मेरा पुस्ताका पूर्वी युरोपेलीका लागि बेलारुसमा जारी प्रदर्शन हेर्दा पुरानो फोटो एल्बम हेरेजस्तो भइरहेको छ । मजदुर हडतालको दृश्यले सन् १९८० को दशकको पोल्यान्डको गडान्स्कको जहाज मजदुरको हडताल र सोलिडारिटी मुभमेन्टको स्मरण गराइदियो । लुकासेन्कोको शासनलाई ‘मैत्रीपूर्ण’ सहयोग गर्ने कि नगर्ने भन्ने मस्कोको अन्योलले मलाई सन् १९६८को चेकोस्लोभाकिया सम्झना गराइदियो । सो वर्ष सोभियत फौजले चेक राजधानी पसेर लोकप्रिय प्राग आन्दोलनलाई दबाएको थियो । पश्चिमले अहिले बेलारुसको नागरिक समाजलाई समर्थन गर्न नसकेको कुराले सन् १९८९ को चीनको स्मरण गराएको छ ।
अहिले मानिसको चिन्ता के छ भने कतै लुकासेन्कोले पनि सन् १९८९ को चीनकै कार्य त दोहोर्याउने छैनन् ? मार्चतिर जब सम्पूर्ण युरोप कोरोना भाइरस महामारीविरुद्ध लकडाउनको तयारी गरिरहेको थियो, तब लुकासेन्को बेलारुसका जनतालाई डराउनुपर्ने केही नरहेको बताइरहेका थिए । उनी जनतालाई अन्य देशमा देखिएको पागलपनलाई बेवास्ता गर्न र आफूलाई मनपर्ने फुटबल क्लबलाई समर्थन गर्न रंगशालामा जान आग्रह गरिरहेका थिए । राष्ट्रपतिले भनेजस्तै धेरै रंगशाला गए र पछि त्यहीँबाट कोरोना संक्रमण बढ्यो । कैयौँको यसैका कारण ज्यान गयो । महामारीविरुद्ध सरकारको गैरजिम्मेवार प्रतिक्रियाका कारण बेलारुसका जनता झनै चिढिए ।
बोल्सोनारोदेखि लुकासेन्कोसम्मका अधिनायकवादी नेतालाई कोरोना महामारीले अप्ठ्यारोमा पार्यो, अर्थात् यो महामारी अधिनायकवादीका लागि वरदानभन्दा श्राप बनेर आएको छ
बेलारुसको प्रदर्शनले हामीलाई महाव्याधि र अधिनायकवादबीचको सम्बन्धलाई पुनर्विचार गर्न बाध्य बनाएको छ । यो भाइरसले समाजमा अधिनायकवादी शासनलाई झन् बल पुर्याएको छ कि लोकतान्त्रिक शक्तिलाई ? केहीको मनमा अन्य संकटमा भन्दा अहिलेको जस्तो जनस्वास्थ्य संकटकालले जनतालाई आफ्ना स्वतन्त्रता त्याग्न तयार बनाउने हो कि भन्ने डर छ । महाव्याधिले आम निगरानीलाई थप स्वीकार्य बनाएको छ । मानिस भेला नहुने निर्देशन सहज रूपमा पालना गरिरहेका छन् ।
तर, महाव्याधिले धेरै ठाउँमा अधिनायकवादी नेता र अधिनायकतातर्फ ढल्किएका नेताको शक्ति क्षीण बनाएको छ । बेलारुसका नेता लुकासेन्को, रुसका पुटिन, ब्राजिलका बोल्सोनारो तथा अमेरिकाका ट्रम्पले महाव्याधिले निम्त्याएको संकटको फाइदा उठाउने प्रयास गरेनन् । बरु तिनले यो महाव्याधि विज्ञले भनेजस्तो खतरनाक नभएको बताइरहे । संकटमाझ शक्ति हासिल