महाव्याधि र महाधिवेशनको मोडेल

पहिलेजस्तो हजारौँ महाधिवेशन प्रतिनिधि एकै ठाउँ भेला भएर महाधिवेशन गर्ने परिस्थिति नभएकाले अधिवेशन गर्ने तरिका हामीले बदल्नुपर्छ

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

सारा विश्व नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त रहेका वेला आगामी फागुनभित्र महाधिवेशन सम्पन्न गर्नैपर्ने बाध्यताका बीच नेपाली कांग्रेस जबर्जस्ती महाधिवेशनमा होमिन खोज्दै छ । एकातिर संक्रमण दिनानुदिन बढ्दो छ । निषेधाज्ञा, लकडाउनका कारण मुलुकमा खुलाभन्दा बन्द ठाउँ ज्यादा छन् । यस्तो अत्यन्तै संकटपूर्ण घडीमा पनि चौधौँ महाधिवेशन फागुन ७–१० काठमाडौंमा गर्ने निर्णयअनुसार प्रारम्भिक प्रक्रिया सुरु गरिएको छ ।

तर, महामारीका कारण प्रक्रियाले गति भने लिन सकेको छैन । कतिपय जिल्लामा समायोजनकै काम अझै टुंगिएको छैन । कतिपय जिल्लामा क्रियाशील सदस्यता फारामै पुगेको छैन । सदस्यता फाराम पुगेका जिल्लामा पनि बढ्दो संक्रमणका कारण कार्यतालिकाअनुसार सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका काम अघि बढेका छैनन् । तसर्थ, महाधिवेशन निर्धारित तिथिमै हुनेमा आशा कम आशंका ज्यादा छ । तथापि, महाधिवेशनको निर्धारित कार्यतालिका अहिलेसम्म फेरबदल भएको छैन । 

महाधिवेशन मूलतः गम्भीरतापूर्वक पार्टीको अद्यावधिक समीक्षा गर्ने, विगतका कमी कमजोरी औँल्याउँदै तिनको निवारण गर्ने र भावी रणनीति, नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने थलो हो । यसको मुख्य उद्देश्य पार्टीलाई गतिशील तथा चलायमान बनाई राख्नुका साथै समयसापेक्ष नीति, कार्यक्रम, विचारधारा परिमार्जन र परिष्कृत गर्नु हो । तर, दुर्भाग्य ! कांग्रेसको महाधिवेशनमा नीतिभन्दा नेतृत्वकै लागि बहस र विवाद हुने गर्छ ।

आगामी अधिवेशन पनि नेतृत्व चयनमै केन्द्रित हुने र अरू कुरा औपचारिकतामै सीमित हुने अनुमान गर्न सकिन्छ । इतिहासकै कमजोर एवं प्रतिरक्षात्मक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा आगामी महाधिवेशनले कांग्रेसको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अभिभारा बोकेको छ । तसर्थ, महाधिवेशनको मुख्य एजेन्डा एवं कार्यभार नेतृत्व चयन मात्र होइन कि सिद्धान्तको समयसापेक्ष पुनव्र्याख्या गरी स्पष्ट नीतिगत मार्गचित्र पारित गर्ने हुनुपर्छ । यस्तो हुन सकेमा मात्र महाधिवेशनको सार्थकता सिद्ध हुनेछ ।

वर्तमान परिप्रेक्ष्यमा उम्मेदवारी घोषणा गर्ने र आफ्नो स्थिति बलियो भएको दाबी गर्ने प्रतिस्पर्धा र होडबाजी नै चलेको छ । एकातिर बहस नेतृत्व हस्तान्तरण, पुस्तान्तरण, रूपान्तरण आदि विषयमा केन्द्रित छ भने अर्कोतिर सिट सुरक्षित गर्न आकांक्षीहरू छिटोभन्दा छिटो आ–आफ्नो पदको घोषणा गर्न तत्पर देखिन्छन् । हाम्रा क्षमतावान् एवं आसलाग्दा युवा नेताहरू पनि यस सन्दर्भमा पृथक छैनन् ।

नीति, सिद्धान्त, कार्यक्रममाथि केन्द्रित हुनुपर्नेमा आ–आफ्नो ठाउँ कसरी सुरक्षित गर्ने भन्नेमै केन्द्रित भएको देखिन्छ । यस्तो किसिमको प्रवृत्ति हरेक तहको नेतृत्व पंक्तिमा विद्यमान एवं बढ्दो छ । उमेर एउटा महत्वपूर्ण फ्याक्टर हो, तर एक मात्र फ्याक्टर होइन । वैज्ञानिक अनुसन्धानअनुसार निश्चित उमेर नाघेपछि मानवले मौलिक चिन्तन गर्न सक्दैन । आफूलाई दोहोर्याएर बस्छ । क्षमता, दृष्टिकोण, चिन्तन, कार्ययोजना, रणनीति, क्रियाशीलताका आधारमा नेतृत्व छनोट हुनुपर्नेमा यस्ता विषय गौण हुने गरेका छन् । 

