईं–हाम्रो कारण बिग्रिएको हो, जसले खराब मान्छे हो भन्दाभन्दै पनि मत दिइरह्यौँ, खराब पार्टी हो भन्ने जान्दाजान्दै पनि हजुरबुबाले आफ्ना पालामा गरेको मत परिवर्तन गरेनौँ । जसले निरन्तर देश लुट्नेहरूलाई मात्र जानीजानी मत दिइरह्यौँ ।
यसर्थ, देश नसुध्रिएको तपाईं–हाम्रो बुझाइमा चेत नभएर हो । म दाबीका साथ भन्छु, देशमा धेरै होइन, केही लाख मानिसले गलत ट्र्याकमा जाने नेता तथा दललाई परित्याग गरी मत परिवर्तन गर्दा हुन् त देश आजसम्म यही अवस्थामा रहने थिएन । तिनैका कारण नेता अनि राजनीतिक दलहरूबाट गलत हर्कत हुने थिएन । हामीले गलत गर्नासाथ यिनले पार्टी छोड्छन्, यिनले साथ छोड्नासाथ चुनाव हारिन्छ भन्ने डरमा नेताले गलत काम गर्ने थिएनन् । फलतः देशले केही न केही फड्को मारिरहेको हुने थियो ।
तर, हामी तथाकथित इमानदार बन्यौँ । दल र मत परिवर्तन गर्नु अपराध हो भन्ने कुरा तिनै भ्रष्ट, कमिसनखोर अनि दलालहरूले हामीलाई सिकाइरहे । फलस्वरूप खुलेआम भ्रष्टाचार, अनियमितता अनि राज्य दोहन गरिरहँदा पनि कथित इमान बचाउनका लागि उनीहरूलाई नै मत दिइरह्यौँ । बेइमानी नगर्ने चाहनामा हरेकपटक देशलाई बेइमानी गरिरह्यौँ । आफूले मत दिने नेता कस्तो, कुन प्रकृतिको, कस्तो आचरणको, कुन स्तरको भन्ने हेर्दै नहेरी निरन्तर उसैलाई मत दिइरह्यौँ ।
फलतः इमानदार, नीतिवान् र निष्ठावान् हुनुपर्ने राजनीति लुटमार गर्ने, अथाह सम्पत्ति कमाउने सजिलो व्यवसाय बनिदियो । सत्ता र शक्तिमा पहुँच हुनेहरूले सिस्टम बनाएर देश अनि जनता लुट्ने, पहुँच नपाएकाहरूले भविष्यमा ठूलो नेता बनेर त्यसैगरी लुट्ने आशामा तिनैको गुलामी गर्दै मुख मिठ्याएर बस्ने संस्कार विकास भयो । जसका कारण देश सदाबहार गरिब, सदाबहार अविकसित अनि सदाबहार कमजोर बनिरह्यो ।
यसर्थ, देश नबन्नुको प्रमुख कारण चैते होइनन्, तपाईं–हामी नै हो, जसले सधैँ झिक्रो समात्नेबाहेक केही काम गर्न सकेनौँ । तसर्थ, गाली र आलोचना त्यही झिक्रो समातेर बसिरहेकाहरूलाई गरौँ, चैतेहरूलाई होइन । गलतलाई गलत ठान्ने अनि गलत नेता÷दललाई कुनै पनि वेला परिवर्तन गर्न सक्ने फराकिलो छाती भएकाहरूलाई खुला हृदयले स्वागत गरौँ । खराब आचरण, खराब प्रवृत्ति, खराब शैली अनि खराब व्यवहार भएका नेता/पार्टीलाई तिरस्कार गरौँ । सभ्य अनि सुसंस्कृत समाज निर्माणमा हातेमालो गरौँ । धन्यवाद !
प्रतिक्रियाका लागि : www.facebook.com/harinepali45