तरकारी बेच्ने क्रममा प्रहरीको दुर्व्यवहार भोगेकी सरस्वती मैनालीलाई मैनाली समाजले आर्थिक सहयोग गरेको छ । समाजले उनलाई बुधबार २० हजार रुपैयाँ सहयोग गरेको हो ।
समाजका पदाधिकारीहरूले उनलाई सहयोग हस्तान्तरण गरेका हुन् । अध्यक्ष शम्भु मैनाली, उपाध्यक्ष हरिप्रिया मैनाली, सुमा मैनाली रेग्मी, कोषाध्यक्ष केशव मैनाली, उपत्यका कमिटीका सचिव राजन मैनालीले उनलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
काभ्रे नमोबुद्ध– ५ स्थायी घर भई सरस्वतीनगरमा बस्ने उनलाई गाडामा तरकारी बेच्ने क्रममा दुर्व्यवहार भएको थियो । उनको संघर्षको समाचार नयाँ पत्रिकामा पढेपछि समाजले सहयोग गरेको अध्यक्ष शम्भु मैनालीले बताए । आफूलाई यसरी खोज्दै आएर सहयोग गरेकोमा सरस्वतीले धन्यवाद दिएकी छिन् ।
सरस्वतीका परिवारमा चारैजना रोगी छन् । मैनालीकी एक छोरा सञ्जीव र एक छोरी सुस्मिता छिन् । सुस्मिता स्नायु प्रणालीको समस्याबाट पीडित छिन् । उनी कक्षा १० मा अध्ययनरत छिन् । सञ्जीव कक्षा ६ मा पढ्छन् । सवारी दुर्घटनामा परेका उनका श्रीमान ४१ वर्षीय शम्भु मैनाली पनि नसारोगका बिरामी हुन् ।
सरस्वती आफैँ पनि मिर्गाैला र पाठेघरको समस्याबाट पीडित छिन् । औषधि उपचारमा मात्रै उनीहरूको मासिक पाँच हजार रुपैयाँ सकिने गरेको छ । अहिलेको निषेधाज्ञाको समयमा परिवार पाल्नै समस्या भएपछि सरस्वतीले गाडामा तरकारी बेच्दै आएकी छिन् । समाचार आएपछि नमोबुद्ध नगरपालिकाले समेत उनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।