मुलुकको राजनीतिक अवस्था निराशाजनक छ । झन्डै दुईतिहाइको नेकपाको सरकार जिम्मेवारी वहन गर्न पूर्ण असफल भइरहेको छ । राजनीतिक व्यवस्था परिवर्तन हुनुका साथै तीनवटै तहमा नेकपाको पूर्ण बहुमतको सरकार भए तापनि आमनागरिकको अवस्थामा कुनै सार्थक र सकारात्मक परिवर्तन देखिएन ।

फेरि सरकार सर्वसत्तावादी चरित्रको नांगो प्रदर्शन गर्न पनि पछि परेको छैन । राज्यका हरेक निकायमा सरकारको नांगो हस्तक्षेप छ । अदालतदेखि अख्तियारसम्म सरकारको नियन्त्रणमा देखिन्छ । संवैधानिक निकायदेखि विश्वविद्यालयसम्म नेकपाको कार्यकर्ता भर्तीकेन्द्रमा परिणत भएका छन् । कूटनीतिक सम्बन्ध धरमराएको छ । चिन्ताको विषय त आमनागरिकमा चरम निराशा छ ।

इतिहासकै कमजोर एवं प्रतिरक्षात्मक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा आगामी महाधिवेशनले कांग्रेसको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अभिभारा बोकेको छ । तसर्थ, महाधिवेशनको मुख्य एजेन्डा एवं कार्यभार नेतृत्व चयन मात्र होइन कि सिद्धान्तको समयसापेक्ष पुनव्र्याख्या गरी स्पष्ट नीतिगत मार्गचित्र पारित गर्ने हुनुपर्छ ।

दुर्भाग्यवश ! नेपाली कांग्रेस स्वयंको राजनीतिक हैसियत पनि इतिहासकै सर्वाधिक रूपमा तल झरेको छ । यस पार्टीको देशव्यापी संगठन छ, तर प्रदर्शन निकै कमजोर र निराशाजनक छ । यस्तो गम्भीर परिस्थितिमा पनि नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीले महाधिवेशनमा मात्रै केन्द्रित नभएर महाधिवेशन र प्रतिपक्षी दलको भूमिका सँगसँगै अगाडि बढाउनु पर्छ ।

वर्तमान परिप्रेक्ष्यमा निराशाको बीच आशाको किरण सञ्चार गर्नु र आमजनताको मन जित्नु नेपाली कांग्रेसको सबैभन्दा महत्वपूर्ण उत्तरदायित्व एवं अवसर हो । अबको कांग्रेस नेतृत्वले यी सबै पक्षलाई ध्यानमा राखेर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय दृष्टिकोण बनाउनु आवश्यक छ । सम्पूर्ण कांग्रेसजनले यतिवेला गुटगत लेनदेन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर विवेकपूर्ण र जिम्मेवारीसहित निर्णय गर्नुपर्छ ।

राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसका मार्गनिर्देशक सिद्धान्त हुन्  । नेपाली कांग्रेसकै नेतृत्वमा ०७२ सालमा जननिर्वाचित संविधानसभाबाट नया संविधान जारी गरेर सात दशक लामो जनचाहना पूरा भयो र ०७४ सालमा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराई संविधानको सफल कार्यान्वयनको सुरुवात भयो । राज्यको पुनर्संरचनासँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली सुरु भएको छ ।

गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता अहिलेका मूलभूत उपलब्धिहरू हुन् । कांग्रेसको मार्गनिर्देशक सिद्धान्त तथा महत्वपूर्ण राजनीतिक उपलब्धिहरूलाई समयसापेक्ष पुनव्र्याख्या, परिमार्जन र परिष्कृत गर्दै जानुपर्छ । युवाको पलायन रोक्न र उनीहरूको शक्ति, सीप, योग्यता, क्षमता आफ्नै देश विकासका निम्ति उपयोग गर्न नेपाली कांग्रेस रोजगारीप्रधान अर्थनीतिको स्पष्ट कार्ययोजना तथा युवालक्षित विशेष कार्यक्रमसहित अगाडि आउनुपर्छ । नेपाली कांग्रेस आफैँले अगाडि सारेको कदमको मर्मअनुरूप समावेशिताको सिद्धान्त उदारतापूर्वक व्यवहारमा लागू गर्नुपर्छ । यसले युवापुस्ता र आममतदातासँग कांग्रेसलाई जोड्न टेवा पुग्छ । 

बिपीले अंगीकार गरेको मौलिक सिद्धान्त त्यागेर गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता स्वीकार गरेका कारण नेपाली कांग्रेसको परम्परागत वर्ग आधार कमजोर हुन पुगेको भन्ने विरोधाभासपूर्ण अभिव्यक्ति कतिपय समय र सन्दर्भमा नेतृत्व पंक्तिबाटै पनि आउने गरेको पाइन्छ, जुन सत्य होइन । यथार्थ के हो भने जनभावनाअनुरूप भएको परिवर्तनलाई पूर्ण रूपमा आत्मसात् गर्न नसकेका कारण कांग्रेस कमजोर र अलोकप्रिय भएको हो ।