गर्ने अधिनायकवादी नेताहरूले अहिलेको संकटलाई किन स्विकार्न सकेनन् ? किन तिनले यो संकटलाई घृणा गरिरहेका छन् ? जवाफ सीधा छ– अधिनायकवादी नेता आफैँले निर्माण गरेको संकटमा मात्र रमाउँछन् ? तिनलाई हराउनुपर्ने शत्रु चाहिन्छ, समाधान गर्नुपर्ने समस्या होइन । अधिनायकवादीलाई मनपर्ने स्वतन्त्रता हो, आफूलाई सहज हुने संकट छनोट गर्ने स्वतन्त्रता, जसमाझ ती आफूलाई नायक देखाउन सक्छन्, तर कोभिड–१९ तिनले चुनेको संकट होइन ।
कोभिड–१९अघिको रुसमा पुटिनले एउटा संकटलाई अर्को संकट सिर्जना गरेर ‘समाधान’ गर्न सक्थे । उनले सन् २०११–१२ को प्रदर्शनपछि घट्दो लोकप्रियतालाई क्रिमिया नियन्त्रणमा लिएर उल्ट्याए । ट्रम्प कुनै समय मेक्सिकन आप्रवासीको लहरलाई अमेरिकाले सामना गरिरहेको सबैभन्दा ठूलो खतरा दाबी गर्थे । तर, उनी समग्र मानवजातिलाई आइपरेको जलवायु परिवर्तनलाई बेवास्ता गर्थे । तर, अहिले कोरोना भाइरसको माहामारीको समयमा अधिनायकवादीले सिर्जना गरेका सबै संकट छायामा परेर यो नै एक मात्र संकट बनेको छ । अधिनायकवादी नेताहरू आफूसँग ‘छनोट’को विकल्प नभएकाले मात्रै यो संकटलाई घृणा गरिरहेका छैनन्, बरु यस ‘असाधारण परिस्थितिले’ आफूलाई त्यसैअनुरूप अघि बढ्न बाध्य पारेकाले पनि खुसी छैनन् ।
कोभिड–१९ को समयमा मास्क लगाउने लोकतान्त्रिक नेतालाई जनताको नजरमा कमजोर देखिउँला भन्ने डर हुँदैन । तर, अधिनायकवादी नेतामा भने यस्तो कामले कमजोर देखिन्छु कि भन्ने डर हुन्छ । हरेक देशका नागरिकले अन्य देशका सरकारले महामारी नियन्त्रणमा हासिल गरेको सफलतालाई आफ्नो देशको सरकारको कार्यसम्पादनसँग तुलना गर्नेछन् । यसले विगतमा आलोचनाबाट उम्केका सरकार पनि आलोचनाको तारोमा पर्न थालेका छन् । यस सन्दर्भमा कोभिड–१९ बेलारुसका लुकासेन्का जस्ता नेताका लागि खतरा बनेर आएको छ । उनको शासन पुटिनको इमर्जेन्सी रुमको कृत्रिम कोमामा रहन पायो भने अझै पनि बच्न सम्भव छ । तर, एउटा कुरा स्पष्ट भएको छ, यो महामारी अधिनायकवादीका लागि वरदानभन्दा श्राप बनेर आएको छ ।
सन् १९८६ मा चेर्नोविल आणविक दुर्घटनापछि सोभियत संघका जनताले सरकारी प्रोपोगान्डाभित्र लुकेको कम्युनिस्ट प्रणालीको वास्तविकता देख्न पाए । यथार्थमा राज्य जनतालाई भनिएजस्तो न त शक्तिशाली, न त सक्षम रहेको देखियो । त्यसको केही वर्षमा सम्पूर्ण शासन नै अपदस्थ भयो ।
(इभान क्रास्तेभ सेन्टर फर लिबरल स्ट्राटेजीका अध्यक्ष हुन्)
न्युयोर्क टाइम्सबाट