बोक्सीको आरोप लगाउनेविरुद्ध प्रहरीमा किटानी जाहेरी

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण

बोक्सी भन्दै आफूमाथि कुटपिट गरेको भन्दै नेपालगन्ज उपमहानगरपालिका– २, घरबारी टोलकी ५७ वर्षीया आमना खातुनले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जोहरी दिएकी छिन् । उनले १६ भदाैमा किटानी जाहेरी दिएकी हुन् । 

बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने र गालीगलौज गर्नेलाई कारबाहीको माग गरी प्रहरीमा उजुरी दिएको उनले बताइन् । उनले आफूलाई देख्नासाथ बोक्सी भन्दै गालीगलौज गर्ने र कुटपिट गर्ने घरबारी टोलकै जमुना खातुन र मजुना खातुनविरुद्ध प्रहरीमा जाहेरी दिएको बताइन् । जमुना र मजुना दुवै आमनाका सहोदर भतिजी हुन् । 

उनले बोक्सीको आरोप लगाउँदै कुटपिट र गालीगलौज गर्ने दुवैजनालाई मुलुकी अपराध संहिताबमोजिम कारबाहीको माग गरी प्रहरीमा जाहेरी दिएको बताइन् । उनले कुटपिट र गालीगलौज गर्नेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ को २ बमोजिम पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरेकी छिन् । आमना जमुना र मजुनाको माइतीको घरमा बस्दै आएकी छिन् ।  

लकडाउन सुरु भएपछि आमनाको परिवार नेपालगन्ज उपमहानगरपालिका– २, घरबारीटोलमा डेरा गरेर बस्दै आएकी छिन् । ‘मलाई देख्नेबित्तिकै बोक्सी आएको भन्दै आफ्ना छोरीलाई कोठाभित्र पस्न लगाउँछन् । मेरो एउटा आँखा छैन । उनीहरूले मलाई कानी भनेर मेरो अपमान गरे । बोक्सी भनेर घाँटीसमेत थिचे,’ उनले भनिन् । 

उनले सहोदर भतिजीहरूले गरेको व्यवहारबारे दाजुलाई जानकारी गराउँदासमेत उनीहरूले नमानेको बताइन् । जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि फिर्ता लिन दबाब दिएको बताउँदै उनले आफ्नै दाजुका छोरीले दिएको पीडाले रातमा निद्रा र दिनमा भोक नलागेको बताइन् ।

पीडक पक्षले दिएको दबाब सहन नसकेर २३ भदौ बेलुकी बेहोस भएको उनले बताइन् । ‘उजुरी फिर्ता लग्नु पऱ्याे भन्दै पटक–पटक आउन थालेपछि रिँगटा लाग्यो । कतिखेर म बेहोस भएँ पत्तै पाएन । अस्पतालको बेडमा होस खुलेपछि मात्र थाहा पाएँ,’ उनले भनिन् । 

उनले बोक्सीको आरोप लगाउने भतिजी र दाजुसँग सधैँका लागि सम्बन्ध ताेडेको बताइन् । अनाहकमा आरोप लगाउनेलाई कानुनबमोजिम कडा कारबाही गर्न उनले प्रहरी, प्रशासनसँग माग गरेकी छिन् । उनले कुनै हालतमा पनि माफी दिन नसकिने स्पष्ट पारिन् । ‘उनीहरूले मलाई फुपू र बहिनी मान्दैनन् भने मैले पनि सम्बन्ध तोडिसकेँ,’ आमनाले भनिन् । 

आमनाले जाहेरी दिएपछि बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना उनको कोठामा आफैँ पुगेर वास्तविकता बुझेका छन् । उनले सहोदर भतिजीले लगाएको आरोप र जाहेरीबारे आमनासँग सोधपुछ गरेको बताए । बोक्सीको आरोप लगाउनेलाई हदैसम्मको कारबाही गर्न आमनाले माग गरेको रानाले बताए । ‘बोक्सीको आरोप लगाउनेलाई माफी दिने पक्षमा आमना देखिनुभएन,’ आमनाको कोठाबाट फर्किँदै गरेका प्रहरी प्रमुख रानाले भने । 

उनले बोक्सीको आरोप लगाउनेविरुद्ध प्रहरीमा उजुरी दर्ता भइसकेको बताउँदै पक्राउ पुर्जीसमेत आइसकेको बताए । ‘जाहेरीको आधारमा कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढिसकेको छ,’ उनले भने । 

आरोपमा कुनै सत्यता नभएको मजुनाको दाबी
आमनाले लगाएको आरोपमा कुनै सत्यता नभएको पीडक भनिएकी मजुना खातुनले बताइन् । उनले सामान्य विवादलाई फुपूले ठूलो बनाएर प्रहरीमा उजुरी दिएको बताइन् । विनाप्रमाण उजुरी दिएको बताउँदै उनले घरमा मिल्ने विवादलाई अर्कैको बहकाउमा लागेर फुपूले उजुरी दिएको जिकिर गरिन् । सामान्य विवादलाई बोक्सीतिर मोडियो । आफ्नै फुपूले यति ठूलो केस गर्नुहोला भन्ने सोचेकासमेत थिएनौँ,’ उनले भनिन् ।
 

सुझावित समाचार