वर्तमान परिप्रेक्ष्यमा उम्मेदवारी घोषणा गर्ने र आफ्नो स्थिति बलियो भएको दाबी गर्ने प्रतिस्पर्धा र होडबाजी नै चलेको छ । एकातिर बहस नेतृत्व हस्तान्तरण, पुस्तान्तरण, रूपान्तरण आदि विषयमा केन्द्रित छन् भने अर्कोतिर सिट सुरक्षित गर्न आकांक्षीहरू छिटोभन्दा छिटो आ–आफ्नो पदको घोषणा गर्न तत्पर देखिन्छन् ।

लोकतन्त्र खतरामा छ र यसमाथि चौतर्फी आक्रमण भइरहेको छ । लोकतन्त्रको सबैभन्दा ठूलो हिमायती दल नेपाली कांग्रेसले आफ्नो सान्दर्भिकता, आवश्यकता र औचित्य पुष्टि गर्न लोकतन्त्रको रक्षाका निम्ति यसका मूलभूत सिद्धान्तहरू आत्मसात् गर्नुपर्छ । वर्तमान परिप्रेक्ष्यमा कांग्रेसभित्रै पनि आन्तरिक लोकतन्त्रको अभ्यासमा निकै ह्रास आएको अनुभूति हुन थालेको छ । सिद्धान्ततः कांग्रेस पार्टी आफूलाई मास–बेस्ड भन्छ, तर व्यवहार र अभ्यास क्याडर–बेस्ड पार्टीको जस्तो छ । क्याडर र लोकतन्त्र परस्पर विरोधी कुरा हुन् । लोकतान्त्रिक पार्टीमा क्याडर आवश्यक हुँदैन । लोकतान्त्रिक पार्टी भनेको सदस्य र समर्थक मतदाताहरूको खुकुलो स्वयंसेवी संरचना हो ।

नेपाली कांग्रेसले स्थापनाकालदेखि अहिलेसम्म राजनीतिक शक्तिको मुख्य केन्द्र तराई–मधेस रहेको दाबी गरिरहेको छ । यसको निरन्तरता तथा मधेस र मधेसीसँग भावनात्मक सम्बन्ध कायम राखिराख्नका निम्ति त्यहाँको मनोविज्ञान र जनभावनालाई सम्बोधन गर्ने किसिमको व्यवहार प्रदर्शन गर्नुका साथै तराई–मधेसकेन्द्रित विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।

बदलिँदो परिस्थितिमा तराई–मधेस मात्र होइन, हिमाल, पहाडलगायत ७७ वटै जिल्लाहरू भोट बैंकको रूपमा परिणत नहुन्जेलसम्म संगठनमा अपेक्षाकृत ऊर्जा आउँदैन । यसका साथै कतिपय महत्वपूर्ण एवं समयसान्दर्भिक मुद्दाहरूमा पार्टीभित्र मत विभाजित हुँदा र पार्टीले स्वामित्व लिनुपर्ने विषयहरूमा पनि स्वामित्व नलिँदा यसले जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्दछ । यस्ता विरोधाभासपूर्ण क्रियाकलापले आमजनतामा एक किसिमको संशय पैदा गर्छ । 

कोरोना भाइरस (कोभिड–१९) महामारीको अन्त्य कहिले हुन्छ भन्ने कुनै निश्चित छैन । इतिहासमा महामारीहरूले चुनौतीका साथसाथै अवसर प्रदान गरेका उदाहरणहरू पनि छन् । नेपालमै पनि संविधान जारी गर्ने वेलामा प्राकृतिक प्रकोपले गर्दा सबै दलहरूको बीच कार्यगत एकताको वातावरण निर्माण भएको स्मृति अझै पनि ताजै छ ।

ठीक त्यसै प्रकार वर्तमान प्रतिकूल परिस्थितिमा यस महामारीलाई अवसरको रूपमा सदुपयोग गर्दै सहमतिबाट नेतृत्व चयन गर्न सकिएमा गुट–उपगुटबीचको अस्वस्थ प्रतिस्पर्धा र गलत अभ्यासबाट आक्रान्त नेपाली कांग्रेसका लागि अत्यन्तै सुखद वातावरण निर्माण हुने थियो । साथै, आगामी निर्वाचन जित्नका लागि पनि यसले ठूलो मद्दत पुर्याउने थियो ।

पहिलेजस्तो देशभरका हजारौँ महाधिवेशन प्रतिनिधि एकै ठाउँमा भेला भएर महाधिवेशन गर्ने स्थिति कोरोना महामारीले गर्दा सम्भव नभएकाले अधिवेशन गर्ने तरिका हामीले बदल्नुपर्छ । महाधिवेशनको मोडालिटी परिवर्तन गर्नुपर्छ । यसर्थ, निर्वाचनको स्वरूप र प्रक्रिया परिवर्तन एवं परिमार्जनको विषयमा बहस छलफल प्रारम्भ गर्न आवश्यक छ । 
(लेखक महासमिति सदस्य एवं संविधानसभा सदस्य हुन्)
 

सुझावित समाचार